Skip to main content

निरोगी बच्चा जन्माउन के गर्ने, के नगर्ने ?

सुन्दर र स्वस्थ बच्चाको चाहना नराख्ने को होला ? वैवाहिक जीवनमा बाँधिएका अधिकांश दम्पतीको एउटै सुन्दर सपना हुन्छ, स्वस्थ बच्चा जन्माउने ।तर, सबैले सोचेजस्तो र कल्पना गरेजस्तो बच्चा पाउन सकिरहेका छैनन् । नचाहँदा नचाहँदै पनि केही परिवारमा रोगी र विकलांग बच्चाको जन्म हुने गरेको छ । कतिपय घरमा यस्ता बच्चाको जन्मले खुसी ल्याउन सक्दैन ।
चिकित्सा क्षेत्रमा भएका अध्ययनअनुसार करिब ३० प्रतिशत बच्चा जन्मँदा नै कम वजन भएको, विकलांग, दृष्टि नहुने तथा विभिन्न रोग लिएर जन्मन्छन् । यस्ता बच्चामध्ये केहीको एक महिनाको अवधि नपुग्दै मृत्यु समेत हुन्छ । यसले परिवारमा दुःख निम्त्याउने, उज्यालो र खुसीको चाहना गर्ने दम्पतीलाई अँध्यारो र दुःखी बनाइदिन्छ ।
कसरी जन्मन्छ त स्वस्थ बच्चा ?वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. चन्दा कार्की भन्छिन्,‘स्वस्थ र निरोगी बच्चा जन्माउनका लागि र बच्चाको सर्वाङ्गीण विकासका लागि दम्पतीले पेटमा बच्चा बसेपछि मात्र होइन, त्यो भन्दा धेरै अगाडिदेखि नै विशेष ध्यान दिनु आवश्यक छ । ‘मानिसहरुले गर्भमा बच्चा बसेपछि मात्र महिलाको विशेष ध्यान दिन्छन् तर त्यो मात्र पर्याप्त छैन,’ उनी भन्छिन्, ‘गर्भ रहनुपूर्व नै महिला र पुरुष दुवैले आफ्नो स्वास्थ्यको जाँच गर्नुका अलावा खानपिनमा ध्यान दिएमा स्वस्थ बच्चा जन्माउन सहयोग मिल्छ ।’

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी प्राध्यापक नीता पोखरेलको भनाइमा गर्भधारण आकस्मिक घटनाका रुपमा नभई योजनाबद्ध हुनु राम्रो हुन्छ । यसो भएमात्र आगन्तुक शिशुले राम्रो स्वागत पाउँछ र शिशुको शारीरिक र मानसिक विकास पनि राम्रो हुन्छ ।
‘गर्भधारण एउटा प्राकृतिक नियम हो । गर्भधारणभन्दा अगाडि आमाको स्वास्थ्य, अवस्था, उमेर र शारीरिक तन्दुरूस्ती हेर्नु धेरै उचित हुन्छ,’ उनी भन्छिन्, ‘महिलाको उमेर कम छ भने सन्तान पाउनका लागि केही वर्ष पर्खिनु नै पर्छ । त्यस्तै उमेर बढी छ भने पनि चिकित्सकको सल्लाहबमोजिम गर्भधारण गर्नुपर्ने हुन्छ ।’

पोखरेलका अनुसार आगन्तुक शिशुकोे शारीरिक र मानसिक विकास राम्रो चाहनेले महिलाको मात्र नभई पुरुषको स्वास्थ्यको पनि पहिला नै चेकजाँच गर्न आवश्यक हुन्छ ।जसरी राम्रो बालीनाली होस् भनेर किसानले मल, जल र मौसम मिलाई खेतबारी खनजोत गरी उन्नत बीउ छर्छ, त्यस्तै स्वस्थ र राम्रो बच्चा जन्माउन दम्पतीले पनि गर्भधारण गर्नुअगावै सम्पूर्ण जाँचदेखि पोषिलो खानपिनमा जोड दिनुपर्छ ।

