वैशाख १७, २०७४- मेरो नाम दावा तामाङ्ग हो । म ५२ बर्षको भएँ । सामान्य लेखपढ गर्न जानेको छु । मे ५२ वर्षीय मेरो पेशा कृषिनै हो । मौसमी कमाई भने यार्सागुम्वा टिप्न गणेश हिमालका पाखा पखेरा चहार्नु र हिमालकै पाखा पखेरका मुल्यवान रत्न पत्थर क्वार्ज र काईनेटिक खोज्नु हो । पत्थर र यार्सागुम्वाबाट मेरो वर्षेनी आम्दानी ५० /६० हजारसम्म पुग्छ । यार्सागुम्वा र पत्थर संकलन मात्रै हैन गोठपातकै कारण अरु जानै नसक्ने हिमाल वरपरका भिरपाखा चहार्नु मेरो लागि सामान्य हो । भीरपाखा पखेरा मेरा दिनचर्या हुन् ।
मेरो भीरपाखा जाजे सीप र साहसलाई गाउँ छिमेकीले सदुपयोग गर्थे । हिउं र भीरमा फसेका गाईवस्तु, गोठाला, चौंरी, घोडाको उद्धार गर्दै आएको थिएँ ।
यार्सागुम्वा र जडिवुटी खोज्न जाँदा हिमालका अप्ठेरो पहरामा फसेका कैयन साथीहरुको ज्यान बचाएको छु ।
मेरो घरमा बसेर गएको ताईवानी केटाकेटी हिउँमै हरायो रे भन्ने खवर छिमेकी जोमसाई घलेले वताएपछि दश दिन पछि गाउँलेहरुले थाहा पायौं । त्यतिवेला लेकमा २ मिटर हिउँ परेको थियो । छिमेकी जस थापाका २१ वटा भेडी हिमपातले मरेका थिए । हामीले सोच्यौं पक्कै पनि हिमपातमा चिसोले मृत्यु भयो वा भीरबाट चिप्लेर मरे ।– म ओडारमा पुग्दा उसले टाउको निकालेर पुलुक्क हेरे ।
– ४७ दिनसम्म पनि युवक जिउँदै देख्दा अचम्म मानेपनि सिरानीमा युवतीको लाश देख्दा आँखा रसाए ।– अरु दुई दिन ढिला भएको भए युवक पनि जीवित फेला पर्ने थिएन ।– हिउँमा चिप्लेर खाल्डोमा पसेपनि नजिकैको ओडार र पानीको छहरा वाँच्ने मुख्य आधार बनेको देखिन्छ ।– मिडियाले उड्ने हेलिकप्टरलाई प्राथमिकता दिए, भीरमा चढेर भेट्टाउनेको नामैले लेखेन ।
चैत १३ गते वेपत्ता ताईवानी युवक लियाङ्ग शेङ्ग युका वावु हेलिकप्टरमा आएर दुई दिन बसेर सवै गाउँलेहरुलाई परिचालन गरे । अविभावकहरुले वेपत्ता जोडी खोज्न काठमाण्डौंस्थित एसियन ट्रेकिङ्ग एजेन्सिज्लाई प्रयोग गरेका थिए । एनेन्सीले आ
फना अनुभवी र कुशल गाईडहरुलाई खोजतलास तथा उद्धारमा खटाएको थियो । कुनै पनि खाले सूचना दि
ए २ लाख रुपैयाँ नगद पुरस्कारको पनि घोषणा गरे । तर चारैतिर बाक्लो हिमपात थियो । १९ वर्षीया युवती लिउ चेन चुन संगैको वेपत्ता जोडी टेन्ट हालेर बसेको मेग्राङ्गमा र जान सक्ने संभावित पदमार्ग चारैतिर खोजतलास गर्यौं, कुनै पनि संकेत पाईएन ।
टेन्ट हालेर बसेका स्थान वरपरका चौंरीगोठहरु, भेडीगोठहरु खोज्यौं । हिउँ विलाउदैं भए पनि खोला खोल्सामा अझै पनि वाक्लो जमेकै थियो । हिउँ पग्लेर जमीन नभेटेसम्म मान्छे वा झोलालगायतका कुनै पनि संकेत फेला पर्ने संभावना कमै थियो । हामी निराश भएर फर्क्यौ । यसपाला फेला परेको स्थानमा त चारैतिरबाट खसेर वाक्लो हिउँ थुप्रेकोले झनै संभावनानै थिएन ।
दावा तामाङ
