सगरमाथा आरोहीलाई सघाउन गएका शेर्पाको समूह शुक्रबार बिहान दुर्घटनामा परेको खबर सुनेपछि हामी उद्धारका लागि निस्कियौं। हामीसँग भएका दुईवटा हेलिकोप्टरमार्फत तत्काल उद्धार प्रयास थाल्यौं।
हामी दुर्घटनास्थल खुम्बु आइसफल पुग्दा कसैका हातखुट्टा देखिन्थे भने कसैका टाउका। परैबाट लुगाका रङमात्र पनि देखिए। हामीले पहिले माथिबाटै मानव शरीर भएको स्थान पहिल्याऔं।
भौगोलिक रूपमा विकट भएकाले हेलिकोप्टरबाट डोरीको सहायताले दुर्घटनास्थलमा झर्ने र एकएक गर्दै बोक्दै हेलिकोप्टरमा ल्यायौं। यस्तो विधिलाई हामी लङ लाइन रेस्क्यु भन्छौं।
एउटा हेलिकोप्टरले घटनास्थलबाट घाइते तथा शवलाई पालैपालो आधार शिविर, फेरिचे तथा लुक्लासम्म ल्यायौं। करिब आठ घन्टा निरन्तर उद्धारमा खटियौं। यसबीचमा १६ पटक लङ लाइन रेस्क्यु गर्नुपर्यो।
हेलिकोप्टर ल्यान्ड गर्न सकिने ठाउँमा ल्यान्ड गरेर पनि केही उद्धार गर्यौं। शनिबार पनि हामी उद्धारका लागि जाँदैछौं।
हेलिकोप्टरबाट डोरीको सहयोगले घटनास्थल पुगेर शव र घाइतेलाई कम्मरमै बाँधेर ल्याउने प्राविधिक सीप हामीलाई स्विट्जरल्यान्डको एअर जरम्याटले सिकाएको थियो।
गत डिसेम्बरमा आरोहणमा जाने शेर्पाहरूका लागि उद्धारको छुट्टै तालिम दिएका थियौं।
शुक्रबार संयोगवश तीमध्ये अधिकांश आधारशिविरमै रहेकाले सजिलो भयो। मौसमले पनि साथ दियो।
उद्धारमा दुईजना क्याप्टेनसहित छिरिङ पान्दे भोटे, छिरिङ थेन्दु भोटे, आङ टासी शेर्पाको भूमिका प्रशंसनीय छ।
(सिम्रिक एअरका क्याप्टेन सिद्धार्थ गुरुङ र जेसन लायङसँग पिताम्बर सिग्देलले गरेको कुराकानी)
जोखिमपूर्ण उद्धारका केही तस्बिरः
हिमपहिरो गएको खुम्बु आइसफल। तस्बिरहरुः छिरिङ पान्दे भोटे
दुर्घटनास्थलबाट लङ लाइन उद्धार गरिँदै। तस्बिर सौजन्यः जेसन लायङ
उद्धार टोलीमा खटिएका क्याप्टेनद्वय जेसन लायङ, सिद्धार्थ गुरुङ र छिरिङ पान्दे भोटे (बीचमा)
Comments
Post a Comment