त्यसो त स्वस्थ बच्चाका लागि सबैभन्दा पहिला महिला र पुरुष नै स्वस्थ हुनुपर्छ । निजामती कर्मचारी अस्पतालका निर्देशक तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. विमल थापाका अनुसार निरोगी शिशु जन्मन तथा हुर्कनका लागि उसको आमाबुबाका जिनहरु स्वस्थ हुनुपर्ने, महिलाको उपयुक्त उमेर, पोषण, भ्रुण गर्भमा रहेपछिको उपयुक्त हेरचाह, सुरक्षित तवरले बच्चा जन्माउने स्थान, नवजात शिशुको उपयुक्त स्याहार, समयमै उचित खोप लगाउनुपर्ने हुन्छ ।

‘एकैपटकमा वा केही दिन स्याहार र हेरचाह गरेको भरमा स्वस्थ बच्चाको चाहना पूरा हुन सक्दैन,’ डा. थापाले भने, ‘यो त लामो समयसम्म गरिने निश्चित योजनापछि मात्र हुने कुरा हो ।’

डा. थापाका शब्दमा बच्चा जन्माउने दम्पतीले बच्चा जन्माउने योजना बनाएपछि दुवैजनाको शरीरका बारेमा धेरैभन्दा धेरै जानकारी लिनुपर्ने हुन्छ । त्यसबाट महिला वा पुरुषको शरीरमा कुनै समस्या छ भने त्यो हटाउन सकिन्छ । बच्चामा सर्ने खालको रोग रहेछ भने त्यसलाई हल गर्ने उपाय खोज्न सकिन्छ ।

संक्रामक र वंशाणुगत रोग
डा. कार्कीका अनुसार सबैभन्दा महत्वपूर्ण कुरा महिलाको पाठेघरको अवस्था, संक्रमण, बच्चा जन्माउन सक्ने वा नसक्ने, सन्तान उत्पादन गर्ने सक्ने क्षमता, वंशाणुगत रोगको जानकारी लिनुपर्ने हुन्छ । यसका साथैमहिलाको मुटु, रक्तचाप, फोक्सोलगायतका अंगहरुले गरेका कार्यपनि थाहा पाउन सकिन्छ । पुरुषको शारीरिक अवस्था, संक्रमक रोग एचआइभी, हेपाटाइटिस बी, तथा अन्य यौनजन्य रोगको संक्रमण वा वंशाणुगत रोगको बारेमा जानकारी लिनुपर्ने हुन्छ ।

मूत्रनली, डिम्बनली, पाठेघर र आन्द्रामा संक्रमणजस्ता समस्या जाँच नगरी गर्भ रहेमा समय नपुगी बच्चा जन्मने, विकलांग बच्चा जन्मने तथा बच्चा जन्माउने क्रममा आमाको ज्यानै समेत जान सक्छ । त्यसकारण महिलाले हेमोग्लोबिन, रक्त समूह, यौनरोग, एचआइभी एवं हेपाटाइटिस बी, ब्लड सुगरसम्बन्धी रगत जाँच, पिसाब जाँच एवं भिडियो एक्सरे अनिवार्य गराउनुपर्छ । यसका अतिरिक्त कतिपय महिलामा देखापरेको स्वास्थ्य समस्याअनुसार थप जाँच गराउने र उपचार गर्नुपर्ने डा. कार्की बताउँछिन् ।

सन्तुलित खाना
गर्भाधान गर्नु अगावै दम्पतीले सन्तुलित भोजन गर्नु आवश्यक छ । महिला र पुरुषले बच्चा जन्माउन चाहेको भन्दा ६ महिना वा त्यसभन्दा पहिले नैखानपिनमा विशेष जोड दिँदा राम्रो हुन्छ । सन्तुलित भोजनले मानसिक तथा शारीरिक स्वास्थ्यलाई राम्रो बनाउँछ ।
पोषिलो खाना खाँदा पुरुषबाट निस्कने शुक्रकीट पुष्ट, शक्तिशाली, सक्रिय र स्वस्थ हुन्छ । त्यस्तै महिलाबाट निस्कने अण्डा पनि स्वस्थ हुन्छ । पाठेघरमा बच्चा बढ्ने राम्रो वातावरण बन्छ ।गर्भावस्थामा रगतको कमी हुन पाउँदैन । महिलामा बच्चा पाउने क्रममा व्यथा खप्ने क्षमता बढ्छ र सबैभन्दा महत्वपूर्ण कुरा गर्भदेखि बालकको शारीरिक र मानसिक विकास राम्रो हुन्छ ।
गर्भाधान गर्नु तीन महिनाअगावै महिलाले शरीरमा हुने हानिकार पदार्थको दुष्प्रभावबाट मुक्त हुन तथा राम्रो पोषणका लागि फोलिक एसिड खान सुरु गर्नुपर्छ । फोलिक एसिड भिटामिन तथा अन्य आवश्यक पौष्टिक तत्व भएको औषधि हो । यसको सेवनले बच्चामा हुने स्नायु ट्युबको खराबीलाई रोक्न मद्धत गर्छ । महिलाले यो पेटमा बच्चा भएको १३ हप्तासम्म सेवन गर्नुपर्छ ।

