सोलुखुम्बु । स्थानीय बिकास अधिकारी कृष्णप्रसाद साप्कोटा माथि हातपात भएपछि सोलुखुम्बुमा रहेका सबै सरकारी कार्यलयका कर्मचारीहरुले मंगलबार बिरोध स्वरुप कामकाज ठप्प पारेका छन् ।
कार्यकक्ष भित्रै एलडिओमाथि हातपात भएपछि कर्मचारीहरुले सुरक्षाको माग र दोषिलाई कारबाहीको दायरामा ल्याउन भन्दै आन्दोलन सुरु गरेका हुन् ।
सोमबार सडक निर्माण सम्बन्धी काम गर्दै आएको ड्रिलिप परियोजनाका इन्जिनियर अमुल बस्नेत, नेबिसंघका पूर्ब केन्द्रीय सदस्य नबिन थापासहित ८ जनाले मदिरा सेवन गरी एलडिओमाथि हातपात गरेको जिबिसका कर्मचारीहरुको भनाइ छ ।
दोषीलाइ पक्राउ गरि कानुनी कार्बाहीको माग गर्दै कर्मचारीहरु कामकाज ठप्प पारी आन्दोलनमा उत्रिएका हुन् । सदरमुकाम सल्लेरी बजारमा कर्मचारीहरुले बिरोध र्याली गर्दै दोषीलाइ उन्मुत्ति नदिन माग गरेका छन् ।
उनीहरुले प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेलाइ ज्ञापन पत्र बुझाउँदै दोषी सबैलाइ पक्राउ गरेर कार्बाही प्रक्रिया अघि नबढाएसम्म काममा नर्फकने जनाएका छन् ।
ड्रिलिप परियोजना आगामी असार मसान्तमा सकिँदै छ । परियोजना सकिएसँगै जागीर धरापमा पर्ने भएपछि जिबिसमै काम लगाइदिन दवावसहित केही समयदेखि उनीहरु जिबिसमा धाइरहेका थिए ।
उनीहरुको जागीर जोगाइदिन दबाब दिँदै कर्मचारीहरुसँगै नेबिसंघका नेताहरु नबिन थापा, आश्विनबाबु थापालगायत पनि एलडिओ माथि हातपातमा संलग्न रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
आरोपी मध्ये इन्जीनियर अमुल बस्नेत, सब-इन्जीनियर बेदराज थापा र कार्यलय सहयोगी अशोक देबकोटा फरार छन् । अन्य ५ जना पक्राउ परेका छन् । फरारहरुको खोजी भइरहेको डियसपी माधब बुढाथोकीले जानकारी दिए ।
उनीहरुलाइ सार्बजनिक अपराध अन्तर्गत मुद्या दर्ता गरिएको छ । मुदा दर्ता गरिनेहरुमा इन्जीनियर अमुल बस्नेत, सब इन्जिनियर बेदराज थापा, कार्यलय सहयोगी रामबहादुर बस्नेत, देब बहादुर भुजेल, चालक अशोक देबकोटा, नेबिसंघका नेता नबिन थापा, अश्विनबाबु थापा र जीवन बस्नेत छन् ।
Comments
Post a Comment