पाङ्गबुचे गुम्वा
लामा साङ्वा दोर्जीले १६ औं शताव्दीमा निर्माण गरेको यो गुम्वा ३८९८ मि. उचाइमा रहेको खुम्जुङ्ग गाविसमा अवस्थित छ । यो शेर्पा समुदायहरूको अत्यन्तै ऐतिहासिक महत्वको गुम्वा हो । तान्त्रिक विद्यामा पारङ्गत लामा साङवा दोर्जीले आपूले सूर्यको किरणमा चढ्दा प्रयोग गरेको डोरी वौद्ध स्तुप आफ्नो प्रतिमा मूर्ति स्थापना गरेर राखेका थिए । यो हिमाली काखमा अवस्थित गुम्वामा प्रत्येक कात्तिक मंसीर महिनामा डुम्जी उत्सव मनाइन्छ । यो डुम्जी हेर्न पश्चिमा मुलुकका पर्यटकहरूका साथै आसपासका भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । यो चाड पर्व स्थानीय बासिन्दाहरूले पालोपालो (लावा) बाट सम्पन्न गरिन्छ ।
यस गुम्वाको अर्को महत्वपूर्ण र सनसनाहट, रोमाञ्चकारी यतिको टाउको हो । यो उच्च हिमाली क्षेत्रमा पाइन्छ भन्ने किम्वदन्ती छ । यति संसारबाट लोप भइसक्यो भनेर भन्ने गरेको पनि सुनिन्छ । जेहोस् यति त्यस्तो चीज हो जसले नक्कल धेरै गर्दछ । मानिसले दिउँसो जे गर्दछ, उसले कतैबाट हेरेको हुन्छ अनि यतिले उसको अनुपस्थितिमा त्यो सबै गर्दछ भन्ने किम्वदन्ती छ । आजसम्म कसैले पनि यतिको फोटो लिन सकेको छैन । यो शेर्पा जातिको कथामा सीमित छ र मानवशास्त्रका विद्यार्थीहरूका लागि यो सोधको विषय बनेको छ । उच्च पहाडी चौंरी र याक गोठालाका अनुसार आजभन्दा १०–१५ वर्ष पूर्व हिउँमा तथा बालुवामा यतिको पदचिन्ह देखिएको थियो भनिन्छ । हिमालको काखमा कराएको (गर्जेको) टाढाबाट सुनेको भन्ने पनि भनाइ सुनिन्छ । जे होस् यति दुर्लभ छ, प्रमाण दिन गाह्रो मात्र होइन असंभव पनि छ ।
सन् १९५७ देखि १९५९ सम्म अमेरिकी एक सोधकर्ताहरूको समूह फोटो क्यामेरा, टेलिस्कोप र समात्ने जाल लिएर अनुसन्धानको क्रममा त्यस भेगमा रह्यो तैपनि कुनै यति देखेन, भेटेन । तर विगतमा देख्नेहरूले सुनाएकोलाई आधार मान्दा (जसले आफ्नै आँखाले देखेको दावी गर्छ) झाँर छान्ने छपनी आकारको टाउकोमा कालो र खैरो केश भएको, अंगभरि त्यस्तै रौंले ढाकिएको तथा करीव ३ मिटर उचाइ भएको, शरीर भद्दा देखिने, चेहेरा कालो अनि हिपको रौं उँभो फर्केको हुन्छ । हातको पञ्जाहरू चिम्पाञ्जीको जस्तो र पैताला लचकदार हुन्छ । पुरुष यतिको रौं लामो हुन्छ भने स्त्री जातिको दूध तलतिर झरेको विश्वास गरिन्छ । यति चनाखो र तीक्ष्ण बुद्धिको हुन्छ । नाकको सँुघ्ने शक्ति भएको हुन्छ । आगो देखि डराउने र कामुक स्वभावको हुन्छ ।
विदेशी पर्यटकहरूले १९२१ मा सोलुखुम्बु जिल्लामा प्रथम पटक यतिको पदचिन्ह देखेको दावी छ । शेर्पा संस्कृतिको भनाइ अनुसार यति देखिनु अशुभ लक्षण हो । यति देख्नेको जीवन छोटो हुन्छ । यो विश्वास गरिन्छ कि यतिलाई देख्ने मानिसको तत्काल मृत्यु हुन्छ । यतिले भेडा, वाख्रा, याक, नाक, र जोम मारेर पोथी जातिको थुन, मुटु, कलेजो गिदी खाई अरु भाग छाड्ने कुरा बताइन्छ ।
थामे गुम्वा
यो गुम्वा नाम्चे गाविसको ३८०० मि. उचाइको थामे गाउँमा अवस्थित छ । पाङ्बुचे गुम्वाको लामा साङवा दोर्जीको भाइ, लामा रल्वा दोर्जीले १६ औं शताव्दीमा गृहस्थी लामाहरूको निमित्त निर्माण गरेका थिए । अन्य गुम्वाहरूमा मानिरिम्डु वा डुम्जी एउटै पर्व मात्र मनाइन्छ तर यहाँ भने दुवै चाडपर्व मनाइन्छ । यी पर्वहरू पनि स्थानीय जनताको सक्रियतामा पालोपालो (लावा) बाट सम्पन्न गरिन्छ । यहाँ पनि कात्तिक मंसीर महिनामा पर्यटकहरूको भीड लाग्ने समय पर्ने भएकाले पश्चिमा र स्थानीय दर्शकहरूको खचाखच भीड लागेको हुन्छ ।
जुनवेंसी गुम्वा
