सानैमा सुनेको थिएँ, 'जहाँ हिमाल त्यहाँ शेर्पा, जहाँ शेर्पा त्यहाँ हिमाल ।' साथीभाइबीच्ा गफ हुन्थ्यो, 'सर एडमण्ड हिलारीलाई त तेन्जिङ नोर्गेले बोकेर सगरमाथा चढाएका रे !' यस्तै शेर्पा-गाथा सुनेर हुर्किएको मैले यस वर्षको सुरुमै उनीहरूसम्बन्धी दुःखद खबर लेख्नुपर्यो । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी १६ जना शेर्पाले ज्यान गुमाएको घटना आरोहण इतिहासकै एउटा त्रासदी थियो ।
दुई वर्षदेखि सगरमाथा आधारशिविर पुग्ने तीव्र इच्छा थियो । तर खुम्बुक्षेत्र एक्लो यात्रीका लागि जोखिमपूर्ण हुने भएकोले जान सकिरहेको थिइनँ । तर यसपालिको घटनाले यस पत्रकारलाई त्यसतर्फ डोर्यायो । हिमपहिरोले शेर्पाहरूको मृत्यु भएपछि आरोहण स्थगित भएको थियो । त्यही भएर, व्यक्तिगत कामलाई थाती राख्दै वैशाख अन्तिम साता ओखलढुंगादेखि आधारशिविरसम्मको यात्रा तय गरियो । साथमा थिए पत्रकार मित्रहरू दीपेन्द्र रुम्दाली र बुद्धवीर बाहिङ ।
'नरमाइलो खबर' संकलन गर्न हिँडेका हामीलाई खुम्बु यात्राको रोमाञ्चकताले राहत दिन्थ्यो । यात्रा साहसिक र खर्चिलो दुवै थियो । ओखलढुंगादेखि सोलु सदरमुकाम सल्लेरीबाट, फाप्लु, बेनी, टाक्सिन्दु, जुभिङ हुँदै तेस्रो दिन लुक्ला पुगियो । त्यसपछि लुक्लाबाट फाक्दिङ, राङदिङ, टोकटोक
, बेंकर, मोन्जो, जोरसल्ले हुँदै नाम्चे टेकियो । त्यहाँबाट क्याङजुमा, फुंगीथांका, त्याङबोचे, दिबुचे, पाङबोचे, सोमारे, फेरिचे, थुक्ला, लबुचे, गोरक्सेप भएर पाँचौं दिनमा सगरमाथा आधारशिविर पुगियो ।
नाम्चेबाटै चारैतिर देखिने हिमालहरू खुुबै मनमोहक थिए । कुसुम खाङग्रु, कोङदे, थामसेर्कु, खाङतेका, खुम्बिह्युला, आमादब्लम, तबुचे, लबुेचलगायतका हिमशृंखलालाई पछाडि पार्दै अगाडि बढ्नु कम्ती रोमाञ्चक थिएन ।
बाटोभरि खच्चड र जोक्पे -याक, चौंरी) का बथान । बुद्ध धर्मावलम्बीका मानेहरू । रातो, गुलाबी र सेतो गुराँसका झ्याङहरू । विदेशी पदयात्रीहरू पातलिँदै थिए । रित्तो हिँड्न नसकिने ठाउँमा ८० किलोभन्दा बढीको भारी बोक्नेहरूको साहस पनि अचम्मकै दे खिन्थ्यो । बादलले लुकामारी गरिरहने हिमालका चुचुराहरू जति आकर्षक लाग्थे त्यति नै मनमोहक थिए, घरीघरी नाचिरहने हिउँका फूलहरू ।
विभिन्न मुलुकका पर्यटक लाखौं खर्चेर आधारशिविरको पदयात्रामा आउनेको संख्या वाषिर्क हजारभन्दा बढी छ । तर यस वर्ष 'स्पि्रङ सिजन' सकिनुअघि नै अधिकांश पर्यटकहरू फर्किए । कारण उही थियो- हिम पहिरोपछिको आरोहण रद्द । 'कति त घरबार बेचेर आरोहणका लागि आएका भन्थे,' सगरमाथा प्रदूषण नियन्त्रण समितिका महासचिव लामाकाजी शेर्पा भन्दै थिए, 'आँखाभरि आँसु बनाएर फर्किने धेरै थिए ।'
यस वर्ष सगरमाथा, लोहत्से र नुप्त्से गरी तीन समूह हिमाल आरोहण गर्न ४ सय ५३ जनाले अनुमति लिएका थिए । सगरमाथाका लागि ३१ समूह थिए । तिनमा एक समूह नेपालीको थियो । लोह्त्सेका लागि नौ समूहका ८८ जना र नुप्त्सेका लागि पाँच समूहका ३६ जना थिए ।
आरोहण रद्द भएकाले बाटोमा शेर्पाहरू भेटिएनन् । उनीहरूले आरोहण रद्द गरेपछि सधैं भीडभाड हुने मौसममा पनि आधारशिविर वरपर कागको बथान मात्रै देखिन्थ्यो ।
Comments
Post a Comment