सानैमा सुनेको थिएँ, 'जहाँ हिमाल त्यहाँ शेर्पा, जहाँ शेर्पा त्यहाँ हिमाल ।' साथीभाइबीच्ा गफ हुन्थ्यो, 'सर एडमण्ड हिलारीलाई त तेन्जिङ नोर्गेले बोकेर सगरमाथा चढाएका रे !' यस्तै शेर्पा-गाथा सुनेर हुर्किएको मैले यस वर्षको सुरुमै उनीहरूसम्बन्धी दुःखद खबर लेख्नुपर्यो । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी १६ जना शेर्पाले ज्यान गुमाएको घटना आरोहण इतिहासकै एउटा त्रासदी थियो । दुई वर्षदेखि सगरमाथा आधारशिविर पुग्ने तीव्र इच्छा थियो । तर खुम्बुक्षेत्र एक्लो यात्रीका लागि जोखिमपूर्ण हुने भएकोले जान सकिरहेको थिइनँ । तर यसपालिको घटनाले यस पत्रकारलाई त्यसतर्फ डोर्यायो । हिमपहिरोले शेर्पाहरूको मृत्यु भएपछि आरोहण स्थगित भएको थियो । त्यही भएर, व्यक्तिगत कामलाई थाती राख्दै वैशाख अन्तिम साता ओखलढुंगादेखि आधारशिविरसम्मको यात्रा तय गरियो । साथमा थिए पत्रकार मित्रहरू दीपेन्द्र रुम्दाली र बुद्धवीर बाहिङ । 'नरमाइलो खबर' संकलन गर्न हिँडेका हामीलाई खुम्बु यात्राको रोमाञ्चकताले राहत दिन्थ्यो । यात्रा साहसिक र खर्चिलो दुवै थियो । ओखलढुंगादेखि सोलु सदरमुकाम सल्लेरीबाट, फाप्लु...