यस जिल्लाको पर्यटकहरूको आकर्षणको केन्द्रको रुपमा रहेका विभिन्न गुम्बाहरू मध्ये जुनबेंसी गुम्बा पनि एक हो । यो गुम्वा २५७५ मि. उचाइमा अवस्थित छ । यस गुम्वाको स्थापना विक्रम सम्वत् १६३६ मा लामा दोर्जी जाङ्बुले निर्माण गर्नुभएको थियो । १८ औं शताव्दीमा गुम्वामा आगलागी हुँदा यस गुम्वाको शिवाजीको धातुको मूर्ति उडेर पारिपट्टि तुम्बुकको ल्हाफुक्पा भन्ने ठाउँमा बस्न पुगेको हो भन्ने किम्वदन्ती छ । गुम्वामा आगलागी भई क्षति भएपछि लामा पेमा थुतोप र निजको छोरा दोर्जी जिकटलले पुनः निर्माण गर्नुभएको थियो । त्यसपछि सन् १९१४ मा साङ्गे तेम्वा लामाले यो जुनवेंशी गुम्वाको जीर्णोद्वार र्गाुभएको हो । यस गुम्वा भित्र ५.७५ मिटर अग्लो अमितवा बुद्धको विराट मूर्ति निर्माण गरिएको छ । यस गुम्वाको सबभन्दा महत्वपूर्ण कुरा भनेको कुछप–तेरङ्गा हो । यो तेरतेन रत्नालिङ्गवाको खोज ९च्भष्भिक० हो । यस गुम्वामा कंङ्ग्युर दुई सेट (२०८ ठेली) र तेङ्ग्युर एक सेट (२२५ ठेली) तथा तेरजे एक सेट रहेका छन् । कुछपतेरङा र उडेको शिवजीको मूर्ति र फुर्वा डुम्जीको समयमा पूर्णिमाको दिनमा मात्र भक्तजन एवं दर्शकवृन्दहरूलाई देखाइने प्रचलन रहेको छ । यस गुम्बामा निम्नअनुसार चाडपर्व मनाउने तथा पूजा पाठ गरिने गरिएको पाइन्छ ।
यस गुम्बामा मूलतः वर्षको एकपटक चैत्र औंंसीको दिन डुम्जी चाड मनाइन्छ । खासगरी शेर्पा जातिको कूल देवता, जल देवता आदिको पूजा गरिनुको साथै गाउँ घरको अन्नबाली राम्रो होस्, पृथ्वीमा रहेका सम्पूर्ण जीव जन्तुहरूमा सुख शान्ति छाओस् भन्नाको खातिर यो पूजा गरिन्छ । डुम्जीमा४÷४ जनाको पालो गरेर व्यक्तिगत खर्चमा गरिन्छ । यसमा फाप्लु, सुर्के, तुम्वुक, खाम्जे, वेनी, टाक्टोर र मोपुङका गाउँका लामा थरका शेर्पा जातिहरूको सहभागिता हुन्छ । कुनै अनिष्ट घटना गाँउ घरमा नघटोस् भनी डुम्जी गरेर कुल देवतालाई मनाइन्छ । डुम्जी गर्दा २५ जना लामाहरूले आराधना एवं पाठपूजा गर्दछन् ।
यस गुम्बामा वैशाख पूर्णिमाको दिन वुद्धको फोटो पालकीमा राखी विभिन्न बाजागाजा ध्वजा पताकासाथ नगर परिक्रमा गरी गुम्वामा पूजाआजा विभिन्न साँस्कृतिक झाँकी प्रदर्शन गर्दै वुद्ध जयन्ति मनाइन्छ । यहाँ गाउँ घरमा मरेका मानिस लगायत जीवजन्तुको आत्माको चीर शान्तिको कामना गर्नको साथै जीवित सवै प्राणीहरूको भलाइको लागि लप्सोपूजा पनि गरिन्छ । यस गुम्बामा मनाइने अर्को चाड मध्ये डुक्पाछेजी पनि एक हो । यस्तै गरी फागुन महिनामा यहाँ ल्होसार पर्व मनाइन्छ । एवं प्रकारले दशैंको अष्टमीको दिन वली चढाइएको पशुहरूको मुक्ति र उनीहरूको मृत आत्माको चिर शान्तिको लागि गुम्वामा बत्ती बाली लामा पाठपूजा गरिन्छ । त्यसै गरी प्रत्येक औसी पूर्णिमाको दिन गुम्वामा बत्ती बाल्ने चलन छ । लुमुकर्मो भन्ने सेतो नाग देवतालाई वरिपरि फोहर पारी रिस उठाएमा पानी पर्छ भन्ने जनविश्वास रहेको पाइन्छ । जुनवेंसी क्षेत्रभित्र कुनै प्रकारको काटमार गर्नु हुँदैन यदि कसैले झुक्किएर काटमार गरेमा कुनै न कुनै अनिष्ट घटना घट्दछ भन्ने जन विश्वास समेत रहेको देखिन्छ ।
यस वर्ष यहाँ फ्रेन्च, जर्मन र अमेरिकन आदि ३०० जति पर्यटकहरू आएका थिए । वास्तवमा जुनबेसी अत्यन्त मनमोहक एवं आकर्षक ठाउँ हो । उत्तरतिर नुम्वुर हिमालले पर्यटकहरूलाई हार्दिक स्वागत गरिरहेको दृष्य हेर्न लायक रहेको छ ।
तेङबोचे गुम्वा
यो गुम्वा जटङ्ग क्षोतर (लामा गुलु) ले १९१६ मा शुरु गरेर १९१९ मा स्थानीय भक्तजनहरूको सहयोगमा निर्माण कार्य सम्पन्न गरेका थिए । सगरमाथा जाने मूलद्वारमा पर्ने भएकाले यो गुम्वा संसारमै प्रसिद्ध छ । यो गुम्वा निर्माण लामा गुलुलाई मुख्य रुपमा नाम्चे निवासी गेन्पो शेरप छेपल, गार्मा गाविसको मेन्दूपाकेको प्रमुख लामा कर्मा र खुम्जुङ्गको टक्तोक्पा कुनजङ्गले आर्थिक सहयोग उपलव्ध गराएका थिए । सन् १९३३ को शक्तिशाली भुकम्पले यो गुम्वालाई क्षति पु¥याएको केही समय पछि ८५ वर्षीय गुलु लामाको निधन भयो ।
तीन वर्ष पछि (सन् १९३६) मा गुलु लामाको अवतारको रुपमा तिव्वतबाट बसाइँ आई नाम्चेमा बस्ने एक परिवारमा जन्म भएको थियो । तेङबोचे गुम्वाका टावाहरूले अध्ययन गरी लामा गुलुको अवतार हो भन्ने एकिन भएपछि तिव्वतको रुम्वुमा अध्ययन अध्यापन गरी फर्केपछि १९५६ मा तेङ्बोचे रिन्पोरक्षेको रुपमा आसन ग्रहण भएको हो ।
सन् १९८६ मा अमेरिकन हिमालयन हेरिटेज संस्थाको सहयोगबाट तेङ्बोचे गुम्वा टावाहरूको निवास तथा त्यहाँको लजहरूलाई ९क्mबिि ज्थमचय(उयधभच एबिलत० निर्माण गरी विद्युत उपलव्ध गराइएको छ ।
