Skip to main content

देउवाले भन्नुभयो – ‘महाधिवेशनबाट अन्यायको बदला लिनुस्, जितेर आउनुस्’

आंगेलु शेर्पा, सभापति, नेपाली कांग्रेस, सोलुखुम्बु

ang-gelu-sherpa final

-नेपाली कांग्रेस १३ औं महाधिवेशन बिशेष-

क्रियाशील सदस्यता विवाद किन भयो सोलुमा ?
सोलुखुम्बुमा खास गरी अघिल्लो बर्ष वितरण गरिएको नयाँ क्रियाशील सदस्यलाई मताधिकार दिने कि नदिने भन्नेकै हो । त्यसलाई पहिला छानविन समितिले केही गाविसलाई दिने केहीलाई नदिने निर्णय गर्यो । अहिले पदाधिकारी समितिमा नाममा नयाँ कसैलाई पनि मताधिकार नदिने र १२ औं लाई मात्र निरन्तरता दिने जुन निर्णय गर्यो । हामी यसैको विरुद्ध आन्दोलनमा हौं ।
छानविन समितिले कुनै गाविसलाई दिने र कुनैलाई नदिने निर्णय किन गरेछ ?
छानविन समितिले किन यस्तो गर्यो भनेर हामीलाई बताएको पनि छैन । न त कुनै स्पष्ट पार्ने काम पनि समितिबाट भएको छैन । हामीलाई समितिको प्रतिवेदन देखेर अचम्म किन लाग्यो भने एउटै माईन्यूटबाट पारित भएर विधान बमोजिम भरेर पठाईएका कतिपय गाविसका नयाँ सदस्यलाइ मान्यता दिने अनि कतिलाई नदिने । जब कि लाग्ने दस्तुर देखि सबै प्रक्रियाहरु पुरा गरेर गाउँ तहबाट आएका नयाँ सदस्यता फारमलाई जिल्लाले पठाएको अवस्थामा किन यस्तो खालको विभेद भयो । समितिलाई कहाँ निर यस्तो आशंका भयो । हामीले बुझ्न पाएका छैनौं ।
तपाईले एकलौटी रुपमा सदस्यता वितरण गर्नुभयो भनेर पार्टी केन्द्रीय कार्यालयमै एउटा पक्ष अनसनमा बसेको थियो नि ?
क्रियाशील सदस्यता वितरणको एउटा प्रक्रिया छ । जुन हामीले बनाएका होइनौं । केन्द्रीय कार्यसमितिले दिएको निर्देशन अनुसार हामीले जिल्लामा काम गर्ने हो । त्यही अनुसार क्रियाशील सदस्यताको बैठक बसेको थियो । त्यसलाई अनुमोदन गर्न पनि बैठक बसेको छ । प्रत्येक बैठकमा बलबहादुर जी (केसी ) लगायतका साथीहरु उपस्थित भएर पनि हस्ताक्षर गर्नुभएको छ । बलबहादुर केसीसहितका सबै पुराना सदस्यता भएका साथीहरु नविकरण भईसकेको छ । त्यसकारण किन उहाँहरुले यसलाई एकलौटी भनेर राजनीतिक स्ट्याण्डका रुपमा प्रचारबाजी गर्नुभयो । मलाई थाहा छैन ।
केसीलगायतका नेताहरुले त आफुहरुको नविकरण नै नभएको भनेर भन्दै आउनुभएको थियो ?
यो मलाई बद्नाम गराउने अभिप्रायले उहाँहरुले यस्ता गतिविधि गर्नुभएको हो । होइन भने क्रियाशील सदस्यता नविकरण भएको कुरा छानविन समितिलाई पनि थाहा थियो । पार्टी केन्द्रीय कार्यालयलाई पनि थाहा थियो । तर कसैले पनि खण्डन गरिदिएन । यसकारण यथार्थता जे हो त्यो कुरा समिति र केन्द्रीय कार्यालयले बाहिर नल्याउँदा एकप्रकारको भ्रम छर्न उहाँहरु सफल हुनुभयो । यो राजनीतिक पूर्वाग्रहबाट निर्देशीत हत्कण्डा शिवाय अरु केही थिएन । मैले यति सम्म भनेको थिए कि यदी बलबहादुर केसी लगायतको सदस्यता नविकरण नभए म त्यही दिन देखि राजीनामा गरिदिन्छु । तर हामीले नविकरण भएको छ भन्दा पनि उहाँहरुले यसलाई स्वीकार गर्नुभएन किन कि यो प्रोपागाण्डा नै हाम्रा विरुद्ध थियो ।
नयाँ सदस्यतालाई रोक्ने पदाधिकारीको निर्णयलाई कसरी लिनुभएको छ ?
