सिन्धुली- विपी राजमार्ग सडकखण्डअन्तर्गत सिन्धुलीको शीतलपाटीमा पर्ने राजमार्ग सुनकोसी नदीमा खसेको छ। शीतलपाटी–९ वेनीघाट खाल्टेमा पर्ने विपी राजमार्गको झन्डै एक सय मिटर सडक गएराति सुनकोसी नदीमा खसेको हो।
राति ११ बजे सडक सुनकोसीतर्फ खसेको प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले जानकारी दिए। राजमार्ग किन र कसरी भत्कियो भन्ने यसै भन्न नसकिने उनको भनाइ छ। राजमार्गमा मोटरसाइकलसमेत नछिर्ने गरी राजमार्गको भित्तोसहित तल भासिएको प्रजिअ कार्कीले जानकारी दिए।
गएरातिदेखि राजमार्ग सम्बन्ध विच्छेद भएपछि अहिले सयौँ सवारी गन्तव्यविहीन बनेका छन्। विपी राजमार्ग, मध्यपहाडी लोकमार्ग भएर राजधानी तथा राजधानीबाट बाहिरिएका सवारी गन्तव्यविहीन भएका छन् भने यात्रु बिचल्लीमा परेका छन्। रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गालगायत पूर्वका अन्य जिल्ला तथा तराईका जिल्लाबाट राजधानी हिँडेका सवारीसाधन बीच बाटोमा नै थन्किएर बसेका छन्।
सिन्धुलीबाट राजधानी जाने साना तथा अन्य सवारीसाधन नजान र नलैजान सम्बन्धित व्यवसायीलाई जानकारी गराइएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ।
यस्तै महोत्तरी हुँदै सिन्धुली भएर राजधानी आउने सवारीसाधन नपठाउनसमेत महोत्तरीलाई जानकारी गराइएको बताइएको छ। राति देखिको सवारी आवागमन ठप्प भएको र वैकल्पिक व्यवस्था गर्न सडक विभागसँग आग्रह गरेको प्रजिअ कार्कीले बताए। राजमार्ग भत्किएर तल खसे पनि सवारीसाधनलाई गन्तव्यमा पु¥याउन आफूले पहल थालिरहेको उनको भनाइ छ।
Comments
Post a Comment