दुर्भाग्यवश १९ जनवरी १९८९ मा विजुली सट भई आगलागी हुँदा नेपालकै अपार धार्मिक तथा सांस्कृतिक सम्पदा तेङ्बोचे गुम्वा ध्वस्त भयो । सम्पूर्ण शेर्पा समुदायलाई यस सांस्कृतिक एवं धार्मिक सम्पदाको क्षतिबाट दुःखित तुल्याएको छ । यो अपूरणीय क्षतिले पर्यटकहरूलाई पनि दुःखित तुल्याएको छ ।
एडमण्ड हिलारी–हिमालयन ट्रष्ट, अमेरिकन हिमालयन फाउण्डेशन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताहरूको सहयोगमा गुम्वाको पुनः निर्माण गरी सेप्टेम्बर १९९३ मा महागुरु ठुल्सिक रिन्पोरक्षेले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सर एडमण्ड हिलारी, मन्त्रीहरू, महामहिम राजदूत तथा स्थानीय नेता एवं जनसमुदायको उपस्थिति थियो ।
सगरमाथाको मूलद्वारमा अवस्थित यो गुम्वा ३८७५ मिटरको उचाइमा अवस्थित छ । ४० जना टावा र ३० जना विद्यार्थी रहेको यो गुम्वाबाट सगरमाथा, ल्होत्से, नुप्से, थामसेर्कु, खाङतेगा, खुम्वियुला, आमादव्लम देख्न सकिन्छ । प्रत्येक कात्तिक मंसीर महिनामा हुने मानिरिम्डुमा विश्वका हजारौं दर्शकहरूको भेला हुन्छ ।
थुप्तेन क्षोलिङ्ग गुम्वा
थुप्तेन क्षोलिङ्ग गुम्वा आजभन्दा ३५ वर्ष अगाडि निर्माण भएको हो । यो वेनी गाविसको वडा नं. ५ मा पर्दछ । यो ठाउँमा पुग्न फाप्लु विमानस्थलबाट करीव ५ घण्टा लाग्दछ भने यस ठाउँको दृश्य अत्यन्त मनमोहक छ । यहाँ धुपको सुगन्धले हाम्रो मन मस्तिस्कलाई नै एक प्रकारको आनन्द दिलाउँदछ । यहाँ एक हजार भन्दा बढी लामाका चेला र भक्तजनहरू बसोबास गर्ने भएकोले जङ्गल मास्ने क्रमले यस स्थानको आसपासमा वातावरणलाई असर पार्न थालेको देखिन्छ । यसको आसपासमा बुकी फुल, लाली गुराँस, धुपी सल्ला, गोव्रे सल्ला, ठिङ्ग्रे सल्ला र डाले घाँसका रुखहरूले यस ठाउँको थप शोभा बढाएका छन् ।
आजभन्दा ३५ वर्ष अगाडि निर्माण भएको थुप्तेन क्षोलिङ्ग गुम्वाका प्रमुख लामा ङिङमापा सम्प्रदायका १४ औं अवतार लामा ठुल्सिक रिम्पोरक्षे हुनुहुन्छ । उहाँ दलाई लामाका पनि गुरु हुनुहुन्छ । १९४९ पछि माओको तिव्वतमा सांस्कृतिक क्रान्तिताका लामा, गुम्वा, मठ मन्दिरहरूलाई क्षति तुल्याइरहेको समयमा, चीनको स्वशासित क्षेत्र तिव्वतको रुम्वु भन्ने अत्यन्त प्रसिद्ध गुम्वाको लामा आफू र आफ्ना चेलाहरू सहित नाम्चेको नाङवा घाँटी पार गरी चिवाङ्ग गुम्वामा बस्नुभयो । पछि थुप्तेन क्षोलिङ्गमा आफ्नो निजी गुम्वा निर्माण गरेपछि यस गुम्वामै बस्नुभएको हो । यो गुम्वा विश्वभरकै धार्मिक पर्यटकहरूको एक प्रमुख आकर्षणको केन्द्र रहेको छ । ङिङमापा सम्प्रदायका धार्मिक ज्ञाता र तान्त्रिक शक्तिमा आधारित व्यक्तित्वको धनी धार्मिक गुरु ठुल्सिक रिन्पोरक्षे आस्थाको धरोहर बनेको छ । गुम्वाको धार्मिक विशेषता र गुम्वाको प्रमुख अवतारी लामाकै कारण सोलुको प्रतिष्ठा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनिएको छ ।
चिवाङ गुम्वा
चिवाङ गुम्वा सदरमुकाम सल्लेरीदेखि करिव ६ किलोमिटर उत्तरमा लगभग २६०० मिटरको उचाइमा अवस्थित सोलुखुम्वुका प्रसिद्ध गुम्वा मध्ये एक हो । यो गुम्वामा सल्लेरीबाट ३ घण्टा ३० मिनेट र फाप्लुबाट ३ घण्टाको पैदल यात्राबाट सजिलै पुग्न सकिन्छ । पहुँचको हिसाबले सजिलो गुम्वामध्ये यो गुम्वा एक भएकोले यहाँ वर्षेनी धेरै संख्यामा पर्यटक एवं भक्तजनद्वारा दर्शन गरिन्छ । यो गुम्वालाई सोलुखुम्वुको ठूलो गुम्वा मध्ये एक मानिन्छ, जसलाई सन् १९२५ मा लामा साङ्गे तेम्वाको सक्रियतामा स्थानीय जनता र भक्तजनहरूको सक्रिय सहयोगमा निर्माण गरिएको हो । सुरुवातमा साङ्गे तेम्वाले पचास जना टावाहरूलाई बास र गाँसको लगायत अन्य आवश्यक व्यवस्था मिलाएका थिए । यस गुम्वामा मनाइने प्रमुख चाडमध्ये मनिरिम्डु प्रमुख मानिन्छ । प्रत्येक वर्षको हेमन्त ऋतुमा मानिरिम्डू पर्व मनाइन्छ । यस पर्वमा स्वदेशी तथा विदेशी हजारौं दर्शकहरूको भेला हुन्छ ।
ज्याल्सा गुम्वा
