यतिखेर समृद्धि राईको म चाहिँ नेपाली बोलको गीत चर्चाको शिखरमा छ। दु:खको कुरो, चर्चा जसरी हुनुपर्थ्यो, त्यसरी नभई अर्कै तरिकाबाट भएको छ। सोसल मिडियामा केही मानिसहरु भन्दैछन्, ‘यसले ठूलो राष्ट्रियताको कुरा गरेर जातजातिको महत्वलाई कम आाकलन गरेको छ।’ विरोध गर्नेहरुले बिर्सिएका छन् कि समृद्धि आफैं जनजाति समुदायकी हुन्। उनको गीतले राष्ट्रिय अखण्डताको वकालत गर्ने सुन्दर प्रयत्न गरेको भनेर प्रशंसा गर्नेहरु उत्तिकै भएको युट्युबमा चुलिएको हिटले पनि दर्शाउँछ।
हुन त माथिका दुवै कुरा त्यति महत्वपूर्ण होइनन्। सोसल मिडियामा आएका कुरा पनि नाजायज होइनन्, किनकि ‘लोकतान्त्रिक’ मुलुकमा यी सामान्य हुन्। मानिसहरुले बोल्न, मनभित्र रहेको ऐंठन फुकाल्न मज्जैसँग पाउनुपर्छ। त्यसमाथि यो नयाँ नेपाल निर्माणको जग बसाल्ने बेला त झन् त्यसको स्वागत नै हुनुपर्छ। मेरो प्रश्न एउटै हो, के राष्ट्रियता जातीय मुद्दाको तानातान र लुछाचुँडीले मात्रै बलियो हुने हो त? हरेक कुरामा जात, धर्मभन्दा माथि उठ्न नसकी बिषयलाई ‘सेन्सेसनल’ (संवेदनशील) बनाउँदा संविधानमा केही बलिया धारा त थपिएलान्, आरक्षणमा केही प्रतिशत हिस्सा बढी त होला तर हामीमा नेपाली हुनुको आपसी भावना दिनप्रतिदिन कमजोर हुनेछ।
जसले जे भने पनि एउटा सत्य के हो भने, हामी नेपाललाई हृदयदेखि नै माया गर्छौँ। नेपाली हुनुमा हामी सबैलाई उत्तिकै गर्व छ। हिमालमा जन्मेको शेर्पाले नेपाललाई जति प्रेम गर्छ, तराईमा जन्मेको थारुले पनि त्यति नै निष्ठाका साथ नेपाललाई प्रेम गर्छ। त्यसैले त आज नेपाल छ, अनि हामी नेपाली छौं। नेपाल आमाको काखमा हुर्किएका हरेकले आफ्नो हृदयमा नेपाललाई सजाएकै छ। अनि त आज पनि ‘‘जसो गर जे भन जतासुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो’’ भनेर मख्ख पर्छौँ हामी।
समृद्धिको ‘म चाहिँ नेपाली’ गीतले धेरैको हृदयमा मिठो स्पर्श गरेको छ। नगरोस् पनि कसरी गीतका प्रत्येक शब्दले हामीलाई एक अर्कासँग अझ नजिक ल्याउने प्रयास गरेको छ। सद्भावना, समझदारी अनि एकताको भावनाले हामीलाई बलियो बनाउने कुरा नराम्रो कहिले पो छ र?
