६ फागुन, सोलुखुम्बु। सोलुखुम्बुको अत्यन्तै विकट क्षेत्र कोसीपारीका गाउँमा पहिलोपटक सडक यातायातको साधन पुग्दा स्थानीयवासीले खुसीयाली मनाएका छन् ।
आज दूधकोसीको दिप्लीघाटबाट तारेर पावै गाविसमा एउटा जीप र एउटा ट्र्याक्टर पुर्याएपछि स्थानीयवासीले सवारीसाधन तथा चालकलाई फूलमाला र अबीर लगाउनुको साथै नाचगानसमेत गरेका थिए ।
केही महिनाअघि सोही दिप्लीघाटबाट पारी गएर डोजरले पावै गाविसमा सडकको ट्र्याक खोलेपछि आज पहिलोपटक जीप र ट्र्याक्टर पारी तारिएको हो ।
दूधकोसीभन्दा पारी रहेका र भौगोलिक रुपका अत्यन्तै विकट जिल्लाका वाकु, पावै, बुङ, छेस्काम, सोताङ र लोखिम गाविसका बासिन्दा सवारी साधन दूधकोसी तरेपछि खुसी भएका हुन् ।
जीप र ट्र्याक्टर कोसी तार्ने समारोहमा उपस्थित पावैका नीरज राईले आजको दिन कोसीपारीका बासिन्दाका लागि जीवनकै खुसीको दिन भएको बताए ।
Comments
Post a Comment