सोलुखुम्वु जिल्लाको सदरमुकाम सल्लेरीबाट करीव १ः३० घण्टाको पैदल यात्राबाट सजिलैे पुग्न सकिने यो गुम्वा पहुँचको हिसाबले अन्य गुम्वाको तुलनामा सहज तथा धार्मिक एवं पर्यटकीय दृष्टिकोणले एक महत्वपूर्ण गुम्वा मानिन्छ । यो गुम्वा सल्लेरीदेखि दक्षिणपूर्वी भागमा करिव २६०० सय मिटरको उचाइमा अवस्थित छ ।
यस गुम्वाको निर्माण कार्य १९ औं शताव्दीको सुरुवातमा भएको पाइन्छ । लामा पेमा साङक् तेन्जिङले सोलुको केन्द्रको रुपमा रहेको यस स्थानमा १९ औं शताव्दीको प्रारम्भमा यस गुम्वाको स्थापना गरेका थिए । २० औं शताव्दीको प्रारम्भमा आगलागी भएकाले पछि आएर लामा पेमाका छोरा रत्न छेवाङले यस गुम्वालाई पुनः निर्माण गरी पहिलेको भन्दा ठूलो आकार दिए । सन् १९३४ को भुकम्पले गुम्वालाई अर्को धक्का दियो । रत्न छेवाङका पनाति लामा कर्मा डोन्तेनले यस गुम्वालाई मर्मत एवं पुनः निर्माण गरे । यसैगरी लामा कर्माका छोरा लामा ङवाङ शेरपले गुम्वालाई साधन सम्पन्न गर्ने कार्य गरे । पछि आएर लामा ङवाङ शेरपका छोरा आङ्ग बाबु लामाले यस गुम्वामा वुद्धिष्ट स्कूलको स्थापना गरे । आङ्ग बाबु लामाले १९९२ देखि गुरु छेनग्या नाच शुरु गरेका हुन् । यो ङिङमावा सम्प्रदायका पद्मसंभव बुद्धमा आधारित छ ।
टाक्सिन्दु गुम्वा
जिल्ला सदरमुकामदेखि उत्तर करिव ७ घण्टामा पुग्न सकिने टाक्सिन्दु गाविसको वडा नं. ७ मा अवस्थित सेडुप क्षोलिङ्ग टाक्सिन्दु गुम्वा अत्यन्त रमणीय ठाउँमा रहेको छ । यहाँ भिरपाखा पखेरुहरू भएकोले यसको नाम पनि भिरको नामबाट टाक्सिन्दु रहेको मानिन्छ । टाक भनेको भीर र सिन्दु भनेको जग्गा हो । ठूल्ठूला पहाड भएको हुनाले यसको नाम टाक्सिन्दु रहेको हो भनिन्छ । विक्रम सम्वत् १९४८ मा तोकदेन छेल्ठीन लामाले यो गुम्वाको निर्माण गरेका हुन् । यो गुम्वा ९५३० फिट उचाइमा रहेको छ । यस गुम्वाको प्रमुख लामा रिन्जी शेर्पा लामा हुनुहुन्छ भने अन्य २० जना जति महन्तहरू रहेका छन् । यस ठाउँबाट उत्तरमा नुम्वुर, कर्यालुङ्ग हिमाल, पूर्वमा थामसेर्कु, ताउचे, खाङतेगा, मेरापिक, झोमोलोङ्गमा हिमाल हेर्न सकिन्छ ।
श्री वालेश्वर महादेव
सोलुखुम्वु जिल्लाको सदरमुकाम सल्लेरीदेखि ६.५ कोष दक्षिण पश्चिम भागमा अवस्थित यो मन्दिर केरुङ गाविस वडा नं. ६ को मेराङदिङ गाउँको भिरमा पर्दछ । सानो जङ्गलको बीचमा अवस्थित उक्त ठाउँमा प्रत्येक वर्षको वालाचर्तुदशीको दिन सदवीउ छर्ने गरिन्छ । भक्तजनवाट उठेको रकमवाट एउटा बसाहा गोरु र गणेशको मूर्ति बनाई राखिएको छ । यसको सम्पूर्ण रेखदेख, नित्यकर्म, पूजाहरु समेत सल्लेरी–५ रोसी गाउँका कर्ण सिं बस्नेतका सन्तानहरूले गरिआएका छन् ।
श्री ज्वालामाई देवी
सोलुखुम्वु जिल्लाको सदरमुकाम सल्लेरीदेखि ३ कोष उत्तरको तामाखानी गाविसमा यो मन्दिर रहेको छ । किम्वदन्ती अनुसार अठारौं शताव्दीको प्रथम दशकतिर हाल ज्वालामाई देवीको मन्दिर रहेको स्थानमा चराउन लगेको गाईले निरन्तर पोखरीकै डिलमा दूध चढाएको देखेपछि त्यहाँ कुनै दैवी शक्ति रहेको विश्वास गरी आराधना गर्दा पोखरीबाट अग्नी ज्वालाको रुपमा ज्वालामाई प्रकट भएपछि ती देवीलाई जलमाई वा ज्वालामाईको नामले चिनिएको विश्वास गरिन्छ । कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमाको दिनसम्म त्यहाँ भक्तजनहरूको ठूलो भिड लाग्दछ । फाटफूट गन्न सकिने रुख विरुवाको बीचमा एउटा खस्रुको ठूलो रुखको फेदमा ती देवीको मूर्ति अवस्थित छ । देवीस्थानको करिव २५÷३० मिटर तलबाट स्वच्छ पानी निस्केको छ । मन्दिरको सम्पूर्ण रेखदेख कार्य त्यहाँका स्थानीय नेवार र मगर समुदायबाट भएको छ । भक्तजनहरूले चढाएको रकमबाट मन्दिरको पुनःनिर्माण गरी तामाको छाना हाल्ने, प्राङ्गणमा ढुङ्गा ओछ्याउने, पर्खाल र सिंढी बनाउने जस्ता प्रशस्त उदाहरणीय कार्य भएका छन् ।
भेडीखोर वागेश्वरी
