दुधकुण्ड नगरपालिका ७, सोलुखुम्बुका विजय घिमिरेले यहि जुलाई २२ मा सगरमाथाको सफल आरोहण गर्नुभयो । करिव दश वर्षको आफ्नो सपना पुरा भएको बताउने घिमिरे ट्रयाक नेपालको सहयोगमा सगरमाथा आरोहण गर्नुभएको हो । पर्यटन क्षेत्रमा लागे पछि आफ्नो इच्छा तथा चाहानालाई फराकिलो पार्दै सगरमाथाको चुचुरोमा पुग्ने उहाँको इच्छा पुरा गरेर काठमाडौ फर्किएपछि उहाँसँग पत्रकार ओम विक्रम लम्सालले भट्नुभएको थियो । उहाँसँग गरिएको कुराकानी जस्ताको त्यस्तै :
सगरमाथाको सफल आरोहण कहिले गर्नुभयो ?
मैले जुलाई २२ तारिखको विहान ५ बजेर ५ मिनेट जाँदा आरोहण सम्पन्न गरेको हुँ ।
ग्रुपमा को को हुनुहुन्थयो ?
हामी छ जना थियौ । म थिए, चार जना शेर्पा दाईहरु हुनुहुन्थ्यो र एक जना अल्वानियको केटि साथी हुनुहुन्थ्यो ।
कुन चाँहि संस्थाको सहयोगमा चढ्नुभयो सगरमाथा ?
मलाई चाँहि ट्रयाक नेपाल नामक संस्थाले सहयोग गरेको हो । त्यस कम्पनीको सागर पौडेल, बाबुराम दाई, कुमार दाई, उहाहरुबाट ठुलो सहयोग थियो त्यस कारणले नै दलित समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्न म सफल भएका छु । मलाई के लाग्छ भने उहाँहरु हुनुहुन्न थियो भने दलित समुदायबाट यसरी सगरमाथा आरोहण गर्ने हामीहरुको सपना पुरा हुदैनथ्यो होला । आज उहाँहरुको कारणले यो काम गर्न हामी सफल भएका छौ । मेरो ठुलो सपना पुरा भएको छ ।
ट्रयाक नेपालले के के सहयोग गर्यो र ?
अहिले सम्म हामीहरुलाई कुनै पनि कम्पनीले सहयोग गरेको थिएन । अहिले सम्म ६४÷६५ वर्ष भयो सगरमाथा आरोहणको क्रम चलेको तर कुनै पनि दलित समुदायका मानिसहरुले यो मौका पाएका थिएनन् । यदि मौका दिएका भए कोहि कोहि त चढ्थे होलानी । त्यो हुन सकेन । तर ट्रयाक नेपालले चाहिँ दलितहरुलाई पनि सगरमाथा चढाउनुपर्छ । उनिहरुलाई पनि मौका दिनुपर्छ भनेर यो जिम्मेवारी उहाँहरुले लिनुभयो । हामीलाई आवश्यक पर्ने सम्पुर्ण समाग्रीहरुको व्यवस्था
गरीदिनुभयो ।
तपाईको सगरमाथा चढ्ने योजना चाँहि कहिले देखिको हो ?
यो योजना त मेरो ५ वर्ष भयो । त्यो भन्दा पहिले पनि म ट्रकिङ कै क्षेत्रमा काम गर्थे । मैले पर्यटकको लागी किचनमा काम गर्थे । पछि पछि मलाई पनि सगरमाथा चढ्न मन लाग्न थाल्यो । वेसक्याम्पमा रहदाँ नै मलाई सगरमाथा चढ्ने तिव्र ईच्छा भएर आएको हो । तर मैले त्यो इच्छा २ वर्ष सम्म कसैलाई पनि भनिन् किनभने मलाई हाम्रो सपनाहरु पुरा हुदैन भन्ने लाग्थ्यो । प्रमुख समस्या पैसाको पनि थियो । ज्यान नै जोखिममा हालेर जानु पर्छ । कोहि कोहि गएका मान्छेहरु फर्किदैन थिए, त्यो देख्दा आट भने आउदैन थियो । धेरै जान्ने मानिसहरु पनि समस्यामा परेको देख्दा र नफर्केको समाचार आउदाँ मेरो मनबाट सगरमाथा चढ्ने सपना भाग्थ्यो । तर पछि के लाग्यो भने हाम्रो दलित समुदायबाट आज सम्म सगरमाथा चेढेका थिएनन् । त्यसैले पनि मैले सगरमाथा चढेर दलित समुदाय पनि कम छैनन् अवसर दिएमा सगरमाथा पनि चढ्न सक्छन् भन्ने सन्देश दिन पनि यो आरोहण सफलताका साथ सम्पन्न गर्नुपरेको थियो ।
दलित समुदायको हकहितको लागी धेरै संस्थाहरु छन्, के उनिहरुले सहयोग गरेनन् ?