पदाधिकारी समिति भन्ने नेपाली कांग्रेसको सामान्य विधानको जानकारी राख्नेलाई के थाहा छ भने पदाधिकारी भन्ने शब्द नेपाली कांग्रेसको विधानमा छैन । नेपाली कांग्रेसको विधानले नचिन्ने निकाय हो त्यो । सोलुको सन्दर्भमा के भनेको छ भने क्रियाशील सदस्य नविकरण गर्न सकिने छ । उसले केन्द्रमा एकमुष्ट शुल्क बुझाएर सदस्यता नविकरण गर्न सकिने छ । त्यो क्रियाशीलसदस्य नविकरणको मिति पनि छैन । अनुशासनको कारवाहीमा परेकाहरुको  हो कि होइन, त्यो पनि टुंगो छैन । किनभने तपाईको पत्रिकामार्फत म के जानकारी गराऔं भने केही साथीहरु पार्टी छोडेर अरु पार्टीको जिम्मेवार पदमा हुनुहुन्छ । यतिबेला के देखियो भने, हिजो १२ औं महाधिवेशनमा क्रियाशील भएका तर पछि अरु पार्टीमा गएका साथीहरुको क्रियाशील सदस्यता नविकरण गर्ने र उनीहरुलाई हाम्रो विरुद्ध प्रयोग गर्ने चालबाजी देखियो । यो त एकप्रकारको धाँधली नै हो । जुन हामीलाई स्वीकार्य छैन ।
धाँधली कसले गर्यो ?
कुनै एउटा पक्षमात्र छैन । छानविन समितिको काम पनि पूर्ण रुपमा निष्पक्ष हुन सकेन । समस्या यहाँ पनि देखियो । एउटै प्रक्रिया र विधिबाट नयाँ सदस्यता फारम भरेर पठाइएका मध्ये केहीलाई मान्यता दिने र केहीलाई नदिने कार्य आफैमा विरोधाभासपूर्ण छ । यता समितिको प्रतिवेदन विरुद्ध अनसन बस्ने साथीहरु जो मलाई बद्नाम गराउन चाहन्छन् उनीहरुको स्वार्थ भनेको पार्टी बलियो बनाउने भन्दा पनि आंगेलुलाई समाप्त गर्नुपर्छ भन्ने छ । अर्काे कुरा पदाधिकारीले जसरी हावादारीमा रुपमा कुनै विधिविधान नमानेर आफु पक्षीय निर्णय गरेको छ । यी सबै धाँधलीका कारक हुन् । किन भने यहाँ प्रष्ट के छ भने जिल्लाको निर्णय विरुद्ध जिल्लाकै केही साथीहरुले धाँधली गर्न पार्टी नेतृत्वलाई प्रस्ताव गरे, नेतृत्वले पदाधिकारीका नाममा त्यसलाई अनुमोदन गरिदियो । बलबहादुर केसीजी जस्ता केन्द्रीय नेताहरुले पार्टीको विधान मान्ने कि नमान्ने ? पैसा बुझाएकै भरमा कोठामा बसेर क्रियाशील सदस्यता नविकरण गर्ने र नयाँ वितरण गर्ने कुरा मान्य हुन सक्दैन ।
नयाँ सदस्यतालाई मान्यता नदिदा पार्टी संगठनमा यसले कस्तो असर पार्छ ?
सोलुमा नयाँ सदस्यता १३ सय ५० ले लिनुभएको छ । त्यसले के गर्छ भने नेपाली कांग्रेसले नयाँ सदस्यता वितरण गर्न रोकेको ६ बर्ष भइसकेको छ ।  ६ बर्षभित्र नेपाली कांग्रेसभित्र सक्रिय रहेका, सांगठानिक रुपमा हुर्किएकाहरुको धेरै ठूलो पंक्ति छ । ति सबैलाई क्रियाशील सदस्यलाई सदस्यताबाट रोकिदिदा र मताधिकारबाट बञ्चित गराउँदा उनीहरुमा पार्टीप्रति नै नैराश्यता आउँछ । ६ बर्ष कुरेका कार्यकर्ताहरुले अब थप पाँच बर्ष कुर्नुपर्ने हुन्छ । ११ बर्षसम्म कांग्रेसमा आवद्ध र क्रियाशील हुँदा पनि मताधिकार नपाउने हो भने किन कांग्रेस बन्ने भन्ने सोचाई यूवाहरुमा आउन सक्छ । यसले पार्टीप्रतिको आकर्षण घटाउँछ । यो त अन्तत पार्टीका लागि नै घातकको हो नि । सोलुको सन्दर्भमा कुरा गर्ने हो भने नयाँ नगरपालिकामा प्रतिनिधिको समस्या हुन्छ । यसकारण क्रियाशील सदस्यतासमेत नदिने पार्टीमा किन बस्ने भनेर उसमा पार्टीप्रति वितृष्णा उत्पन्न हुन सक्छ । त्यसैले गर्दा पार्टीलाई त यति बेला ६ बर्ष अगाडिकै अवस्थामा पु¥याईदियो ।  ६ बर्ष अगाडि जनमतका आधारमा पार्टी चलाउन खोज्दा यसबीचमा पार्टीमा खटिएका र नेतृत्वमा आएका साथीहरुको मूल्यांकन कहाँनिर भयो त ? यो कुरा नेतृत्वले बुझ्नुपर्दैन ?