यस जिल्लाको पवित्र तीर्थस्थल मध्ये यो पनि चर्चित स्थल हो । सल्यान गाविसको वडा नं. ६ को मध्य भागको बिर्खे डाँडामा अवस्थित यो मन्दिरमा श्रावण शुक्ल ऋषितर्पणी पूर्णिमाको दिन विभिन्न धामी, झाँक्रीकासाथ भव्य भेला लाग्दछ । मन्दिरको छेउमा एउटा १८ फिट गहिरो पोखरी समेत रहेको छ । यस मन्दिरमा सेता नाग, सेता मृगहरू डुलिरहेका हुन्छन् र किम्वदन्ती अनुसार त्यस पोखरीमा झरेका पात पतिङ्गरहरू झर्नासाथ चराहरूले टिपेर लग्दछन् । यो मन्दिर स्थापनाको लागि सोही वडाका तामाङ जातिको महत्वपूर्ण योगदान रहेको छ । यो मन्दिरलाई संरक्षणको पनि खाँचो देखिन्छ ।
श्री जाल्पादेवी (जालिम) देउसा
यो मन्दिर सोलुखुम्वु जिल्लाको देउसा गाविसको वडा नंं. ५ र ६ को सिमाना ६५०० फिटको उचाइमा अवस्थित छ । यहाँ एउटा १२ महिना पानी नसुक्ने पोखरी छ जुन जालीम पोखरीको नामले चिनिन्छ । यो पोखरीलाई गाउँलेहरूले चारैतिरवाट पर्खालले घरेर सुरक्षाको व्यवस्था गरिएको छ । वरिपरि जङ्गलको हरियाली छ । देवीस्थानको वरिपरि काँचो काठ काट्न परम्परादेखि नै निषेध गरिएको छ ।
यस स्थानमा वर्षको २ पटक मेला लाग्ने चलन छ– क) ऋषितर्पणी चतुर्दशीदेखि पूर्णिमासम्म र ख) चण्डी चतुर्दशीदेखि पूर्णिमासम्म । मेलामा टाढाका तीर्थयात्रीहरू विजुवा धामी, झाँक्री र रुद्री लगाउने सन्तहरू समेत आउँदछन् । यी देवीलाई पूर्णिमा पञ्चमीमा विशेष गरेर चण्डी पूर्णिमाको पञ्चमीमा पाठपूजा गर्ने चलन छ ।
धर्मपिक
सोलुखुम्वुकै आकर्षणको रुपमा सगरमाथा झैं चुलिएर रहेको हिमश्रृंखला हो धर्मपिक । सल्लेरी सदरमुकामदेखि पूर्वतर्फ करिव १९ कोष टाढा सोताङ गाविस वडा नं. ६ चित्रे गाउँबाट ठडिएर रहेको धर्मपिक पुग्न चित्रेबाट करीव ३ घण्टा समय लाग्ने भएको र बीचमा खान बस्नकालागि कुनै पूर्वाधार विकास भइनसकेको वर्तमान अवस्थामा सोही अनुसार पूर्व तयारी गरी मात्र उक्त स्थानमा जान सकिने अवस्था रहेको छ । यस पिकको टाकुराबाट सगरमाथा, आमाडब्लम, मेरापिक, चोयू, थामसेर्कु, कञ्चनजंघा, मकालु जस्ता उच्च पर्वतशिखर तथा हिमश्रृंखलाहरूको राम्ररी अवलोकन गर्न सकिन्छ । यस को उचाइ ३७०० मीटर छ । यस पिकको वरिपरि सल्ला, चिमल, लालीगुराँस, वुकीफुल जस्ता वन पैदावरले ढाकेको वन जङ्गल छ भने उक्त जङ्गलमा भालु, चितुवा, वनेल, मृग आदि वन्यजन्तु तथा डाँफे, मुनाल जस्ता पक्षीहरू पाइन्छन् ।
मेरापिक
बुङ्ग र छेस्काम गाविसको सिमानामा अवस्थित ६६५४ मि. अग्लो मेरापिक सगरमाथा आरोहण गर्न नसक्ने पर्वतारोहीहरूका लागि ज्यादै महत्वपूर्ण चुचुरो हो । आरोहण गर्नका लागि सजिलो र सगरमाथा लगायत अन्य हिमश्रृंखला र मनमोहक दृश्यावलोकन गर्न सकिने हुनाले वर्षेनी यस चुचुरो आरोहण गर्न पर्यटकको संख्या बढ्दो छ । हालसम्म यस चुचुरोमा पुग्नको लागि लुक्लाबाट थुक्धिङमा, छेथरवा, कोठे, ठकनाक, खहरे हुँदै आमालप्चा (आधार शिविर) सम्म पुग्ने बाटो रहेको र उक्त बाटो ज्यादै अफ्टेरो र धेरै उचाइबाट पार गर्नुपर्ने हुनाले लेक लाग्ने र जाडोको कारणले वर्षेनी धेरै स्वदेशी भरियाहरूको निधन हुने अवस्था विद्यमान भएकाले यस क्षेत्रको पर्यटन विकासमा नकारात्मक प्रभाव पारेको देखिएकोले जिल्ला विकास समितिले इङ्खु खोलाको किनारै किनार कम उचाइबाट जाने कम जोखिमपूर्ण सुरक्षित र वैकल्पिक पर्यटन पदयात्रा मार्गको रुपमा सिबुचे–मेरापिक पर्यटन पदमार्गको निर्माण कार्य गरेको छ र उक्त मार्गको नाम पासाङ ल्हामू पर्यटक पदयात्रा मार्ग नामाकरण गरेको छ । यस मार्गको माध्यमबाट मेरापिक पुग्न सहज र सुरक्षित हुनुका साथै जुभिङ्ग गाविस लगायत दक्षिणी गाविसहरूमा पर्यटकको संख्यामा वृद्धि हुन गई पर्यटन विस्तारमा सकारात्मक टेवा मिल्ने विश्वास गरिएको छ ।
रातनाङ्गे डाँडा
सोलुखुम्वु जिल्लाको सदरमुकाम सल्लेरीबाट उत्तर पूर्वमा अवस्थित सल्लेरी गाविसको वडा नं. ३ तथा काँकू गाविसको वडा नं. ८ बीचमा रहेको रात्नाङ्गे डाँडा करीव ३५०० मिटर उचाइमा रहेको जिल्ला सदरमुकामको सवैभन्दा नजिकको दृश्यावलोकन गर्ने रमणीय स्थल हो । जिल्ला सदरमुकामको फाप्लु विमानस्थलबाट ठीक पूर्वतर्फ करीव ३ घण्टाको पैदल यात्रा पछि पुग्न सकिने रात्नाङ्गे डाँडाबाट सूर्योदयको रमणीय दृश्य तथा संसारको सवैभन्दा अग्लो सगरमाथा, खुम्विला, थामसेर्कु, ल्होत्से, नुप्से, खाङ्गतेगा, खुम्वियूला, आमादव्लम र मेरापिक लगायतका कयौ हिमश्रृंखलाहरू लगायत जिल्लाको चारैतर्फ नागवेली झंै फैलिएर रहेका अनेक पहाडी श्रृंखलाहरू देख्न सकिन्छ । वसन्त ऋतुमा फुलेका गुराँस, चिमल आदि रंगी–विरंगी फूलहरूले ढकमक्क भएको वरिपरिको जङ्गल र डाँफे, मुनाल लगायत थरिथरिका चराचुरुङ्गीको आवाजले गुञ्जायमान रहेको यस स्थानमा दृश्यावलोकन गर्न आन्तरिक तथा विदेशी पर्यकहरूको लागि प्रकृतिले ठूलो अवसर प्रदान गरेको छ ।
