काठमाण्डु, ६ कात्तिक– सरकारले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने प्रक्रिया थालेको छ । बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन चीनबाट पेट्रोलियम ल्याउन सक्रिय भएका हुन् । पुनले त्यसबारे शनिबार नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताई, चीनका लागि नेपाली राजदूत महेश मास्केसँग छलफल गरेका छन् ।
छलफलको चाँजोपाँजो एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मिलाएका हुन् । माओवादीले गठन गरेको सरकार सञ्चालन समितिका संयोजक समेत रहेका श्रेष्ठ पनि छलफलमा सहभागी थिए । छलफलका क्रममा चिनियाँ राजदूत चुन्ताइले चीन इन्धन दिन तयार रहेको भन्दै त्यसबारे औपचारिक प्रस्ताव ल्याउन आग्रह गरेका थिए ।
‘चीनबाट इन्धन ल्याउने प्रक्रियामा गम्भीर र सकारात्मक छलफल भएको छ’, छलफल श्रोतले भन्यो, ‘चीन आवश्यक इन्धन तत्काल उपलब्ध गराउन तयार छ ।’ भारतले अघोषित नाकाबन्दी तत्काल नहटाउने संकेत पाएपछि सरकारले विकल्पमा चीनबाट इन्धन ढुवानी प्रक्रिया अघि बढाउन लागेको हो । चीनले पूर्ववर्ती सुशील कोइराला नेतृत्वकै सरकारका बेलामसेत इन्धन दिन तयार रहेको बताएको थियो ।
तर सरकारी तवरबाट प्रयास नहुँदा चीनबाट इन्धन ल्याउने प्रक्रिया अलपत्र परेको थियो । स्रोतका अनुसार प्रक्रिया छिटो अगाडि बढे पहिलो लटमा आगामी मंगलबार एक हजार मेट्रिकटन इन्धन नेपाल आइपुग्नेछ ।
स्रोत काठमांडू टुडे .कम
Comments
Post a Comment