नेतृत्व यतिसम्म अबुझ त पक्कै छैन होला ?
पार्टी नेतृत्व बुझ्ने खालको भए यो समस्या नै आउँदैथियो नि । नेतृत्वलाई पार्टी बचाउने भन्दा पनि आफ्नो गुट कसरी बचाईराख्ने भन्ने बढी चिन्ता छ । नेतृत्व सबैको नेता बन्न सकेको छैन । आफुभन्दा फरक विचार राख्ने या असहम पक्षलाई समाप्त पारेर गुट बलियो बनाउने ध्याउन्नमै नेतृत्व भएपछि यस्ता खालको समस्याहरु पार्टीभित्र आईरहन्छन् । नयाँ सदस्यलाई मताधिकार नदिने अनि आफैले गठन गरेको छानविन समितिको प्रतिवेदन नमान्ने नेतृत्व नेपालमा मात्र होइन, दुनियाँमै विरलै पाईन्छ होला ।
पदाधिकारी निर्णयविरुद्ध अनसनमा बस्नुभएको थियो । फेरी रोक्नुभयो किन ?
हामीले अनसन रोकेका होईनौं । स्थगित मात्र गरेका हौं । हाम्रा बरिष्ठ नेता शेरबहादुर देउवाले हामीलाई अपिल गर्नुभयो कि अब अनसन होइन, अधिवेशनतर्फ लाग्नुस् भनेर । हामी अनसनकारी साथीहरुले पनि के सोच्यौं भने अब नेपाली कांग्रेसको नेतृत्व अधिवेशन नगराएर पटक पटक सार्दै यहाँसम्म पु¥याएको छ । अब फेरी हामीले अनसन जारी राख्यौं या विबादकै रुपमा अगाडि लग्यौं भने यसले पार्टीको राष्ट्रिय अधिवेशन स्थगित गर्न नेतृत्वलाई बहाना बन्न सक्छ भन्ने खतरा हामीले देखे पछि अनसनलाई स्थगित गरेर नेतृत्वको विधानविपरीत कार्यलाई देशव्यापी भण्डाफोर कार्यक्रमका रुपमा तल्लो तहका कार्यकर्तासम्म बहसका रुपमा लैजाने निर्णयमा हामी पुग्यौं । १३ औं महाधिवेशनसम्म हामी अब यो अभियानलाई गाउँतहसम्म लैजान्छौं । विरोधको स्वरुप परिवर्तन गरेका हौं ।
अब जिल्ला फर्किएर अधिवेशनमा जुट्नुहुन्छ ?
हो । अब हामी जिल्ला जान्छौं । पार्टी नेतृत्व र पदाधिकारीका नाममा भईरहेका विधि विपरीतका कार्यहरुको भण्डाफोर पनि हामी संगसंगै गर्छौ ।
तपाई जिल्लामा दोहोरिने चर्चा पनि छ, बास्तविकता हो ?
अहिले कुनै निर्णय भइसकेको छैन । हामी जिल्लाका साथीहरुसंग छलफल र परामर्शमै छौं । यति मात्र होइन, देशभरका जिल्ला सभापतिहरुको बैठक काठमाडौंमा दुई पटक सम्पन्न भइसकेको छ । केही साथीहरुले केन्द्रीय समितिमा लड्ने भनेका छन् । अब हामी पनि जिल्लामा गएर सरसल्लाह गर्छौ । जिल्लाका साथीहरुको रायका आधारमा के गर्ने भन्ने निर्णय गर्छौ ।
तपाई आफु जिल्लाको नेतृत्व तहमा भएको नाताले केन्द्रीय नेतृत्वको मूल्यांकन कसरी गर्नुभएको छ ?
अहिले पदाधिकारीका रुपमा मात्र नेतृत्व सीमित भयो तर नेता बन्न सकेन । यो यथार्थता हो ।
कसरी ?