सदरमुकाम नजिक रहेका स्थानहरूमा पर्यटन प्रवद्र्धन गर्ने दृष्टिकोणले अति उपयुक्त स्थानमध्ये यो डाँडा एक रहेको छ । यस स्थानमा जिल्ला विकास समितिको सक्रियतामा पानारोमिक भ्यू टावर निर्माणाधीन छ । यहाँ सामुदायिक एफ.एम. स्टेशन तथा पर्यटकीय रिसोर्ट स्थापना गर्न सकिएमा जिल्लाको आम्दानी बढ्ने संभावना रहेको देखिन्छ ।
पत्ताले डाँडा
केरुङ गाविसमा पर्ने पत्ताले डाँडा पर्यटन क्षेत्रमा एक रमणीय स्थलको रुपमा चिनिन्छ । ओखलढुङ्गा र सोलुखुम्वु जिल्लाको सिमानाको रुपमा ठडिएको यो पत्तालेको चाँगेस्थान धार्मिक तीर्थस्थलको रुपमा समेत परिचित छ । यो ठाउँ फराकिलो र खुल्ला छ । पश्चिमतिर फर्कियो भने चिसो हावा लाग्नुको साथै चुरे पहाडको दृश्यले मनै फुरुङ्ग हुन्छ भने पूर्वोत्तर फर्कियो भने मुकुट झै चुलिएर धपक्क बलेको सगरमाथाको दृश्यावलोकन गर्न सकिन्छ । दायाँ बायाँतर्फ फैलिएर रहेको हिमश्रृंखलाको लस्कर देख्दा हामी जो कोही प्रकृतिप्रेमीहरूको लागि हेरी रहँु जस्तो लाग्दछ भने विदेशी पर्यटकहरूका लागि यो स्वर्ग झैें छ । फाल्गुनदेखि वैशाखसम्म झन् लाँलीगुराँस झपक्क फुलेर चारैतर्फ मन मात्र होइन आङमा समेत तरङ्ग बनाइदिन्छ । जनै पूर्णिमाको दिन यस स्थलमा ठूलो मेला लाग्ने भएकोले भक्तजनहरूको ठूलो भिड लाग्दछ । यो क्षेत्रदेखि नेचा बिहिबारेसम्म शाखा मोटर मार्ग निर्माण शुरुवात भएपछि यस स्थानको महत्व अझ बढेको छ । यस डाँडाबाट सोलुखुम्वु र ओखलढुङ्गा जिल्लालाई जोड्ने सडक मार्ग निर्माणाधीन रहेको हँुदा भारतीय पाहुनाहरूको लागि समेत यो स्थान महत्वपूर्ण हुने विश्वास गरिएको छ । यस स्थानवाट केरुङ गाविस अन्तरगत पर्ने सिगाने डाँडाको रमणीय बस्तीदेखि टाप्टिङ्ग गाविसको झाप्रे गुम्वा हुँदै पिके डाँडा भएर फाप्लु विमानस्थलसम्म पर्यटक पदमार्गको निर्माण भइसकेको छ । पत्तालेमा नमूना शेर्पा बस्तीको पूर्वाधार तयार पारी विकास गर्न सकिएमा पर्यटन उद्योगको विकासको थप टेवा पुग्ने प्रवल संभावना छ ।
पिके डाँडा
पिके डाँडा मुख्यतया पर्वतीय पर्यटन गर्न नसक्ने पर्यटकहरूका लागि अति महत्वपूर्ण चुचुरोको रुपमा अवस्थित छ । यस स्थानमा गोले पिके र च्यावा पिके नामक दुई डाँडा रहेका छन् । पूर्व र पश्चिम जोडी मिलाए झैं उभिएको पिके १३,५०० फिटको उचाइमा रहेका छन् । यहाँ धुपी र सुनपातीको गन्धले आदत बसेका मानिसहरूलाई बाहेक नवागन्तुकहरूलाई लेक लाग्ने सम्भावना बढी हुन्छ । यो पिकेको नामाकरण शेर्पा जातिको १६ थर मध्ये दुई थरको नामबाट राखिएको देखिन्छ । शेर्पाहरू परापूर्व कालमा विशेषतया पशुपालन गर्ने गर्थे । यस क्रममा पशुपालनको निम्ति खर्कको आवश्यकता पर्ने भएकाले पश्चिमतिरको खर्क गोलेको भागमा र पूर्वतिरको खर्क च्यावाको भागमा परेकाले पहिचानको लागि आ–आफ्नो थरको नामबाट नामाकरण गरिएको हो भन्ने किम्वदन्ती रहेको छ । यहाँ श्रावण संक्रान्तिको दिन ठूलो मेला लाग्दछ । धार्मिक दृष्टिकोणले पूर्वको च्यावा पिकेलाई पिके ल्हाप्चेन कर्वु नामले कुलपूजा गर्ने चलन छ । पश्चिमतिरको गोले पिकेको टुप्पोमा पूजापाठ गर्न टहरो बनाउन खोज्दा एउटा अदृश्य व्यक्तिले अलि तल बनाउ यहाँ मेरो शिरमा होइन भन्ने आदेश भयो र पछि त्यहाँ भयङ्कर अजिङ्गर निस्केको किम्वदन्ती छ । अद्यावधि यहाँ पूजा गर्दा घिउको याक आकारको स्वरुप बनाएर पूजा गर्ने चलन छ । यहाँ प्रत्येक वर्ष श्रावण पूर्णिमाको दिन पूजापाठ गरिन्छ । धार्मिक पर्यटक तथा दृश्यावलोकन गर्ने पर्यटकहरूका लागि यो डाँडासम्म पुग्न जिरीबाट चौंलाखर्क–ङउर–पिकेडाँडा, झाप्रे गुम्वा, पत्ताले पर्यटन पदमार्ग निर्माण भएको छ भने अर्को बाटो पिकेबाट पाँचपोखरी– ठो हुँदै तामाखानी– फाप्लुसम्म पनि पर्यटन पदमार्ग निर्माण सम्पन्न भएको छ ।
