Skip to main content

पाँच दशकदेखि बाटो खन्दै


५ दशकअघि काम खोज्दै उनी लुक्ला एअरपोर्टमा पुगे। दुई विदेशी पर्यटकलाई खुम्बु क्षेत्रमा घुमाउने काम पाए। काम पाएपछि उनी निकै खुसी भए। तर, उनको खुसी धेरै टिकेन। कारण– उनले घुमाउन लगेका पर्यटक खुसी भएनन्।
त्यसबेलामा खुम्बु क्षेत्रको बाटो साह्रै साँघुरो थियो। अप्ठ्यारो पनि उत्तिकै। हिँड्नै सकस हुन्थ्यो। स्थानीय त हात–खुट्टा टेक्दै हिड्ने गर्थे। यस्तोमा विदेशी कसरी हिँड्न सकुन् र, खुसी होउन्।
 
खुम्बुका पासाङ सेर्पाको एक्लो प्रयासमा फेरिचेबाट सुरु गरिएको बाटो पाङबोचे, लहिसास हुँदै क्यान्जुमसम्म पुगेको छ। नाम्चे जोडिन थोरै बाँकी छ।
बाटोको अवस्था देखेपछि दुई विदेशीले पासाङ शेर्पालाई भने रे– ‘खुम्बु क्षेत्रमा बाटो बनाउनुपर्ने रहेछ। बाटो बनाउने हो भने यहाँ आउने जो कोहीले पनि  दुई–चार रूपैयाँ दिन तयार हुन्छ।’
पहिलो पटक विदेशी घुमाउन खुम्बु पुगेका पासाङलाई पनि बाटो नबनाए विदेशी बेखुसी हुन्छन् झैं लाग्यो। त्यतिबेला उनलाई पनि भिरको काखमा रहेको सानो गोरेटोमा हिँड्न सकस भएको थियो।
दुई महिला दाउराको भारी बोकेर हात–खुट्टा टेकेर हिँडेको देख्दा र विदेशी घिसि्रएर हिँडेको दृश्यले उनलाई पिरोलिरह्यो। पासाङको त्यही चिन्ताले अहिले खुम्बु क्षेत्रको बाटो फराकिलो बनेको छ। अहिले घिसि्रएर हिँड्नुपर्ने अवस्था छैन। बाटो बनाउने भने उनै पासाङ हुन्।
उनको घर सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट करिब पाँच घण्टाको पैदल दुरीमा पर्छ। उनी काकुबाट खुम्बु क्षेत्रतिर सरे। सुगम गाउँ छोडेर दुर्गम खुम्बुमै बसोबास गर्न थाले। र, खुम्बु क्षेत्रको बाटो बनाउन सुरु गरे। ‘फेरिचेबाट बाटो बनाउन सुरु गरेका हुँ,' उनले सुनाए।
बाटो कहिलेदेखि सुरु गरेको हो, पासाङलाई नै स्पष्ट थाहा छैन। त्यतिबेला २५/३० वर्ष थिए जस्तो उनलाई लाग्छ। अहिले उनी ७९ वर्षका भए। उमेर आधार मान्ने हो भने पनि उनले बाटो बनाउन झण्डै ५ दशक बिताइसकेका छन्।
सगरमाथा राष्ट्रिय निकुञ्जसँग स्वीकृति लिएर उनले बाटो बनाउन थालेका हुन्। बाटो बनाउन थालेपछि सहयोग पनि आउन थालेको उनी बताउँछन्। ‘महान कार्य’ गरेको भन्दै विदेशीले चन्दा दिन थाले।
‘गैती, साबेल समाएर बाटो खनेको देखेपछि विदेशीले छेउको डोनेसन बक्समा दुई–चार पैसा बक्स खसाएरै जान्थे,’ पासाङ त्यतिबेलाको क्षण सम्भि्कए।
फेरिचेबाट सुरु भएको बाटो पाङबोचे–तेङबोचे–लहिसास–क्यान्जुमसम्म पुगेको छ। नाम्चे जोडिन थोरै बाँकी छ। फेरिचे, पाङबोचे, तेङबोचे र क्यान्जुम क्याम्प हुन्। टे्रकिङमा एक ठाउँ बसेर अर्को ठाउँ पुग्नुलाई क्याम्प भनिन्छ।
उनले खनेको बाटो हिँडेर अहिले सयौं आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्।