किनभने नेता भएपछि उसले नेतृत्व गर्न सक्नुपर्छ । अहिलेको पार्टी सभापति केलब पदाधिकारीका रुपमा मात्र उहाँ सीमित हुनुभयो । नेता बन्न सक्नुभएन । नेतामा हुनुपर्ने क्षमता र कार्यशैलीमा उहाँमा देखिएन । दोस्रो कुरा, यो पाँच बर्षको समयावधिमा नेतृत्वले पार्टीलाई जसरी अगाडि बढाउनुपर्ने थियो । त्यसरी पार्टी सञ्चालन गर्न सकेन । अपवाद बाहेक भातृसंस्थाबाहेक धेरै जस्तो भातृसंस्था मृतप्राय भईसकेका छन् ।  भातृसंस्थाको लिष्ट छ तर उनीहरु कुन अवस्थामा छन् भनेर भन्न सक्ने अवस्था छैन । बर्षाै बर्ष यता देखि भातृसंस्थाहरुको महाधिवेशन हुन सकेको छैन । पार्टीभित्र जुन निष्पक्ष निकाय हो र उसको निर्णयलाई अन्तिम मान्ने परम्परा छ, त्यो परम्परा समेत तोडेर सभापतिले आफ्नै नेतृत्वमा, आफ्नै अग्रसरतामा अगाडि बढ्न खोज्नुभयो । क्रियाशील छानविन समिति त्यसैको उदाहरण हो । त्यसले के देखाउँछ भने पार्टीभित्र जुन खालको निष्पक्षता, सबैलाई मिलाएर लैजान सक्ने नेतृत्व देखिएन । भातृसंस्थालाई जुन अवस्थामा यति बेला पु¥याउने काम भयो नेतृत्वबाट, पार्टीलाई पनि त्यही अवस्थामा पु¥याउने अवस्था आयो । विधान नमान्ने, एकलौटी निर्णय गर्ने, भातृसंस्था जुन लथालिंग अवस्थामा छन् पार्टी नै यति बेला त्यही अवस्थामा पुग्नुमा नेतृत्वको सबैभन्दा ठूलो कमजोरी हो । यदी कांग्रेसलाई बचाउनु छ भने, कांग्रेसलाई सवलीकरण गर्ने हो भने र कांग्रेसलाई शसक्त र जीवन्त पार्टी बनाउने हो भने नेतृत्व परिवर्तन अनिवार्य र अपरीहार्य बनिसकेको अवस्था हो ।
नेतृत्व स्वेच्छाचारी भयो ?
एकातिर स्वेच्छाचारी पनि भयो अर्काेतर्फ असफल पनि भयो । नेतृत्वको स्वेच्छाचारीले पार्टी नै कमजोर र चलायमान हुन सकेन । संगठन चुस्त बन्न सकेन । पार्टी सञ्चालनमा मात्र होईन कि राष्ट्रिय राजनीतिमा पनि नेतृत्व असफल सावित भइसक्यो । जहाँसम्म तपाईले सोध्नुहोला, आमनिर्वाचन कसरी पार्टीले जित्यो भनेर । संविधान सभाको दोस्रो निर्वाचन अघि चार वटा कम्यूनिष्ट प्रधानमन्त्रीहरु बनिसकेका  थिए तर उनीहरुले देशलाई संविधान दिन सकिरहेका थिएनन् । यस्तो अवस्थामा सत्ता विरोधी भोटको ठूलो बाहुल्यता देखियो । जसको परिणाम हामीले चुनाव जित्यौैं । हाम्रो नेतृत्वले केही गर्छ कि भन्ने अपेक्षाले भन्दा पनि अरुको असफलताको भोट हाम्रो पक्षमा आयो । तर यस्तो भोट स्थायी हुँदैन ।
नेतृत्वप्रतिको तपाईको व्यक्तिगत प्रतिशोध हो या नेपाली कांग्रेसका नेता कार्यकर्ताको भनाई हो यो ?