राजधानीबाट आएका उनीहरु कुनै पनि ट्रेकिङ एजेन्सीमार्फत नआएर एक्लै लुसुक्क नक्सा र जिपिएस उपकरणका आधारमा लाङटाङ्ग क्षेत्र घुम्ने प्रवेशाज्ञा लिएपनि कुनै पनि पथप्रदर्शक नलिएरै धादिङ सदरमुकाम हुँदै पैदल फागुन २२ गते तिप्लिङ्ग पुगेका रहेछन् । प्रवेशज्ञाको समय सकिने भएकाले उनीहरु हिडने दिन फागुन २६ गते देखिलगातार तीन दिन हिमपात भएको थियो । जोडीलाई होमस्टेमा २ दिन राखेका छिमेकी जोमसाई घलेले हिमपात भएकोले नजान आग्रह गरेपनि नक्सा र जिपिएस भएकोले हराउन नसक्ने जिद्धी गर्दै उनीहरु रसुवा जान करिव ३९ सय मिटर उचाईको पाङ्गसाङ्ग देउराली तिर उक्लेका रहेछन् ।
खोजतलास गर्न आएका ४ जना गाईडहरु माधव वस्नेत, पासाङ शेर्पा , शुकवहादुर आलेलगायतको टोली १० दिन खोजेर लखतरान भै चैत २३ गते काठमाडौं फर्के । हामी गाउँ फर्क्यौं ।
वैशाख पहिलो सातादेखि नै भएको हिउँ पनि पग्लन थाल्यो । चारैतिर खर उम्रन थाल्यो । खाल्डाखुल्डीमा सामान्य हिउँ बाहेक अन्यत्र हिउँ सवै विलायो । अव यसअघि नखोजेका खाल्डाखुल्डी र पाङ्गसाङ्गको पूर्वी पाखाबाट झर्ने तीन वटा खोलाका खाल्डा मात्रै हेर्न वाँकी थियो ।
जंगल घुमेर जडिवुटी खोजेर कमाई हुने आशा गर्ने हामीलाई वेपत्ता जोडी मृतक वा जिउँदैं पत्ता लगाउन सके २ लाख नगद पुरस्कारको आशा प्रवल थियो । हाम्रा लागि २ लाख ४ वर्षको कमाई हो । चारैतिर हिउँ विलाएको देखेपछि मैले एशियन ट्रेकिङ्गमा माधवजीलाई वैशाख ६ गते फोन गरेर अव चारैतिर हिउँविलायो खोज्न सजिलो हुन्छ होला, आउनुस् भनेर वोलाएँ । वहाँहरु वैशाख ८ गते हिडेर मेरो घरमा एक दिन वसेर फेरी ११ गते हामी लेकतिर लाग्यौं । म खाल्डा हेर्थे । वहाँहरु आकाशमा सिनो खाने उडेका गिद्धहरु हेर्नु हुन्थ्यो । ११ गते र १२ गतेको दिन पहिले हेर्न नसकेका खाल्डाखुल्डी र गिद्ध हेरेरै अनुमान लगाएर समय खेर फल्यौं । अव मेरो आशा त्याँग्रोभीरको फेदीमा हेर्नु थियो । उक्त भीरवाट खसेका गाईवस्तुहरु, चौंरीहरु कैयन पटक हामीले फेला पारेका थियौं । हामीसँग खानाका रुपमा चाउचाउ, भुटेका मकै र सातु मात्रै थियो ।
ताइवानी जोडीले हराएपछि ४७ दिन विताएको क्षेत्र ।
१३ गते माधव सर, पासाङ्गहरु आकाशमा घुम्दै गरेका गिद्धहरु हेरै लख काट्दै हुनुहुन्थ्यो । म विहानै सातु खाएर पाङ्गसाङ्गबाट मैलुङ्ग खोलातर्फ झर्ने खोलाबाट झरेर नारचेत खोला मिल्ने दोभान पुगें । केही फेला परेन । टन्न निगालो घारी छिचोल्दै फेरी म नारचेत खोलातर्फ उक्लें । उक्त खोलामा क्रमस : एक पछि अर्को गरि तीन वटा झरना छन् । पहिलो झरना त सहजै पार गरें । तर, दोस्रो झरना पार गर्न मैले लगाएको गमवुट फुकालेर वोक्नु पर्यो । दोश्रो झरना पुग्न मैले निकै कठिनाई व्यहोर्नु पर्यो । घोरलले वनाएको डोरेटोमा हिडेर दोस्रो झरना नजिकै पुग्न नपाउदैं पेर्लुखर्क मुनीको सानो ओडार र ओडार बाहिर हरियो रंगको ठुलो व्याग देखें, नजिकै प्लाष्टिकका पोका र भित्र पट्टि मैले स्लिपिङ्ग व्यागमा मान्छे सुतेको देखें ।
