Skip to main content

सोनाम भन्छन् 'हिमाल चढ्न छाड्नुपर्छ'

हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको मुख्य पेशा जस्तै हो हिमाल आरोहण । हिमाली आदिवासी शेर्पा जातिको मुख्य व्यवसाय चौरी तथा याक पालन भएपनि पर्वतीय पर्यटन प्रवद्र्धन सँगै शेर्पा जातिको पेशा व्यवसाय समेत रुपान्तरित हुदै गयो । फलतः हिमाल आरोहण हिमाली जातिहरुको मुख्य र अभिन्न पेशा जस्तै हुन पुग्यो । 

शेर्पा समुदायले हिमाली क्षेत्रमा कमाएको चर्चा अन्तरराष्ट्रिय समुदायमा समेत परिचित छ । हिमाल चढ्न कुशल, आँटी र साहसी जातिको रुपमा शेर्पा जाति विश्व समुदायमा परिचित छ । सगरमाथा आरोहणसँग जोडिएर जत्ति किर्तिमान कायम भएका छन् त्यसमा शेर्पा समुदायको हिस्सा ठूलो छ । 

२२ औं पटक सफल आरोहण गरेका अप्पा, हिमचितुवाको उपनामले चिनिने आङ रीता, पहिलो नेपाली महिला आरोही पासाङ ल्हमू, सगरमाथाको चुचुरोमा विहे गरेका पेम्दोर्जी सबै शेर्पा समुदायकै हुन् । हिमाली बातावरण सँगको निकटता, आरोहण सँग सम्बन्धित कम्पनीहरुमा शेर्पा जातिको बढी लगानी तथा विदेशीले समेत उनीहरुलाई खोज्ने कारणले पनि आरोहण क्षेत्रमा शेर्पा जातिको बाहुल्यतालाई नकार्न सकिदैन । 

सगरमाथा आरोहणमा जाने सरदार तथा सहायक गाईड (शेर्पां) पनि अधिकांश शेर्पा नै हुने गर्दछन् । सगरमाथा आरोहणको ६१ बर्षको इतिहासलाई फर्केर हेर्दा ज्यान गुमाउने नेपालीहरुको सूचीमा शेर्पा जातिकै नाम अग्र स्थानमा आउँछ । सगरमाथा आरोहणमा गएका शेर्पाहरुले ज्यान नगुमाएको कुनै बर्ष हुदैन । फरक यत्ति मात्र हो, कुनै समय बढी त कहिले कम । सगरमाथामा बेला बेलामा हिमपहिरो गएपनि यसबर्ष जस्तो ठूलो मानवीय क्षति हिमपहिरोले कहिल्यै पु¥याएको थिएन । सन् १९२२ को जुन ७ मा व्रिटीश एक्सपिडिसनमा गएका ७ जना भारतीय शेर्पाहरुको मृत्यु भएपछि सगरमाथामा मृत्युको श्रृंखला शुरु भएको थियो । 

शुक्रबार गएको हिमपहिरोले पुरिएर मृत्यु भए र बेपत्ता भएका परिवारका सदस्य, आफन्त र सिंगो पर्वतीय पर्यटन शोकमग्न छ । अझ बढी शोकमा डुबेको छ खुम्बु क्षेत्र । उक्त घटनामा खुम्बुका मात्र ८ जनाले ज्यान गुमाएका थिए । आरोहणमा बर्षेणी हुने मृत्युको श्रृंखलाले आरोहण पेशालाई लिएर वहशको समेत आरम्भ भएको छ । हुन त आरोहीका परिवारले हिमाल आरोहण नगर्न दबाब दिदै आएका कुराहरु पनि बेला बखत बाहिर आउने गरेका छन् । तथापि भाग्य भरोसा भन्दै लामा पाठ तथा धुप बालेर भएपनि हिमाल चढ्नेको ताँती कमी छैन । 

