नेपाली घरपरिवारमा १० वर्षको अवधिमा आम्दानीको तुलनामा खर्च अत्यधिक बढेको छ।
राष्ट्रबैंकले गरेको पारिवारिक बजेट सर्वेअनुसार १० वर्षे अवधिमा आम्दानी दुई हजार सात सय ३८ रुपैयाँ बढ्दा खर्च १० हजार सात सय ९३ रुपैयाँले बढेको छ। राष्ट्रबैंकको अनुसन्धानले घरपरिवारले गर्ने खर्चको आकार उच्च हुँदा पनि आम्दानी नबढेकोले बचत कमजोर हुँदै गएको देखाएको छ।
राष्ट्रबैंकका पूर्वगभर्नर डा.युवराज खतिवडा आन्तरिक बचत कमजोर रहेको बताउँछन्।‘रेमिटेन्सले आम्दानी बढाए पनि त्योसँगै खर्च पनि बढाएको छ' ,उनले भने, 'खर्च गर्ने प्रवृति बढ्दै जाँदा बचत गर्ने बानी कमजोर बनेको छ।'
राष्ट्रबैंकका अनुसार पाँचौ परिवारिक बजेट सर्वेअनुसार एउटा घरपरिवारको सरदर खर्च मासिक २५ हजार नौ सय २८ रुपैयाँ छ। आम्दानी ३० हजार एक सय २१ रुपैयाँ छ।
चौथो पारिवारिक बजेट सर्वेअनुसार खर्च १५ हजार एक सय ३५ हुँदा आम्दानी २७ हजार तीन सय ९१ रुपैयाँ थियो। राष्ट्रबैंकको अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले अध्ययनले आम्दानीको तुलनामा खर्च बढ्दै गएको देखिएको बताए।
'आम्दानीको तुलनामा खर्च बढी गर्ने प्रवृतिले बचत कम भएको छ',उनले भने, ‘आम्दानीको स्रोत सीमित भए पनि खर्चको दायारा फराकिलो बन्दै गएको छ।' सर्वेक्षणअनुसार ग्रामीण क्षेत्रका परिवारले मासिक २२ हजार नौ सय २८ रुपैयाँ खर्च गर्छन् भने सहरी क्षेत्रका परिवारले २८ हजार चार सय ७४ रुपैयाँ खर्च गर्छन्।
राष्ट्रबैंकले हरेक १० वर्षमा पारिवारिक मासिक खर्चको अध्ययन गर्छ। राष्ट्रबैंकले ५५ जिल्लाको ८४ वटा बजारकेन्द्रबाट आठ हजार २८ वटा घरपरिवारलाई समावेश गरेर अध्ययन गरेको थियो।
एउटा परिवारमा औसतमा ४.९५ सदस्य हुने अनुमान गरेर अध्ययन गरिएको छ। अध्ययनले परिवारले गर्ने खर्चमा खाद्यन्नभन्दा गैर खाद्यन्न क्षेत्रमा गर्ने खर्च बढ्दै गएको देखिएको छ।
आर्थिक वर्ष २०६२-६३ मा सार्वजनिक भएको चौथो पारिवारिक बजेट सर्वेक्षणले खाद्यान्न र पेय पदार्थमा कुल खर्चको ४६.८२ प्रतिशत खर्च भएको देखाएको थियो। यस्तै गैर खाद्य र सेवा क्षेत्रमा ५३.१८ प्रतिशत खर्च थियो।
अहिले खाद्यान्न र पेय पदार्थमा ४३.९१ प्रतिशत र गैर खाद्य र सेवा क्षेत्रमा ५६.०९ प्रतिशत खर्च भएको छ। राष्ट्रबैंकको अनुसन्धान विभाग प्रमुख थापा परिवार खर्च खाद्यन्नभन्दा सेवा क्षेत्रमातर्फ बढ्दै गएको बताउँछन्।
पाँचौ परिवारिक बजेट सर्वेअनुसार एउटा घरपरिवारको सरदर खर्च मासिक २५ हजार नौ सय २८ रुपैयाँ छ। आम्दानी ३० हजार एक सय २१ रुपैयाँ छ।
'अध्ययनले खर्चका स्वरूप परिवर्तन हुँदै गएको देखाएको छ' ,उनले भने, 'कुनै समय खाद्यान्नमा बढी खर्च हुन्थ्यो । अहिले गैर खाद्यान्नमा, त्यो खर्च अनुपात बढ्दै गएको छ।'
१० वर्षको अवधिमा खाद्यान्नतर्फ मासुजन्य पदार्थमा खर्च बढेको देखिन्छ। १० वर्ष अगाडि कुल खर्चमा ५.७ प्रतिशत खर्च मासुजन्यमा हुने गरेको थियो भने अहिले ६.७५ प्रतिशत खर्च हुने गरेको छ।
अध्ययनले परिवारले खाद्यान्नमा गर्ने खाद्यजन्य पदार्थमा गर्ने खर्च घटेको देखिन्छ। १० वर्ष अगाडि १४.८१ प्रतिशत खर्च खाद्यजन्य पदार्थमा हुने गरेको थियो भने अहिले ११.३३ प्रतिशत खर्च यो क्षेत्रमा हुने गरेको छ।
गैर खाद्य समूहमा सबैभन्दा बढी खर्च घरभाडा ,पानी ,बिजुली र ग्यासमा हुने गरेको छ। १० वर्ष अगाडि सो घरभाडा र पानीमा कुल खर्चको १०.८७ प्रतिशत हुने गरेकोमा अहिले बढेर २०.३ प्रतिशत पुगेको छ।
सहरी क्षेत्रमा खाद्यान्नपछि सबैभन्दा बढी खर्च घरभाडा र ग्यासमा खर्च हुने गरेको छ।क्षेत्रगत खर्चको आधारमा स्वास्थलाई खराब मानिएको अल्कोहल र सुर्तीजन्य पदार्थमा दुई सय ५६ रुपैयाँ खर्च हुने गरेको छ।
अल्कोहल र सुर्तीजन्य पदार्थमा सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा बस्नेले बढी खर्च गर्ने अध्ययनले देखाएको छ। ग्रामीण क्षेत्रका परिवारले दुई सय ९९ रुपैयाँ अल्कोहल र सुर्तीजन्य क्षेत्रमा खर्च गर्छन् भने सहरी क्षेत्रमा दुई सय २० रुपैयाँ खर्च गर्छन्।
Comments
Post a Comment