Skip to main content

३१ बर्षदेखि लास जलाउँदैआएका घाटेको अनुभवः धनीको भन्दा गरिबको लास पोल्नु ठीक !

काठमाडाैं, असार २२ । आर्यघाट आफैँमा रहस्यमयी ‘लोकेसन’ हो । आर्यघाटमा हरेक दिन उस्तै शैलीमा लास जलाउने ‘घाटे’हरु को जीवन झनै रहस्यमयी हुन्छ । उनीहरुको पेशा नै लास जलाउने हो । पशुपतिनाथ मन्दिरतिर घुम्न जाने आम मान्छेलाई त्यस्ता ‘घाटे’हरुको दिनचर्या देख्दा लाग्छ, ‘मान्छे जलाउँदा जलाउँदै तिनीहरु यति रुखो भइसके की, अब रुन पनि बिर्सिसके ।’

तर त्यस्तो मात्रै हैन । दिनरात नभनी मरेका मान्छेहरु जलाउने जिम्मा लिएकाहरुलाई पनि आफ्नै दुख छ । उनीहरुको पनि भावना उस्तै छ, जस्तो आम मानिसको हुन्छ । पशुपति आर्यघाटमा सम्भवतः सबैभन्दा धेरै ३१ बर्षदेखि लास जलाउँदै बिताएका ६७ बर्षे ज्ञानबहादुरको दुखेसो उनकै शब्दमा :























मैले यही ठाउँमा लास पोल्ने काम गरेको ३१ बर्ष भयो । दुनियाले थुक्छन्, हेला गर्छन् । कस्तो घिनलाग्दो काम भन्छन् । कसैले अहो ! कस्तो राम्रो स्वर्ग तार्ने काम भनेर प्रशंसा पनि गर्छन् । कसको कुरा सुन्ने कसको नसुन्ने !

अन्तरवार्ता लिन भन्दै कति च्यानलहरु आए । अन्तरवार्ता दिइयो, ‘अहो ! घाटे बाहुन त हाँस्दै मुर्दा पोल्दो रैछ’ पनि भन्छन् । म पनि रहरले यस्तो काम गरेको त हैन नी । जति अन्तरवार्ता दिए पनि हुने केही होइन । बाहिरी दुनियाले त नराम्रो भन्यो । हाम्रै अफिसले समेत वास्ता नगर्दा झन दुख लाग्छ । त्यसैले अन्तरवार्ता दिन पनि मन लाग्दैन ।

यत्रो बर्ष काम गर्यौँ, ‘न ढोकाँ न बोकाँ ।’ का मगर्न नसक्ने भएपछि त ४÷५ लाख दिएर पठाइदिउँ न भन्ने पनि छैन । ४÷५ लाख भए त सास फेर्ने बेलासम्म खोले खाएरै भए पनि बस्न सकिन्थ्यो नी । हाम्रो तलव–सलव केही छैन । एउटा काम गरेको १ हजार ८० दिने भन्ने नियम हो । त्यो पनि मन लागेको दिन दिन्छन् नलागेको दिन छैन । नत्र काम गरेको दिन दुई–चार मोहोर पैशा देखिन्छ । त्यति नै हो ।

सुकुम्बासी परिवार
उमेरले ६७ बर्ष भएँ । अझै मेरो आफ्नो घर छैन । जस्ताको पाल हालेर बसिरहेको छु अहिलेसम्म । म सुकुम्बासी नै हुँ । परिवारमा ६ जना छन् । म एउटाले काम गरेर परिवारका सबैजनालाई पाल्नुपर्छ ।

मलाई लाग्छ, मेरो कुरा कसैले सुनेर केही हुने वाला छैन । पहिले त दिनको एउटा लासको काम हुन्थ्यो अचेल २ दिनमा एउटा काम हुन्छ । त्यही पैशाले घर हेर्ने, सबैथोक गर्ने हो । लास नजलाएको दिनमा पैशा हुँदैन ।

मान्छे मर्ने क्रम त उस्तै छ तर अचेल मेसिनमा लास जलाउन थालेपछि हाम्रो काम कम हुँदैगएको छ । आधा मानिस मेसिनमा ग एभने आधा यता आउँछन् । हामीले काम पाइएन भनेर मेसिनमा नलैजाउ भन्न पनि मिल्दैन ।

