Skip to main content

‘बिमला दिदी’ जसले ५ सय रुपैयाँबाट व्यापार सुरु गरेर ४ वटा घडेरी जोडिन्



चिया धेरैका लागि लत हो। सहरका लागि त यो धेरै थोकको बहाना हो।कसैसँग भेटियो। के खाने ? सहज उत्तर हुन्छ– चिया। तलतल मेटाउने बहाना हो– चिया। चुस्की लगाउँदै एक–अर्काका कथा साट्ने बहाना हो– चिया।जसरी चिया पियक्कडहरु चुस्कीसँग गफका पत्र–पत्र खोल्छन्, चिया पकाउनेका पनि पत्र–पत्र कथा हुन्छन्।यस्तै एउटा कथा छ– ‘बिमला दिदी’को।नाम– बिमला पराजुली।ग्राहकले चिन्ने नाम–बिमला दिदी।
सहरमा चिया सहजै पाइने पेय पदार्थ हो। तर, ‘बिमला दिदी’ले उमालेको चिया खान लाइन नै बस्नुपर्छ। भर्रर आवाज दिइरहेको ग्यास चुल्होमाथि डेक्चीमा चिया पाकिरहेको हुन्छ। नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतर्फ पुरानो शिवदर्शन हलनजिकै साँघुरो गल्लीमा जस्तापाता बारेर बनाइएको चिया पसलमा जतिखेरै घुइँचो देखिन्छ। सुविधा सम्पन्न बस्ने ठाँउ छैन।बिमलालाई भ्याइनभ्याइ छ। दैनिक ५ देखि ६ सय कपसम्म चिया बेच्छिन्। जसबाट उनले मासिक करिब ६० हजार जोगाउँछिन्। पाँच सय रुपैयाँबाट सुरु भएको उनको व्यवसायले उति ठूलो रुप लिएको त हैन, तर उनले अहिलेसम्म काठमाडौंमै चारवटा घडेरी जोडिसकिन्। घरव्यवहार यसैबाट चलेको छ।यो उनले सजिलै पाएको उपलब्धी भने होइन। जसरी चियाबाट बाफ छुट्छन्, यो उपलब्धीका लागि उनको जीवनबाट १५ वर्ष लामो समय छुटिसकेको छ।बिमलाको संघर्षको कथा सुरु हुन्छ, भोजपुरबाट।