अर्को महत्वपूर्ण पोषण आइरन हो । सामान्य अवस्थामा भन्दा गर्भवतीलाई दुई गुणा बढी आइरन चाहिन्छ। शरीरमा आइरनको मात्रा कम छ भने रक्तअल्पता हुन सक्छ ।यसले आमा र बच्चा दुवैमा खतरा निम्तिन सक्छ । गर्भको अवधिमा शिशु, सालनाल, शिशु वरिपरिको पानी, पाठेघरको वृद्धि र शरीरका विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले करिब १० देखि १२ किलोसम्म तौल बढ्न सक्छ।

धूमपान र मद्यपान छाड्ने
बच्चा जन्माउने योजनामा रहेका दम्पतीले गर्भधारणको एक महिनाअगाडि नै कफी, चुरोट, बिँडी, सुर्ती, खैनी तथा मदिरा र अन्य लागुपदार्थ प्रयोग गर्न छाड्नुपर्छ । यस्ता पदार्थको अति सेवन गरेमा रोगी बच्चा जन्मने बढी सम्भावना हुन्छ ।

यस्तै, गर्भधारण भन्दा दुई हप्ता अगाडिदेखि नै महिलाले निद्रा लगाउने, पेट पोल्न कमगर्ने, ज्वरो निको पार्ने औषधि खानु हँुदैन । यसले गर्भपतन गराउने बढी सम्भावना हुन्छ । यस्ता औषधिले गर्भे बच्चामा शारीरिक र मानसिक विकास राम्रो हुन पाउँदैन । जन्मँदा बच्चाको तौल कम हुन्छ । मुख, हात, खुट्टा र अंगभंग भएको हुन सक्छ । जीउको खानेकुरा सोसेर राख्ने शक्ति घट्छ ।

मोटो र पातलो ज्यानको जोखिम
चिकित्सकहरुका अनुसार स्वस्थ शरीर भएका आमाबाट जन्मने बच्चा पनि स्वस्थ हुन्छन् । मुटुरोग, क्यान्सर तथा मधुमेह आदि जन्मजात रोग लाग्ने सम्भावना पनि अत्यधिक कम हुन्छ । गर्भवतीकोसन्तुलित खानपिन र स्वस्थ शरीरका लागि गरिने लगानी भावी बच्चाका लागि गरिने आजीवन लगानी हो ।
बच्चा जन्माउनुपूर्व महिलाको शरीरको तौलका विषयमा पनि ख्याल गर्नुपर्छ । निकै पातलो र निकै मोटो शरीर भएका महिलाले बच्चा पाउनु जोखिमपूर्ण हुन्छ । महिलाको शरीरको तौलका आधारमै बच्चा कस्तो हुने भन्ने निर्धारण हुन्छ ।
असाध्यै दुब्ली महिलाबाट कुपोषित बच्चा जन्मन सक्छ । साढे दुई किलोभन्दा पनि कमको शिशु हुने सम्भावना अत्यधिक हुन्छ । यस्ता बच्चा जन्मेको पहिलो एक महिनाभित्रै मृत्यु हुनसक्ने जोखिम हुन्छ । कोही बाँच्न सफल भए भने पनि त्यस्ता बच्चाको विकासमा अवरोध हुने, सुस्त तथा आजीवन रोगी हुने सम्भावना हुन्छ । यसकासाथै पेटमै खेर जान सक्छ ।
मोटोपन भएका महिला उच्च रक्तचाप र मधुमेहजस्ता रोगबाट ग्रसित हुनसक्छन् । त्यसबाट जन्मने बच्चामा पनि त्यस्तो रोग सर्ने खतरा रहन्छ । अत्यधिक मोटो आमाबाट जन्मने बच्चामा न्युरल ट्युब डिफेक्ट अर्थात् दिमाग, स्पाइनको विकलांग हुने जोखिम हुन्छ । बच्चा जन्माउने क्रममै आमालाई ह्यामरेज हुने जोखिम समेत रहन्छ ।
त्यसकारण गर्भधारण गर्ने योजना बनाउँदानै तौलमा विशेष ध्यान दिन आवश्यक रहेको डा. थापा बताउँछन् । आफ्नो तौलका आधारमा चिकित्सक र डाइटिसियनको सहयोगमा खानपिनको योजना बनाउन सकिने उनको सुझाव छ ।