मेरो आक्रोश होइन नेतृत्वसंग । आदरणीय सभापति सुशील कोइरालालाई हामीले त्यागी नेताकै रुपमा सम्मान गरेका छौं । तर कुरा के हो भने उहाँको साढे पाँच बर्षसम्मको कार्यकाल देश दुनिया सबैले हेरिसकेको छ । यति मात्र होइन यहीबीचमा उहाँको प्रधानमन्त्रीकाल पनि सबैले अनुभव गरिसकेका छौं । उहाँको कार्यशैली र कार्यक्षमताबारे कोही अनविज्ञ छैन । सरकारमा रहँदा हामीले सरकारको नेतृत्व गरेपनि एमालेको छायाँमा सरकार परेको देखियो । एमालेको लाचार छाँयाको रुपमा सरकार देखियो । त्यसकारण यति बेला नेपाली कांग्रेसका आम नेता कार्यकर्तामा अब सुशील कोइरालाबाट थप कुनै अपेक्षा छैन । सरकारको नेतृत्वका रुपमा होस् या पार्टी सभापतिका रुपमा अपेक्षा छैन । जोबाट कुनै अपेक्षा नै छैन, जो बाट केही हुन्छ भनेर आश नै गर्ने अवस्था छैन र जोबाट भविष्यप्रति पनि कुनै आशा नै रहेन भने उही व्यक्तिलाई निरन्तरता दिनुको कुनै अर्थ छैन ।
तपाईले भनेजस्तै सहजै नेतृत्व हस्तान्तरण हुने अवस्था  देख्नुहुन्छ ?
तपाईले भनेजस्तै वर्तमान नेतृत्वबाट सहजै नेतृत्व हस्तान्तरणको अपेक्षा त कसैले गरेको छैन । तर महाधिवेशनबाट लोकतान्त्रिक विधिबाट नेतृत्व परिवर्तन हुनेमा कुनै आशंका छैन । क्रियाशील सदस्यताबाट नै अहिलेको नेतृत्वले धाँधली सुरु गरिसक्नुभयो । यो त संस्थागत धाँधली हो । तथापी उहाँले के हिसाव किताव गर्नुभएन भने दुई चार जिल्लाको सदस्यता रोकिदिदा त्यहाँबाट दुई चार भोट बढी आउला तर नेतृत्वको गलत निर्णयले देशव्यापी पार्ने प्रभावबारे भने उहाँले बुझ्न सक्नुभएन । नयाँ सदस्यता रोक्ने र उनीहरुलाई मतदानबाट रोक्ने सभापतिको निर्णयले देशव्यापी उहाँप्रति बढेको आक्रोश, मनोबैज्ञानिक प्रभाव र यसले महाधिवेशन पार्ने असरबारे त उहाँलाई ज्ञान भएन । यस्तो गैरजिम्मेवार नेतृत्वको निरन्तरता कुन कांग्रेसले चाहला र ?
नेतृत्व परिवर्तन अनिवार्य बन्यो होईन ?
कांग्रेसलाई बचाउनुछ, यसलाई थप सवलीकरण गर्नुछ, यसलाई सबैभन्दा ठूलो पार्टीका रुपमा निरन्तरता कायम गर्नुछ र पार्टीलाई ऐतिहासिक जिम्मेवारीबाट विमुख गराउनु छैन भने अहिलेको नेतृत्व कुनै पनि हालतमा परिवर्तन हुनैपर्छ । अब यो पार्टी अहिलेको नेतृत्वबाट चल्न सक्दैन ।
तपाईले भनेजस्तो नयाँ नेतृत्व हामीसंग छ त ?
सर्बगुण सम्पन्न नेता हामीसंग छ भनेर म दावी गर्दिन । तथापी जे उपलब्ध छ त्यो भित्रको असल खोज्ने हो । हामीसंग त्यो खालको नेतृत्व छ । र अब महाधिवेशनबाट हामीले खोजेको नेतृत्व आउँछ । यो कुनै एक दुई नेताहरुको स्वार्थ कचहरी होईन । यो त लाखौं लाख नेता कार्यकर्ताको स्वार्थ, लाखौंलाख प्रजातन्त्रवादीहरुको आस्थाको केन्द्र, उनीहरुको प्रतिवद्धताको जाहेरी हो नेपाली कांग्रेस । त्यसकारण साझा अस्तित्व बचाउनका लागि पनि नेतृत्वका परितर्वन अनिवार्य छ ।
स्थानीय अधिवेशन केही साता सार्ने चर्चा  नि ?
हामी अनसनमा रहँदा यो खालको चर्चा हामीले पनि सुन्यौं । हामीले अनसन तोड्नुको मूलकारण पनि यो हो । हाम्रो अनसन अधिवेशन पर धकेल्ने बहानाका रुपमा प्रयोग नगरियोस् भन्ने सोचेर नै तत्काल स्थगित गर्नुपर्छ भनेर हामीले निर्णय गर्यौं । किनभने हामी कुनै पनि बहानामा अधिवेशन सार्नपर्छ भन्ने पक्षमा छैनौं । चाँडो भन्दा चाँडो अधिवेशन गराएर त्यो असक्षम नेतृत्वको अन्त्य हुनुपर्छ भन्ने पक्षमा छौं ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।