अहिले बाटो फराकिलो बनेको छ। चार पांग्रे हल्का सवारी मज्जाले गुड्छन्। ठाउँठाउँमा चौतारो पनि छ। बाटोको दायाँबायाँ पर्खाल लगाइएको छ। झट्ट हेर्दा बाटो ग्राभेल गरिएको जस्तो देखिन्छ।
फेरिचे (४२१० मि.)देखि नाम्चे (३४४० मि.) जोडेपछि करिब ३५ किलोमिटर बाटो सम्पन्न हुन्छ। आउँदो वर्षसम्म सम्भवतः बाटो जोडिन सक्छ।
बाटो नजोड्दै पासाङलाई केही भइहाले भने खुम्जुङ युवा क्लबले उनको सपना पूरा गर्ने प्रतिवद्धता गरेको छ।
बाटोका किनारमा कहीँकहीँ बिरुवा रोपिएका छन्। बाटो मर्मत गरेर खुम्बु क्षेत्रको स्वरूप बदलेका पासाङ यही कामले ख्याति कमाएका छन्।
उनको नाम 'लामा सेरु' भएको छ। उनी यही नामले नै चिनिएका छन्। संकलित चन्दाबाट उनले परिवारको जीविका चलाएका छन्। अहिले उनीहरू खुम्जुङमा बस्छन्। आफूसँगै काम गर्ने ज्यामी पनि राखेका छन्।
उनको बाटो बनाउने अभियान खुम्जुङकै क्यान्जुम र नाम्चेलाई जोड्न लागेको छ। उनी यो बाटो आउँदो हिउँदसम्म सक्ने लक्ष्य लिएका छन्। यसपछि भने नाम्चे भन्दा तलको बाटो बनाउन थाल्ने पासाङले योजना सुनाए।
सुरुमा उनी आफैं गैती र साबेल समाएर खनिरहेका हुन्थे। उमेर ढल्किँदै गएपछि काम गर्न सक्ने अवस्थामा छैनन्। बाटोमा डोनेसन बक्स र छेउमा चन्दा दिन अनुरोध गरिएका बोर्ड राखिएका छन्। त्यसैको छेउमा बसेका हुन्छन्, उनी।
बुढ्यौली अनुहार, कपडा पनि उस्तै मैलो। अनुहारले बुढेसकाल झल्काइरहेको छ। गाला चाउरिएको छ। आँखा पनि उतिसारो देख्दैनन्, उनी। तर पनि बुढ्यौलीले छोए पनि उनी सेवामा खटिरहेका छन्।
‘बाटो चिटिक्क बनाउन लागेको छु,' पासाङले भने। दुई मुठ्ठी सास हुन्जेलसम्म बाटो बनाउन लागिपर्ने पासाङले सुनाए।
बाटो बनाउन ९ वर्षदेखि दुई ज्यामी राखेका छन्, पासाङले। ज्यामीलाई उनले दैनिक ज्याला र खाना बस्न दिएका छन्। दैनिक ९ सय रूपैयाँ दिने ज्याला तोकिएको पासाङले बताए।
‘जवान छँदा आफैंले बाटो बनाएँ,’ उनले भने, ‘शरीरले साथ नदिएपछि अहिले हेरालु भएर खटिरहेको छु।’ रामकुमार र डम्बर राई पासाङका कामदार हुन्। उनले तल्लो भेग सोलुबाट यी कामदार ल्याएका हुन्।
बाटो खन्न थालेयता कति डोनेसन उठ्यो, उनलाई यकिन छैन। ‘हिसाब गर्दै जाने हो भने लाखौं उठ्यो होला,’ उनले भने, ‘सुरुसुरुमा हिसाब राखेको थिएँ, पछि भुल्दै गए।' उनले गरेको काममा रकम हिनामिना भयो भनेर कसैले प्रश्न नै गर्दैनन्।
खुम्बुमा वैशाख र असोज आसपास गरी दुई पटक पर्यटन सिजन लाग्छ। यहीबेलामा डोनेसन कलेेक्सन गर्छन्। र, त्यही रकमबाट वर्षभर ज्यामी लगाउँछन्, जीविकोपार्जन गर्छन्।
‘उनले (पासाङ) सरकारले गर्न नसकेको काम गरेका छन्,' पासाङले खनेको बाटो हिँड्दै सगरमाथाको चुचुरोमा विवाह गरी कीर्तिमान कायम गरेका सोलुखुम्बुकै पेम्दोर्जी शेर्पा भन्छन्, ‘त्यसैले पासाङले पैसा हिनामिना गर्‍यो की भन्ने शंका लाग्दैन।’