अस्थायी साधन कहिले छाड्ने ?
बच्चा जन्माउन चाहने दम्पतीले अस्थायी साधनको प्रयोगकहिलेबाट छाड्ने भन्ने कुरा उनीहरुले प्रयोग गर्ने साधनका आधारमा भर पर्छ । सामान्यतया बच्चाको योजना बनाएका दम्पतीले तीन महिनादेखि नै परिवार नियोजनका साधन प्रयोग गर्न छाड्नुपर्छ । पुरुषले कन्डमको प्रयोग छाडेको केही दिनमै स्वास्थ्य जाँच गरेपछि सहजै चिकित्सकको सल्लाहबमोजिम गर्भको योजना बनाउन सक्छन् । तर, हर्मोनल औषधि जस्तै पिल, सुई प्रयोग गर्नेहरुले भने केही महिना कुर्नुपर्ने हुन्छ ।

कुनै साधन त तीन महिनाभन्दा अगावै प्रयोग गर्न छाड्नुपर्ने हुन्छ । अस्थायी साधनको प्रयोग छाडेर महिनावारी नियमित नभएसम्म पुरुषले कण्डोम प्रयोग गर्ने र महिनावारी नियमित भएपछि कण्डोम प्रयोग गर्न छाड्दा गर्भ स्वस्थ रहन मद्धत पुग्छ । परिवार नियोजनका साधन प्रयोग गरिरहेका बेला गर्भ रहेमा बच्चा विकृत बन्न वा गर्भपात हुने सम्भावना हुन्छ । जन्मने बच्चा पनि अस्वस्थ र कमजोर हुन सक्छ ।

उच्च मनोभाव र नियमित स्वास्थ्य परीक्षण
गर्भधारणका समयमा महिला र पुरुष दुवैले राम्रो मनोभावना राख्ने, नडराउने, चिन्ता नलिने, झगडा नगर्ने, शरीर सफा राख्ने, कपडा सफा लगाउने गर्नुपर्छ । गर्भधारणका समयमा महिलाजति तनावबाट मुक्त रहन्छिन्, बच्चा पनि त्यति नै स्वस्थ र सुन्दर रहन्छ । यस्तै गर्भवती भएपछि नियमित चेकजाँच गर्ने, पर्याप्त मात्रामा खानपिन गर्ने, भारी कुरा नबोक्ने र नियमित चिकित्सकको सम्पर्कमा रहने गर्नुपर्छ ।