त्यतिवेला विहानको ११ वजेको थियो । मलाई लाग्यो, दुवैको मृत्यु भैसके छ । मलाई माधवहरुले वेपत्ताका कुनै पनि चिजहरु नछुनु, खवर गर्नु भनेका थिए । म यो जोडी खसेको मुलवाटो सम्म पुग्न २६ मिनेट लाग्यो । कराएर माधवलगायतका साथीहरुलाई वोलाउन खोजें । नारचेतमा रहेकाहरुले निकै वेरपछि सुने । मैले तल झर्न भनें । माधव र म पुन: झर्यौं । ओडारमा सवै भन्दा पहिले म पुगें । म पुग्ने वित्तिकै टाउको मात्रै निकालेर युवकले पुलुक्क हेरे । मैले चिच्च्याएर जिउदैं छन् भनें । उनले नमस्कार गरे मैले नमस्ते फर्काएर हात मिलाएँ । उनी खुसीले रोए । सुकेको रुखको लिस्नो गराएर माधवलाई ओह्रालें । अग्रेजीमा कुरा गर्न थाल्नु भयो । श्रीमती खोई भन्दा श्रीमती हैन केटी साथी हो । तर तीन दिन अघि मर्यो भने । कसरी मर्यो भन्दा निकै आत्तिएर मर्यो भने । जिउँदैं देखेपछि अव यस्लाई घाममा राख्नु पर्छ र तत्काल खानाको व्यवस्था गर्नुपर्छ भनेर सल्लाह गर्यौं । युवती टेन्ट ओडेर मृत्यु भएको थियो । मैले वोक्न खौज्दा सहजै ढाडमा आए । मैले घाममा राखें ।
खानै नपाएर अशक्त भएका युवकलाई तत्काल तातो र पोषिलो खाना दिन जरुरी थियो । माधव सरलाई कुर्न लगाएर म फेरी नारचेत उक्लें । आगोमा आलु उसिन्दै गरेका पासाङ्गलाई युवक जिउँदैं फेला परेको खुसीको कुरा सुनाएर चाउचाउको सुप मात्रै वनाएर वोतलमा हालेर फर्कें । पासाङ्गले स्याटेलाईट फोनबाट राजधानी खवर गरि उद्धारका लागि थप मद्दत र हेलिकप्टर वोलाए । मलाईसमेत हेलिकप्टरमा राखेर पाईलटले स्थान निर्क्यौल गरि फेरी नारचेतमा ल्याण्ड गरेर दुवैतर्फका ढोका निकालेर डोरी मार्फत एक जना शेर्पा तर झारे । वेपत्ता जोडी र अन्यलाई लैजान अर्को हेलिकप्टर पनि मगाईयो ।
हराएको ४७ दिनपछि जिउदै भेटिएका ताइवानी युवा राजधानीको ग्राण्डी अस्पतालमा जन्मदिन मनाउँदै । साथमा दावा ।
युवकलाई यौटा हेलिकप्टर र मलाई युवतीको लाशसंग काठमाण्डौं ल्याई अस्पताल पठायो । अविभावकहरुको आग्रहमा शनिवारसम्म युवतीको दाहसंस्कार स्वयम्भुमा गरुन्जेल बसें । यता युवतीको दाहसंस्कार गरिएको थिएन । अर्को जीवन पाएका युवकको अस्पतालमै जन्मदिनको केक काटिंदै थियो । उक्त घटनाले दुवैतर्फका अविभावकहरु असुन्तष्ट थिए ।
खोजतलाश गरे वापत मलाई घोषणा गरेको पारिश्रमिक दिन सोमवार ट्रेकिङ्ग एजेन्सीले वोलाएको छ । पुरस्कारको दावी एजेन्सीका गाईडहरुले पनि गरेका छन् । तर सवै भन्दा पहिले पत्ता मैले लगाएको हुँ । अरु दुई दिन ढिला भएको भए युवकको पनि मृत्यु हुने थियो ।
काठमाण्डौं ल्याएपछि भोलीपल्टका विभिन्न पत्रपत्रिकाहरुमा मेरो नाम कान्तिपुर बाहेक कतै भेटिन । मेरो भन्दा हेलिकप्टरको वढी चर्चा गरेको पाईयो ।
(हरिहरसिंह राठौर र कञ्चन अधिकारीले हराएको ४७ दिनपछि भेटिएका ताइवानी जोडीको उद्दारमा खटिएका दावासँग गरेको कुराकानीमा आधारित)
प्रकाशित: वैशाख १७, २०७४
Comments
Post a Comment