भोजपुरमा साधारण किसान परिवारमा जन्मिएकी बिमला पराजुली ७ कक्षा पढ्दै थिइन्। बाबुले काठमाडौं पठाइदिए। काठमाडौं आएर आफ्नो ठूलो बुवाको छोराको कोठामा बसिन्। आएको केही समयमै गार्मेन्टको काम पाइन्। काम गर्दा–गर्दै दाइका चिनजानका युवकसँग बिहे भयो। जतिबेला उनको उमेर १७ वर्षको थियो।उनी २१ वर्षको छँदा २०५८ सालमा छोरा जन्मियो। श्रीमान्ले जागिर त सुरु गरिसकेका थिए, तर परिवार ठूलो बन्दै गएपछि एक्लो कमाइले थेग्न नसक्ने भयो। विकल्प खोज्दै जाँदा छिमेकी महिलाले एकदिन उपाय सुझाइन्, ‘चिया पसल राख।’घरखर्च धान्न त धौ–धौ परेको मान्छेसँग पसल राख्ने पैसा कहाँ हुनु! उनै महिलाले आइडिया पनि दिइन्, ‘फुटपाथमा राखे उति खर्च लाग्दैन।’त्यसपछि सुरु भयो, पसल राख्ने ठाउँको खोजीकार्य। सडक–सडक भौंतारिन थालिन्। खोज्दै जाँदा बानेश्वरस्थित कान्तिपुर अस्पतालअगाडि धुमधुम्ती उभिइरहेको सुरक्षा गार्डलाई सोधिन्, ‘दाइ यहाँ अगाडि चिया पसल राख्न मिल्ला?’ती सुरक्षा गार्डले भने, ‘यहाँ धेरैले पसल राखिसके बैनी। नगरपालिकाले कसैलाई टिक्न दिए पो। तिमी १९÷२० बर्षको केटी के गर्न सक्छौ होला र?’उनले भनिन्, ‘हैन दाइ, छोराका लागि पनि मैले कमाउनु छ।’सुरक्षा गार्डले भने, ‘कति दिन टिक्न देला र नगरपालिकालेर? जे गर्छौ तिम्रो विचार।’बिमलाले जोखिम मोलिन्। पाँच सय रुपैयाँ मात्र खर्चेर स्टोभ, गिलास, चिनी, चियापत्ती किनिन्। र, भोलिपल्ट बिहानदेखि बाटोछेउमा पसल राखिन्।
‘पहिलो दिन त साह्रै लाज लाग्यो नि,’ भकभकी उम्लिएको चिया दिउरेले चलाउँदै उनी आफ्नो कथा सुनाउँदै थिइन्, ‘त्यो दिन नौ बजेसम्म बीस २० प्याकेट दुध सकिएपछि हतार–हतार झोलामा भाडाकुँडा कोचेर कोठामा गएँ। त्यो दिन निकै द्विविधा भयो, भोलिदेखि जाने कि नजाने? निदाइरहेको छोरोको अनुहार देखेपछि सोचेँ– उसको लागि मैले यस्ता सरम पचाउनुपर्छ। भोलीपल्ट बिहान तीनै बजे अघिल्लो दिनको भन्दा दस प्याकेट बढी दुध बोकेर गएँ। दोस्रो दिन त लाज पनि निकै कम लाग्यो।’
कम समयमै उनको चिया यति लोकप्रिय भयो, ग्राहकहरुले बेलुका पनि पसल राख्न सुझाव दिए। बेलुकी नगरपालिकाको डर झनै बढी हुन्थ्यो। उनले जोखिम मोलेरै बेलुकी पनि पसल राख्न सुरु गरिन्। छोरा काखी च्यापेर चिया पकाइरहेकी हुन्थिन्, नगरपालिकाका कर्मचारी हुर्रर झर्थे र भाँडाकुँडा उठाएर गाडीमा हाल्थे।भुइँमा पसल राखेर कमाएको पैसाले ठेला किनेकी थिइन्। जति छोरालाई माया गर्थिन्, उनलाई ठेलागाडाको माया उत्तिकै लाग्थ्यो। एकपल्ट डिएसपीले ठेलागाडामा लात्ती हानेछन्। बिमलाको पालो गालामा झापड लगाइदिइछन्। त्यसपछि प्रहरीले २४ घन्टा थुनामा राखिदिएछ।उनलाई त्यसरी फुटपाथमा राख्नु गैर–कानुनी हो भन्ने थाहा थियो। तर, विकल्प थिएन। अनेक उल्झन खपेरै भए पनि काखमा हुर्किँदै गरेको छोराको भविष्य सोचेर सुरु गरेको व्यवसायले राम्रो मुनाफा दिइरहेको थियो।त्यही छोरो ८ वर्ष लाग्दै गर्दा एक्कासी सिकिस्त बिरामी भयो। छोराको कुनै पनि अंग नचल्ने भयो। धामीझाँक्रीदेखि डाक्टरसम्म पुगिन्। झन्डै ६ महिनापछि छोरा विस्तारै तंग्रियो। बन्द भएको पसल फेरि चल्यो। 
पहिले कमाएको पैसा छोराको उपचारमै सकियो। अझ ऋण पनि लाग्यो। ऋण तिरेर पुरानै अवस्थामा फर्किइनन् मात्र घर भाडा तिरेरै पसल राख्ने स्रोत जुटाइन्। र, ७० सालबाट सुरु भयो उनको छानो हालेको पक्की पसल संघर्ष। जुन एक चरणको ठूलो सफलता थियो उनका लागि।विरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रपछाडिको कोठामा सुरु गरेको त्यो पसलमा पनि चिया पिउनेहरुको उत्तिकै भीड लाग्न थाल्यो। एउटा व्यापारीका लागि आफ्नो पसलअगाडि ग्राहकको भीड लाग्नु खुसीको कुरा हुन्छ। तर कहिलेकाहिँ त्यही भीड अरु कसैका लागि दुःखको कारक बनिदिँदो रहेछ। पसलका घरबेटीले भनेछन्, ‘पसलमा धेरै भीड भयो, हल्ला धेरै भयो। अर्को ठाउँ सर तिमी।’त्यसपछि उन बानेश्वरबाट पुरानो बानेश्वरतर्फ पुरानो शिवदर्शन हलनजिकै साँघुरो गल्लीमा आइपुगिन्। जस्तापाताले बेरेर पसल थापिन्। उनको चियाको स्वाद चाखेकाहरु पछ्याउँदै आइपुगे। उनले भने सफलतालाई पछ्याइरहिन्।
२०५८ सालबाट २०७३ सालसम्म आइपुग्दा भक्तपुरको बालकोटमा २ वटा घडेरी र तराईमा २ वटा घडेरी जोडिसकेकी छन्। छोरा ९ कक्षामा पढ्दैछन्।छोरा पनि फुटबलमा सफलता चुम्ने तरखरमा छन्। फुटबल राम्रो खेलेकै कारण विद्यालयले मासिक पाँच हजार छुट दिन्छ। गत वर्ष फुटबल खेल्नैका लागि अमेरिका गए। बिमलाले पाँच लाख खर्च गरिन्।३६ पुगेर ३७ वर्ष लाग्नै आँटेकी बिमलाले संघर्षबाट आफ्नै दर्शन बनाएकी छन्, ‘केही गर्छु भनेर सच्चा हृदय र आत्मादेखि लागी पर्यो भने सफल अवस्य भइन्छ।’

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।