कसै–कसैले आफूखुसी २÷३ सय दिन्छन् त्यसैबाट भात खाने हो । यहाँ जस्ता मान्छे पनि आउँछन् । माग्ने देखि करोडौँपति यही ठाउँमा आइपुग्छन् । यत्रो दुख गर्नुपरेको छ । यीनीहरुले पनि पेट पाल्नकै लागि यस्तो दुख गरेको होला भनेर दुख बुझ्ने कोही हुँदैन । सबै टुप्पाबाट पलाएका मान्छे मात्रै देख्छु म त । दुनियालाई लुट्ने, पिट्ने मात्रै धेरै देखेको छु ।

आर्यघारटमा मलामीहरु पनि विहेको जन्तीमा आए झैँ सुट, प्यान्ट लगाएर आउँछन् । बाटो छोड्नु न भन्दा पनि अटेरी गर्छन् । आकाशमा हेरेर बोल्छन् । त्यस्तालाई रिझाएर काम गरिरहनु परेको छ । आखिर जीवनको अन्त्यमा सबै यहीँ आउनुपर्ने त हो नी सबै । कहिले कुहिएका लास पनि जलाउनु पर्छ । हामी गन्हाएको लास जलाइराखेका हुन्छौँ, कोही हाहाहा गरेर हाँसेर बसेका हुन्छन् । त्यस्तो गर्दा खिस्सी गरे जस्तो लाग्छ । दुख लाग्छ । म पनि मानिस हुँ । पेटकै लागि यस्तो दुख गरेको छ, यहीँ म पनि आउनु पर्छ भन्ने सोच्दैनन् कसैले ।

धनी भन्दा गरिब ठीक
धनी, गरिब सबै किसिमका मानिस जलाइयो । राष्ट्रिय सम्मान पाएका ठूला मान्छेलाई पनि जलाइयो । गिरिजाबावु, सुशील कोइरालाहरुलाई पनि मैले नै जलाएको थिएँ । धनी–गरिब जसलाई जलाउँदा पनि केही फरक छैन ।

धनीलाई जलाउँदा हामीलाई पनि केही पैशा दिएलान् भन्ने आश हुँदैन । उसका नजिकका अबौरे, धुपौरे, सिकौरेहरुले फाइदा लुट्छन् । चम्चागिरीहरु धेरै आएर यस्तो गर उस्तो गर भन्छन् । दुख मात्रै दिन्छन् । फाइदा चाहीँ उनीहरुले नै लिएर जान्छन् । मर्ने धनी मान्छेको सन्तानलाई पनि थाहा हुँदैन तिनै चम्चेहरुले फाइदा लुटेका हुन्छन् ।

विशिष्टको भन्दा बरु गरिब–दुखीको लास जलाउन ठीक लाग्यो मलाई । लास जलाउने पैशा पनि नभएकाहरुलाई बरु आफैँ घिउ किनेर हालिदिउँ जस्तो लाग्छ । यस्तो मैले धेरै पटक गरेको पनि छु । ठूला ठालूहरुले हप्की धप्की खानु भन्दा गरिब दुखीलाई आफैँ सहयोग गरेर लास जलाइदिन मन लाग्छ । धेरै गरिबको मैले आफैँले पनि खर्च गरेर लास जलाइदिएको छु ।

आखिर हाम्रो जीन्दगी त केही पनि हैन, एक मुठी सास फेर्न सकिन्जेल हो । त्यसपछि माटो नै त हो । कतिपय त यहाँ आएर रुन्छन् । कसैलाई सम्झाउन पनि मन लाग्छ । धैर्य गर्नुस् भनेर सम्झाउँछु, तर सम्झाउँदा सम्झाउँदै म आफैँ पनि रोएको छु । २÷३ पटक लास जलाउँदा म आफैँ रोएको छु । हामीलाई पनि रुन मन त लाग्छ नी ।

(फरसी नेटवर्क युट्युब च्यानललाई दिएको अन्तरवार्तामा आधारित)

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।