२ मंसिर भारतले लगाएको नाकाबन्दीले आपूर्ति अवरुद्ध हुँदा बजारमा रक्त संकलन झोलाको अभाव हुन थालेको छ । उपत्यकाका अस्पतालमा पनि यस्ता झोला सकिन लागेकाले रगत संकलनमै समस्या पर्ने अवस्था आएको छ ।
अस्पतालका अनुसार बाँकी झोलाको पनि दुई साताभित्रै प्रयोग मिति सकिँदैछ । ‘पहिलो स्टकको म्याद सोमबारै सकियो । पछिल्लो स्टकमा रहेकाको म्याद पनि ३० नोभेम्बरमा सकिँदैछ,’ टिचिङ अस्पतालका उपनिर्देशक डा. प्रेम खड्काले भने । टिचिङमा मात्र मासिक २ हजार ब्याग खपत हुने गरेको तथ्यांक छ ।
दुई साताभित्र आवश्यक ब्याग आपूर्ति हुन नसके सिकिस्त बिरामीको उपचारमा समस्या हुने र बिरामीको ज्यानै जोखिममा पर्ने निर्देशक खड्काले सचेत गराएको नागरिकमा खबर छ ।
‘डिलरले ल्याउन नसकेको जवाफ दिएका छन्, यस्तै स्थिति रहे दुई सातापछि काम ठप्पै हुन्छ,’ उनले भने । यस्तो ब्याग चीनबाट खरिद गएि पनि भारतीय बाटो भएर ल्याउने गरिएकाले नाकामै अड्किएर अभाव खट्केको खड्काले जनाए ।
आफ्नै रक्तसंकलन केन्द्र रहेको प्रसूति गृह अस्पतालले पनि दुई/चार दिनमै रक्तसंकलन ब्याग सकिन लागेको जनाएको छ । ‘डिलरले खोज्छौं भनेका छन् तर बजारमा पाइँदैन,’ केन्द्रका कर्मचारी परशुराम दाहालले भने ।
अस्पतालको भण्डारमा रहेको ब्यागमध्ये सिंगल ब्याग सकिइसकेको गंगालाल हृदयकेन्द्र अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक जोतिन्द्र शर्माका अनुसार रगत संकलन ब्याग सकिँदै गएपछि अस्पतालको नियमित अप्रेसन र क्याथ ल्याबको काम कम गर्दै लगिएको छ ।
अस्पतालमा मुटुका बिरामीका लागि आवश्यक अन्य औषधि भल्ब, शल्यक्रियाको घाउ सिलाउने धागो स्विचरलगायत अत्यावश्यक सामग्री सकिँदै गएको छ । ‘नयाँ आएन भने केही दिनमा ठूलै संकट पर्नेछ,’ निर्देशक शर्माले भने ।
Comments
Post a Comment