यस जिल्लाको सदरमुकाम सल्लेरीदेखि उत्तर पश्चिममा अवस्थित पेके डाँडा सूर्योदयको र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्नको लागि प्रसिद्ध छ । यसको अलावा यहाँबाट सगरमाथा लगायत मकालुदेखि अन्नपूर्ण हिमश्रृंखलासम्मको मनमोहक दृश्य देख्न सकिनुका साथै दुर्विनको सहायताबाट काठमाडौं उपत्यका वरिपरिका डाँडाहरू तथा तराईको समथर मैदान समेत देख्न सकिन्छ ।
स्याङ्गिफुक गुफा
स्याङ्गिफुक गुफा वेनी गाविसको वडा नं. ५ मा पर्दछ । यो गुफाको मुख सिंहको जस्तो भएको हुनाले शेर्पा भाषामा स्याङ्गिफुक भनिएको हो । आजभन्दा सयौंंं वर्ष पहिले लामा दोर्जी जाङवु गुफामा तपस्या गरिरहेको समयमा गुफा भत्किन लाग्दा त्यस गुफामा भएको ढुङ्गालाई दाहिने हातले ठेलेर अड्याएको भन्ने जनश्रुति रहेको देखिन्छ उक्त ढुङ्गामा दाहिने हातको छाप जस्तो आकार आजसम्म पनि जस्ताको तस्तै देखिन्छ । यहाँ बत्ती बालेर शक्तिशाली लामाको आराधना गरिन्छ । हिउँदको समयमा यस स्थानमा धेरै चिसो भएको कारण चैत्र वैशाख महिनामा मात्र बाटोमा चौंरीगोठ र भेडागोठ भेट्टाउन सकिन्छ । यही समय नै गुफा दर्शन गर्ने उपयुक्त समय मानिन्छ । फाप्लु विमानस्थलदेखि स्याङ्गिफुकसम्म जान लगभग १ दिन नै लाग्दछ । बेनी गा.वि.स.को जुनवेंसी बजारदेखि अगाडि उक्त गुफा जाने मार्गमा होटल, लज एवं अन्य कुनै पनि सुविधाहरू नभएकाले जुनबेंसीबाट सो गुफा अवलोकन गर्न जाँदा सोही अनुसारको आफ्नो तयारी साथ जानुपर्ने हुन्छ । यो ठाउँ यस जिल्लाको अत्यन्तै रमणीय र मनमोहक स्थानमध्ये एक हो ।
दूधकुण्ड
सोलुखुम्वु सदरमुकाम सल्लेरीबाट उत्तरतिर देखिने नुम्बुर हिमालको काखमा दूधकुण्ड अवस्थित छ । यस कुण्डको पानी सेतो भएको कारणले गर्दा यसको नाम दूधकुण्ड रहेको हो । यसको तल दायाँतर्फ भैरवकुण्ड नामले अर्को सानो कालो कहाली लाग्दो पोखरी रहेको छ । त्यस पोखरीको पानी कालो र अँध्यारो देखिन्छ त्यसैले यसलाई भूतकुण्ड पनि भनिन्छ । दूधकुण्डको माथितिर श्रीकुण्ड र दुई हिमालको खोंच भित्र महाकुण्ड पनि रहेको छ । आजभन्दा करिव २०० वर्ष जति पहिले त्यहाँका भेडा गोठाला तथा चौंरी गोठालाहरूले पत्ता लगाएको अनुमान गरिने उक्त तीर्थस्थलमा वर्षेनी जनै पूर्णिमाको दिन हिन्दू तथा वौद्धधर्मावलम्वीहरूको ठूलो घुइँचो लाग्ने गर्दछ । हिमालको फेदी र सदरमुकामबाट करिव १५ कोष टाढा रहेको स्थलमा मेला भर्न सर्वसाधारण कुनै समस्याको पर्वाह नगरी दर्शन गर्न जाने गर्दछन् । सल्लेरीबाट रिङमु तथा सहस्रबेनी हुँदै सोलु खोलाको किनारै किनार करीव दुई दिनको यात्रापछि उक्त कुण्डमा पुग्न सकिन्छ । रिङमुबाट अगाडि बढेपछि बीचमा सिजनमा मात्र राखिने अस्थायी केही होटलहरू मात्र पाइन्छन् ।
सल्पा (साल्पा) पोखरीः
सोलुखुम्वु जिल्लाको सदरमुकाम सल्लेरीदेखि पूर्व करीव २८ कोष टाढा गुदेल गाविस र भोजपुर जिल्लाको दोभाने गाविस बीच सिमानामा ३५१४ मीटर उचाइमा सल्पा (साल्पा) पोखरी पर्दछ । उक्त पोखरी वरिपरिको ठाउँलाई कुलुपेखु भनिन्छ । त्यस ठाउँबाट सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङ्ग जिल्लाका हिमाल, चुचुरा, पहाड, झर्ना र अन्य प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । यसको आसपासमा धुपी, सल्ला, चाँप, चिमल, लालीगुराँस, बुकीपूmल, सुनाखरी, सुनपाती र विभिन्न जडीबुटीले ढाकेको मनमोहक घना जङ्गल छ । यस जङ्गलमा भालु, कस्तुरी, मृग, झारल, घोरल, डाँफे, मुनाल जस्ता वन्यजन्तु तथा पशुपक्षी पाइन्छन् । काठमाडौंबाट तुम्लीङ्गटार हुँदै लुक्ला, नाम्चेबजार, मेरापिक, सगरमाथा लगायत अन्य हिमाल आरोहण गर्न आउने प्रमुख मार्ग पनि हो सल्पा पोखरीको छेउको सल्पा डाँडा । भर्खंरै लिएको तथ्याङ्क अनुसार सल्पा डाँडा र पोखरीको बाटो भई धेरै विदेशी पर्यटकहरूले यात्रा गर्ने गरेका छन् ।