विदेशीहरुले हिमाल चढ्ने कार्यलाई साहसिक खेलको रुपमा लिने र नेपालीहरुले रोजगारको अवसरको रुपमा लिँदा बर्षेणी आरोहणको प्रवाह उकालो लाग्ने क्रममा छ । नाम्चेका समाजसेवी तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्याल्जेन शेर्पा भन्छन् ‘आरोहण भनेको बाँच्छु कि मर्छु भनेर जीवन त्याग गरेर जाने एक प्रकारको खेल नै हो । ज्यानको बाजी थापेर गएकाले यसमा चुनौती अवश्य छ । चढ्न जाँदा पनि सबैभन्दा अगाडि दुर्घटना बीमा गरेर जानु पर्छ ।’

हिमाल आरोहण गर्न शेर्पाहरुको देहान्तले स्तब्ध तुल्याए पनि यसबाट धेरै पाठ सिक्न सकिने उनको कथन छ । आरोहीको मृत्युको खबरले हामी सबै शोकाकुल भएपनि यसबाट धेरै शिक्षा आर्जन गर्न सक्छौं शेर्पा भन्छन् ‘हाम्रो समुदायका मानिसले अब यो भन्दा अर्को विकल्पहरु खोज्नुपर्ने अवस्था आइसकेको छ, छोराछोरीहरुलाई राम्रो शिक्षा दिएर अन्य व्यवसायमा लगाउनुपर्ने देखेको छु ।’

उनका अनुसार आरोहण क्षेत्रमा लागेका अधिकांश आर्थिक अवस्था कमजोर भएका, अध्ययन गर्न नपाएका र पढाइ बीचैमा छाडेकाहरु हुन्छन् । आरोहणको विकल्पमा अन्य आयआर्जनको स्रोत पत्ता लगाउन सक्यौं भने हिमाल चढ्नैपर्ने बाध्यताबाट मुक्ति मिल्ने शेर्पाको तर्क छ । यसका लागि नेपाल सरकार, तथा स्थानीय स्तरबाट रोजगारीका अन्य अवसरहरु खोजी गर्न आवश्यक छ । शेर्पा भन्छन् ‘अब हिमालमा अरुको लागि भारी बोकेर, आफ्नो ज्यान त्यागेर जाने होइन । विदेशीहरु एउटा साहसिक खेलको रुपमा लिएर एउटा निश्चित लक्ष्य हासिल गर्न आउँछन् । तर हामी भने पेटकै लागि बर्षेणी चढिरहेका छौं त्यही हिमाल । शेर्पा थप्छन् ‘हिमाल चढ्दा चढ्दा पछि गएर नाम कमाइएला, देशको इज्जत होला त्यो आफ्नै ठाउँमा छ तर सबैभन्दा अगाडि हामी पेटकै लागि चढ्छौं यो सत्य हो ।’ 

मानिसलाई हिमाल आरोहणको अर्को विकल्प नदिएसम्म यस क्षेत्रमा आरोहीको चाप बढिरहने उनको तर्क छ । कोही मर्दैमा यसले त्रषित नहुने र आरोहण क्षेत्रमा मानिसको चाप बढिरहने शेर्पा बताउँछन् । उनी भन्छन् ‘सगरमाथामा यस्ता घटना धेरै भए, ठूलो कुरा पेटको समस्या हो । मानिसलाई कमाउनु छ जहान परिवार पाल्नु छ । अलि  बढी कमाई पनि यही क्षेत्रबाट हुने हुनाले सगरमाथामा मानिस मरेपनि यसले आरोहणमा कुनै समस्या ल्याउदैन भन्ने लाग्छ ।’

मान्छे मर्नकै लागि सगरमाथा जाँदैन । त्यहाँ जाँदा केही पाइन्छ र त जान्छ । उनले जोड दिदै भने ‘हिमाल आरोहण गर्दा मृत्यु हुने घटनाबाट हामीले लिनुपर्ने शिक्षा भनेको आफ्नो सन्ततिहरुलाई राम्रो खालको शिक्षा दिएर हिमाल चढ्ने होइन कि अब हिमालको इतिहास लेख्नेतिर लगाउनुपर्छ । त्यसपछि मात्र हिमालमा मृत्युको श्रृंखला अन्त्य हुन्छ । 

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।