असार १०, २०७४- सबैतिर चुनावको चहलपहल छ । उम्मेद्वारहरु भोट माग्ने दौडधुपले हैरान छन् । पार्टीका प्रचार सामाग्रीले सबैतिर रंगिन छन् । तर सोलुखुम्बुको साविक तिङला गाविस (हालको नेचा सल्यान गाउँपालिका–६) लाई यो चुनावले छोएको छैन ।
तिङलाका २ हजार ४ सय ७६ मतदाताले चुनावको बहिष्कार गरेका हुन् । कुनै उम्मेद्वार समेत नभएको यहाँ सबै आ–आफ्नै काममा व्यस्त छन् । राज्य पुनर्संरचना आयोगले गरेको सीमांकनसँग असन्तुष्टि राख्दै चैत २ गतेदेखि सुरु भएको आन्दोलनको अर्को रुप अन्तर्गत यो चुनाव बहिष्कार गरिएको हो ।
२० मिनेट परको सोलुखुम्बु दुधकुण्ड नगरपालिकामा नसमेटेर एक दिनको बाटो लाग्ने दुरीमा रहेको नेचा सल्यान गाउँपालिकामा तिङला समावेश गरिएपछि आन्दोलन सुरु भएको थियो । तिङलावासीको आन्दोलन सुनुवाई नभएपछि उनीहरु अन्तत: निर्वाचन बहिष्कार गर्ने निर्णयमा पुगे । उनीहरुले नारा नै बनाए ‘नो भोट, नो क्यान्डिडेट !’
Comments
Post a Comment