बच्चा जन्माउने उपयुक्त उमेर
डा. चन्दा कार्की, स्त्रीरोग विशेषज्ञ
स्वस्थ बच्चा जन्माउनका लागि सबैभन्दा उपयुक्त उमेर भनेको २० देखि ३० वर्षसम्मको उमेर हो । त्यसपछि क्रमशः उमेर बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ ।स्वास्थ्य अवस्थाका आधारमा ३५ वर्षसम्मका महिलाले राम्रोसँग बच्चा पाउन सक्छन् । त्यस्तै २० वर्षभन्दा कम उमेरका महिलाले पनि बच्चा पाउँदा जोखिम हुन्छ ।
महिलाको उमेर १९ वर्षभन्दा कम छ भने सन्तान पाउनका लागि केही समय पर्खिनु नै उत्तम हुन्छ । ३५ वर्ष उमेर नाघिसकेकी महिलाबाट जन्मने बच्चामा पनि डाउन्स सिन्ड्रोमजस्ता जन्मजात विकार आउने सम्भावना हुन्छ । बच्चा जन्माउने क्रममा१९ वर्षभन्दा कम उमेरका गर्भवतीको मृत्यु हुने जोखिम२० देखि ३० वर्षबीचका महिलाहरूमा भन्दा ६० गुणा बढी हुन्छ।
ढिलो बिहेले पुरुषको प्रजननशक्ति अर्थात् शुक्राणुमा कमजोरी आउँछ र यस्ता शुक्राणुमा गति पनि हुँदैन । बढी उमेरमा पुरुषको शुक्राणु बन्ने संख्यामा पनि कमी आउँछ  । यसबाट गर्भ रहन समस्या हुनुका साथै कमजोर बच्चा जन्मने सम्भावना हुन्छ । यस्तै, बढ्दो उमेरसँगै महिलाको अण्डाको गुणस्तरीयतामा पनि कमी आउँछ ।
बढ्दो उमेरका अतिरिक्त आधुनिक जीवनशैली, तनाव र प्रदूषणका कारण पनि प्रजनन शक्तिमा असर पर्छ । उच्च रक्तचाप, मधुमेह वा थाइराइडजस्ता रोग प्रजनन शक्तिका लागि बाधक हुन् । यस्तै, उमेरखाएका महिलामा गर्भाशयको ट्युमर हुने सम्भावना पनि हुन्छ ।

 उच्चरक्तचाप र गर्भधारण
डा. प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ
उच्च रक्तचाप र गर्भधारण दुवैले मुटु र मिर्गौलालाई असर पार्छन् । त्यसैलेउच्च रक्तचाप भएका महिलाले गर्भधारण अगाडि मुटु र मिर्गौलाको स्थितिको जाँच गर्न आवश्यक छ । स्वास्थ्य जाँचका क्रममा ती अंगमा समस्या देखिएमा पहिले नैउपचार गराईसुरक्षित अवस्थामा आएपछि मात्र गर्भधारण गर्नुपर्छ । उपचारपछि पनि मुटु र मिर्गौलाको अवस्थामा सुधार नखनए गर्भधारण गर्नु हुँदैन ।

 यसैगरी उच्च रक्तचाप नियन्त्रणको औषधि सेवन गरिरहेका महिलाले आफूले खाइरहेको औषधि गर्भका लागि सुरक्षित छ कि छैन बुझ्नुपर्ने हुन्छ । गर्भको पहिलो तीन महिना कुनै पनि औषधिको सेवन नगर्नु उचित हुन्छ किनकि औषधिले भ्रुणको अंग निर्माण र विकास कार्यमा नकारात्मक असर पार्छ । रक्तचाप धेरै घट्यो भने गर्भको बच्चालाई खतरा उत्पन्न हुन्छ किनकि रक्तचाप कम हुँदा बच्चाको शरीरमा रक्तसञ्चार पनि कम हुन्छ र अक्सिजन तथा खाद्य पदार्थको आपूर्तिघट्छ । यसकारण औषधिको मात्रा एकदम मिलाएर खानुपर्ने हुन्छ ।
उच्च रक्तचाप भएका महिलामा जिउ सुन्निएर आयो, पिसाब कम भयो, आँखा धमिलो भयो भने तुरुन्त जँचाउनुपर्छ। यस्तो अवस्था बढ्दै गएमा छारे रोगमा जस्तो जिउ बटारिने र बेहोस हुने हुन्छ । अनि आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्छ ।

 दाँत तथा मुख स्वास्थ्य

डा. हरिश जोशी
बच्चा जन्माउन चाहने दम्पतीले शरीरका अन्य अंगसँगै मुख तथा दाँतको पनि जाँच गर्नु आवश्यक छ । गर्भवती अवस्थामा महिलाले खाएको खानपिनकै आधारमा बच्चाले शक्ति पाउने हो । तर, आमाको मुख तथा दाँतमा समस्या छ भने त्यसले बच्चामा पनि असर गर्न सक्छ । गर्भवती अवस्थामा महिलालाई औषधि खुवाउन नहुने भएकाले सुरुमै दाँत तथा मुखको उपचार गर्नु जरुरी छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।