काठमाडौं १२ बैशाख । सगरमाथा हिमपहिरोमा परी १३ जना आरोहीको ज्यान गएपछि सगरमाथा आरोहण गर्ने कि नगर्ने भन्ने मनस्थितिमा रहेका आरोहीहरुको ध्यान संविधान सभातिर सोझिन थालेको छ । हिमपहिरोको क्षतिबारे अध्ययनका लागि विहीबार सगरमाथा आधारशिवीर पुगेको पर्यटन मन्त्री सहितको उच्चस्तरीय प्रतिनिधीमण्डल समक्ष उनीहरुले संविधानसभामा कम्तीमा तीनजना शेर्पा मनोनित गर्नुपर्ने माग रहेका हुन् ।
संविधानसभामा मनोनित गर्न बाँकी २६ सदस्यमा तीनजना शेर्पा मनोनित गर्नुपर्ने, सम्पर्क अधिकृतमा सरकारी कर्मचारी हटाएर शेर्पालाई मात्र पठाउनुपर्ने र सरकारी सेवामा शेर्पालाई बिना परीक्षा नियुक्त गर्नुपर्ने सहित तीनवटा लिखित माग पेस गरेका हुन्।
यी माग पूरा नभएसम्म आरोहण दलमा सहभागी नहुने अडान राखेपछि सगरमाथा आरोहण समेत अनिश्चित भएको हो। यसले जेठ पहिलो साता शिखर पुग्न आधारशिविरमा तयारी गरिरहेका ३२ आरोहण दलको योजना प्रभावित हुने अवस्था आएको छ। यसमध्ये ३१ विदेशी दलमा ३ सय ३४ आरोही छन् भने एउटा नेपाली दलमा एकजना शेर्पा मात्रै छन्।
अघिल्लोपटक पेस गरिएका सबै माग पूरा गर्न सरकारले प्रतिबद्धता जनाइसकेको अवस्थामा अहिले फेरि ‘असान्दर्भिकु माग राखेर अवरोध खडा गर्ने प्रयास गरिएको आधारशिविर स्थित सम्पर्क अधिकृतहरूले बताएका छन्। वैशाख ५ मा सगरमाथाको पहिलो क्याम्प नजिक ५ हजार ९ सय मिटर उचाइमा गएको हिमपहिरोमा परी १३ शेर्पाको मृत्यु भएको थियो। घटनामा परेका तीनजना अझै बेपत्ता छन् ।
हिमपहिरोपछि सरकारले ‘बेवास्ताु गरेको भन्दै आक्रोसित शेर्पाले १३ बुँदे माग राखे लगत्तै ती सबै माग पूरा गर्न प्रतिबद्धता जनाएको सरकार अहिले आएका नयाँ मागका कारण के गर्ने के नगर्ने विषयमा अन्यौलमा छ । अहिले सारा विश्वको ध्यान सगरमाथामा केन्द्रित भइरहेका बेला शेर्पाका कारण सम्पूर्ण आरोहण स्थगित भयो भने त्यसको असर दीर्घकालसम्म पर्ने आधारशिविरस्थित एक सम्पर्क अधिकृतले बताए।
‘उनका अनुसार आधारशिविरमा रहेका शेर्पालाई त्यसभन्दा बाहिरका शेर्पाले उचालिरहेका छन्। आधारशिविरमै रहेका शेर्पाले भने ‘विदेशी आरोही वा दललाई सगरमाथा आरोहण गर वा नगर भनेर दबाब दिएका छैनौुं भनी बताइरहेका छन्। त्यसविपरीत केही समूह भने अहिलेको माग पूरा नगरे सबै आरोहण स्थगित गर्ने चेतावनी दिइरहेका छन्।
उच्चस्तरीय प्रतिनिधीमण्डलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचार्य, पर्यटन सचिव सुशील घिमिरे, नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरीङ शेर्पा, कोषाध्यक्ष टीका बहादुर गुरुङ, ट्रेकिङ एजेन्सिज एसोसियसन् अफ नेपालका अध्यक्ष रमेश धमला र महासचिव सागर पाण्डे, सगरमाथा प्रदुषण नियन्त्रण समितिका अध्यक्ष आङ दोर्जी शेर्पा, एक्सपिडिसन् अपरेटर्स एशोसियसनका अध्यक्ष डम्बर पराजुली, नेपाल नेशनल माउण्टेन गाईड एशोसियसनका महासचिव पासाङ शेर्पा लगायत सम्मिलित थिए ।
Comments
Post a Comment