कुलुङ्ग राई भाषामा स–सल्पा भनेको लामो वा लाम्चो भन्ने बुझिन्छ । सल्पा पोखरी लाम्चो आकारमा पैmलिएको छ तर गाउँघर र बोलीचालीमा मानिसहरू साल्पा पोखरी भन्दछन् । सल्पा पोखरी पर्यटकीय दृष्टिकोणले मात्र हैन धार्मिक दृष्टिकोणले पनि यसको आफ्नै प्रकारको महत्व छ । प्रत्येक वर्ष बैशाखको चण्डी पूर्णिमा र श्रावणको जनै पूर्णिमामा पोखरी वरिपरि ठूलो मेला लाग्दछ । सोलुखुम्वु, संखुवासभा, भोजपुर र खोटाङ्गका भक्तजन तथा युवा–युवतीहरूको ठूलो भीड हुन्छ । किम्वदन्ती अनुसार सल्पा पोखरीमा रुद्री पूजा, भेटीपाती चढाएर जेसुकै वर मागेमा पाइन्छ भन्ने विश्वासका साथ छोरा नहुनेले छोरा माग्छन्, युवा–युवतीले मिल्दो जोडी माग्दछन् । भक्तजनहरू हाँस, कुखुरा र परेवाहरू पोखरीमा चढाउँछन् । त्यहाँबाट ल्याएर पालेका हाँस, कुखुरा र परेवाहरू अत्यन्तै पैmलन्छन् भन्ने विश्वास गरिन्छ । त्यसैले सोलुखुम्वुलाइं चिनाउने प्रतीकमध्ये सल्पा पोखरी पनि एक हो ।
पाँचपोखरी
सोलुखुम्वु जिल्लाको पूर्वतर्फ सदरमुकाम सल्लेरीबाट करीब २१ कोष टाढा रहेको वुङ गाविस वडा नंं. ९ खिरौले र चेरेम गाउँको मुकुट बनेर उभिएको अत्यन्तै रमणीय उपत्यकामा पाँचवटा ठूल–ठूला पोखरीहरू छन् । तिनीहरूलाई बूढापोखरी, बूढीपोखरी, छोरापोखरी, बुहारी पोखरी र कमारा पोखरीको नामले चिनिन्छ । समुद्रको सतहबाट ४७५० मीटर उचाइमा रहेको पाँच पोखरीको आफ्नै खालको महत्व छ । यस पोखरीको अवलोकन गर्न जान बुङ गा.वि.स.बाट करीव २ दिन लाग्दछ भने बाटामा केही अगाडिसम्म सामान्य होटल भेटिन्छन् । यस स्थानमा प्रत्येक वर्ष वैशाख महिनाको चण्डी पूर्णिमा र श्रावण महिनाको जनै पूर्णिमामा ठूलो मेला लाग्दछ । तर हाइअल्टिच्युट लाग्ने हुँदा बूढाबूढी, केटाकेटी तथा शारीरिक रुपले अशक्त मानिसहरू जान सक्दैनन् । यस ठाउँबाट मेरापिक, किम्पा, नुम्वुर तथा नदी, ताल, झरना आदि अत्यन्तै रमणीय दृश्यहरूको अवलोकन गर्न सकिन्छ । धार्मिक र पर्यटकीय दृष्टिकोणले यसको धेरै महत्व छ ।
जालपा गुफा
सदरमुकाम सल्लेरीबाट करीब ११ कोष टाढा रहेको नेचा वेतघारी गाविसको वार्ड नं. २ नेचा डाँडा (१९०० मि. उचाइ) को रमणीय जङ्गलमा जालपा गुफा रहेको छ । गुफाको पूर्वतर्फ जालपा देवीको मन्दिर तथा यज्ञकुण्ड, पश्चिमतर्फ सिद्धेश्वर महादेव स्थान, उत्तर तर्फ सुकेपोखरी तथा दक्षिण तर्फको डाँडामा सूर्योदय पार्क रहेकाले विविधताको नमूना यहाँ हेर्न सकिन्छ । मकालु, केरेलुङ्ग, नुम्बुर, थामसेर्कु, मेरापिक आदि हिमश्रृंखला देखिने सूर्योदय पार्कबाट दूधकोशीको अविरल प्रवाहका साथै हलेसी महादेवस्थान, रुम्जाटार, ट्याम्के डाँडा, ऐंसेलुखर्क लगायत सोलु, खोटाङ्ग र ओखलढुङ्गाका धेरै भागहरू देख्न सकिन्छ । १९७० को दशकमा एकजना पण्डितले कोटीहोम लगाएको प्रसङ्ग स्कन्ध पुराणमा उल्लेख गरिएको पाइन्छ भने सोही स्थानमा एउटा ठूलो गुराँस (३ फुट गोलाइ) को रुख रहेको छ । सुकेपोखरीको पानी महिलाले झिक्न नहुने, उक्त स्थानमा फोहोर मैला भएमा गाउँमा अनिष्ट हुने, पोखरीमा झरेका पात घामको झुल्कोमा अनौठो चराले हटाउने र पोखरीमा जुठविटुल गरिएमा सेतो मृग, हाँस देखिने तथा सिंह गर्जने गर्दछ भनिन्छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय यस स्थानको दर्शन गरेमा मनोकाङ्क्षा पूर्ण हुने हुनाले मेलामा धर्मभिरु मानिसहरूको भीड लाग्दछ । ऋषितर्पणी, धान्य पूर्णिमा र चण्डी पूर्णिमामा यहाँ ठूलो मेला लाग्दछ ।
कालिका देवीस्थान
नेचावेतघारी गाविस वार्ड नं. ७ मा कालिका देवीस्थान पूर्वाञ्चलका पहाडी क्षेत्रमा कतै नपाइने वेत पाइने भएकाले प्रसिद्ध रहेको छ । १८१७ मा उत्तपत्ति भएकी कालिका देवीको बारेमा रमाइला किम्वदन्ती पनि रहेका छन् । कुखुरा र पाठा भोग चढाइने यस स्थानमा नौरथाभरि चण्डी पढाउने तथा पूजाआजा गर्ने मानिसहरूको भिड लाग्दछ । वेतको जात हालसम्म छुट्याउन नसकिएको भएतापनि देवीको मठ वरिपरि मात्र वेत हुनु अनौठो मानिएको छ । यस गाविसको नामाकरण वेतघारी पनि यसै स्थानको नामबाट रहन गएको हो ।
Comments
Post a Comment