जव मैले सगरमाथा चढने सोँच बनाए त्यति वेला मसँग जोश थियो, जाँगर थियो, आत्मविश्वस थियो, तर त्यतिवेला मसँग पैसा थिएन् । त्यतिवेला मैले धेरै दलितको हितमा काम गर्ने संस्थाहरु, एन.जि.ओ., आइ.एन.जि.ओहरुलाई भने, झक्झकाए । अव दलित समुदायका मानिसले पनि सगरमाथा चढ्नु पर्छ भनेर भने, तपाँईहरुले सहयोग गरीदिनु पर्यो भनेर पनि भन्यौ तर कुनै संस्थाबाट पनि एक रुपैया सहयोग भएन । सहयोग भयो भन्ने हो भने दलित कल्याण संघले पाँच हजार रुपैयाँ सहयोग गरेको छ । धेरै संस्थाहरुमा हामी सयाँै पटक गयौँ तर हामीलाई निराश बनाएन पठाउने काम भयो ।
पछि मैले काम गरेको संस्था ट्रयाक नेपालको सागर पौडेल दाईले मलाई यसै कम्पनीमा काम पनि गर्ने र सगरमाथा चढ्ने पनि भनेर यो अवसर दिनुभएको हो । साथै उहाँले मलाई धेरै आत्मविश्वास पनि दिनुभयो ।
तपाँईले अघि संस्थाहरुले सहयोग गरेनन् भन्नुभयो, अव के भन्न चाहानुहुन्छ ?
मैले मेरो सगरमाथा चढ्ने सपना त पुरा गरे । तर आर्थिक हैसियत राम्रो भएका संस्थाहरुले पनि सहयोग नगरेको देख्दा मन खिन्न भएर आउछ, त्यसैले राम्रो काम कसैले गर्न खोज्छ भने त्यसको मनोवल गिराउने काम भने गर्न भएन । पछि फेरी कोहि अरु राम्रो काम गर्न आउला उनिहरुलाई भने सहयोग गरोस संस्थाहरुले । यहा त संस्था खोल्ने मात्र काम भएको हो की जस्तो लाग्यो मलाई, दलितको लागी पनि बजेटहरु छुट्टिन्छ भनेको सुनेका छौ, खै त्यो बजेट कता जाँदो रहेछ थाहा भएन । एउटा कुरा के भने उदयपुरबाट भने मलाई राम्रो साथ र सहयोग मिलेको थियो ।
बुवा आमाले के भन्ने गुर्नहुन्थ्यो तपाईको सगरमाथा चढ्ने इच्छा देखेर ?
आमाले त कहिल्यै पनि सगरमाथा चढ्ने अनुमति दिनुभएन त्यहा पुगर फर्केर नआएका मानिसहरु कति थिए त्यसैले पनि आमाले सधै नजानको लागी नै भन्नुहुन्थ्यो । झन् म जान भन्दा पहिले त २१ जनाको मृत्यूको खवर आएको थियो । यसरी मृत्यूले पर्खिरहेको ठाउँमा कुन चाहिँ आमाले छोरालाई त्यहाँ जाने अनुमति दिनुहुन्छ होला ।
सगरमाथा चढेर आउदाँ भने बुवा आमाको खुशीको सिमा नै रहेन । मेरो नाम रह्यो त्यसमा भन्दा पनि आमा म सकुसल फर्केर आएकोमा बढि खुशी हुनुहुन्थ्यो ।
अवको योजना के छ ?
अव मैले सगरमाथा त चढेँ । सपना पुरा हुँदै जादाँ सपनाहरु फराकिलो पनि हुदैँ जाँदो रहेछ । अव मेरो पाकिस्तानको केतु हिमाल आरोहण गर्ने इच्छा छ । नेपाल मै रहेको आठ हजार मिटर भन्दा माथीका हिमालहरु पनि चढ्ने छु ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
अन्त्यमा के भन्न चाहान्छु भने, हाम्रो नेपालमा पर्यटनको विकास गर्नुपर्छ अवको मेरो योगदान पनि यसैमा रहनेछ । नेपालमा पर्यटक भित्राएर नै नेपालीलाई खान पुग्छ हाम्रो ध्यान यता तिर जानुपर्छ । सगरमाथा आरोहण सम्पन्न भएपछि, मैले गरेको संघर्षको फल अहिले पाएको हो कि जस्तो लाग्छ । यति नै भन्न चाहान्छु ।
Comments
Post a Comment