पेम्दोर्जी बर्सेनि खुम्बु क्षेत्रमा पुग्छन्। सकेको सहयोग गरेर फर्किन्छन्। आखिर हिनामिना पनि केका लागि गरुन पासाङले? जन्मथलो छाडेर खुम्बुमा कोठा लिएर बसेको दशकौं भइसक्यो। पत्नी छिन्। योबाहेक केही छैन उनको। त्यसैले त सरकारले केही गरिदिए हुन्थ्यो जस्तो लाग्छ पासाङका शुभचिन्तकलाई।
‘खुम्बु क्षेत्रको 'सरकार' बनेका छन् पासाङ सर,' सगरमाथा आरोही तथा खुम्बु क्षेत्रमै होटल व्यवसाय गर्दै आएका नावाङ कर्साङ शेर्पा भन्छन्, ‘उनको योगदान ठूलो छ। त्यसैले सरकारले केही गरिदिए हुन्थ्यो।’ नावाङ कर्साङ आफैंले पनि पासाङलाई सक्दो सहयोग गरेका छन्। तर, उनीहरू कसैले पनि सरकारलाई पासाङबारे खबरदारी भने नगरेको बताए। बरु, उनीहरू सबै मिलेर पासाङलाई अभिनन्दन गर्ने योजनामा छन्। ‘उनको योगदानलाई कदर गर्दै सम्मान गर्न लागिपरेका छौं,’ खुम्बुका स्थानीय तथा नाम्चे लज एसोसियसन कोषाध्यक्ष मिङ्मा शेर्पाले भने, ‘चाँडै सम्मान गरेर थोरै भए पनि उनको योगदानलाई कदर गर्न लागेका छौं।’
उनलाई केही नेपालीले पनि सहयोग गर्दै आएका छन्। केही समयअघि खुम्जुङका युवा पासाङ तेन्जिङ शेर्पाले फेसबुकमा साथीलाई अनुरोध गरेर डेढ लाख रूपैयाँ जुटाइदिएका थिए। ‘खुम्बु क्षेत्रमा बाटो बनाउने उनको कार्य सराहनीय छ,’ पासाङ तेन्जिङले भने, ‘हिँड्दा लडिएला कि जस्तो बाटोमा निर्धक्क हिँड्न सकिने बनाउने पासाङलाई सबैले सक्दो सहयोग गर्नपर्छ।’ पासाङले बनाउँदै गरेको बाटोमा गत वर्ष मात्रै एक नेपालीको लडेर ज्यान गयो। नवाङ कर्साङका अनुसार ती नेपालीको मृत्युको कारण साँघुरो बाटो नै थियो। बाटो बनेको भए ती मान्छेको मृत्यु नहुने नवाङ बताउँछन्। साँघुरो बाटोका कारण बेलाबेलामा याक तथा खच्चड लडेर मनर्ेे गरेको पनि उनले सुनाए। खुम्बु क्षेत्रमा खच्चड तथा याकलाई नै यातायातका साधन मानिन्छन्। ठूलो भारी बोकेर हिँड्दा सानो बाटोमा धेरै खच्चड तथा याक दुघर्टनामा पर्थे। ‘पासाङले बाटो बनाएपछि यस्ता घटना घटेका छैनन्,’ उनले भने, ‘बाटो नबनेको भए लडेर सायद धेरै मानिस तथा जनावरको मृत्यु भइसक्दो हो।’ खुम्बु क्षेत्रमा हिमाल आरोहण गर्न तथा घुम्न बर्सेनि लाखौं पर्यटक पुग्छन्। खुम्बु क्षेत्रमा संसारकै प्रसिद्ध पर्यटकीय स्थल रहेका छन्।
अबको योजना
बाटो बनाउनेबाहेक पासाङको खास योजना छैन। 'कामदारलाई ज्याला दिन र बाटो धेरै बनाउन सकुँ,' उनले भने, ‘यति सपना पूरा भए म खुसी हुनेछु।' सरकारले केही व्यवस्था गरिदिए हुन्थ्यो जस्तो लागेको छ उनलाई।
उनको रहर भने फरक रहेछ। ‘मैले धेरै विदेशीलाई सजिलो गरी घुम्ने बाटो बनाए,’ उनले रहर सुनाए, ‘काठमाडौंमा माला लगाएर गाडीमा सहर परिक्रमा गरिदिए हुन्थ्यो।’
आफूले बनाएको बाटोमा पर्यटक ठमठमी हिँड्दा उनलाई आनन्द लाग्दोरहेछ। ‘विदेशी 'पासाङ गुड जब' भन्दै बाटोमा ठमठमी हिँड्दै सगरमाथातिर जान्छन्,’ उनले खुसी हुँदै सुनाए, ‘यो बेला खुसी लाग्छ। जीन्दगीमा ठूलै काम गरेको अनुभूति हुन्छ।’

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।