केही मानिसहरुले गीतको भावलाई अलि भिन्न तरिकाले बुझेका छन्। गीतले जातीय आन्दोलनको मर्म नबुझेको भनेपछि मैले गीतलाई दशौं पटक सुनेँ। त्यसो किन पनि आवश्यक थियो भने गीतको भिडियोमा केही ठाउँमा म पनि देखिएको छु। तर, मलाई त हरेकपटक गीतले नेपाली हुनुको गर्व नै महसुस गराएको छ।
म स्वयं मुस्लिम परिवारमा जन्मेहुर्केको व्यक्ति हुँ। मेरा धेरै मुसलमान साथीहरु छन् अनि तीभन्दा बढी अन्य धर्ममा आस्था राख्नेहरु। हुन त ‘ह्वाट इज योर रिलिजियन इज अ रङ कोइश्चन’ भन्ने मान्यता राख्ने म कुनै पनि धर्म अनि जात जातिबीच पूर्वाग्रह राख्दिन। मेरा औँलामा गन्न सकिने थोरै मुस्लिम साथीहरुले सुनाएजस्तो आजका दिनसम्म कहिल्यै मैले राख्ने धार्मिक आस्था वा मान्ने संस्कारका कारण कुनै असामान्य व्यवहार भोग्नुपरेको छैन। न त कहिल्यै कुनै हिन्दु, बौद्ध, ईसाई वा अन्य धार्मिक आस्था राख्ने मित्रहरुप्रति मैले कुनै किसिमको गलत व्यवहार नै गरेको छु। म ईदमा अन्य धर्म मान्ने साथीहरुलाई घरमा बोलाउछु र उनीहरु दशैँ–तिहार, छठ अनि अन्य पर्वमा मलाई निम्तो गर्छन्। उनीहरु आएका छन्। म पनि सङ्कोचै नमानी गएको छु। बरु समाजमा अहिले जसरी जात र धर्मका कुरा उठेका छन्, मलाई डर लाग्न थालेको छ यस्तो परिवेश पछिसम्म नरहला कि भनेर।
नेपाल सुन्दर हुनुको एउटा कारण हामीमा भएको बिविधता पनि हो। हाम्रो बेग्लै धर्म, भाषा, शैली अनि जातीय पहिचान छ। बिविधतालाई हामीले स्वीकार्नु, अनि एक अर्कालाई सम्मान गर्नु बुद्धिमानी हो भनेर मैले यो लेखबाट कसैलाई भनिराख्नुपर्ने कुरा होइन। जातीय सद्भावलाई कायम राखे राष्ट्रियता अझ मजबुत हुन्छ भन्ने म राम्ररी बुझ्दछु। आजको समयमा हाम्रो राष्ट्रिय परिचय र राष्ट्रप्रेमको महत्व मैले पनि बुझेको छु। समृद्धि राईले पनि यो कुरा राम्ररी बुझेर नै यस गीतको परिकल्पना गरेको हुनुपर्छ भन्ने मेरो बुझाई हो।
‘म चाहिँ नेपाली’ भन्दै गर्दा नेपाली हुनुको गर्व झल्किन्छ। पहिला नेपाली, अनि नेपाली हुनुको परिचय मेरा लागि जात, भात, वर्ग, लिङ्ग वा अन्य कुनै परिचय भन्दामाथि छ भन्नु यो गीतको तात्पर्य हो। सानातिना कुरामा नअल्झी समग्र समाज र देशका लागि सोच्ने हो भने कुरा गलत होइन। गीतमा कुनै जात वा समाजलाई धक्का दिने प्रसङ्ग उल्लेख पनि त छैन।
के हिमाली, के पहाडी अनि के तराईबासी, राष्ट्रप्रेम हामी सबैमा उत्तिकै छ। कहिले लेख रचना, कहिले गीत संगीत अनि कहिले अन्य कुनै बाटोबाट, राष्ट्रप्रेम झल्काउन हामी पछि पर्दैनौं। नामको अन्त्यमा नेपाली जोडेर होस् वा ‘आई लभ नेपाल’ भन्ने टी–सर्ट लगाएर होस्, नेपाली हुनुको गर्व हामी प्रष्ट्याउन चाहन्छौं। केही साथीहरुले ‘वाक फर नेपाल’ भन्दै त केहिले ‘राष्ट्र पहिले’ भनेर अभियान नै चलाइरहेका छन्। सबैको सोच अनि प्रयास एउटै छ, नेपालीमा एकता ल्याउने। अनि यि प्रयासहरुको एउटा सानो अंश, “म चाहीँ नेपाली’’ नामक गीत।
गीत संगीत यसै पनि भावनात्मक हुन्छन्। यिनको विश्लेषण सतही होइन भावनात्मक हुनुपर्छ। भाषा, धर्म अनि संस्कृतिप्रतिको लगाव हामीमा हुनु पनि स्वभाविक हो। स्वभाविक के पनि हो भने, हामी यि सवै भूमिकाभन्दा माथि नेपाली हौँ। नेपाली हुनुमा हामी गर्व गर्छौँ अनि गर्नुपर्छ पनि। गीतमा पोखिएको भाव पनि आखिर यहि नै हो। शब्दकै जालोमा झुण्डिने हो भने पनि, गीतले ‘तिमी नेपाली होइनौ, म चाहीं नेपाली’ भनेको छैन, ‘तिमि को हौ थाहा भएन, म चाहीं नेपाली’ भनेको छ।
यति भन्दै गर्दा हाम्रो भेषभुषा, धर्म, संस्कृति अनि मौलिक मान्यताको कुनै मूल्य छैन भन्नु मेरो तात्पर्य कदापि होइन। नेपाली, नेपालमै काम गर्ने र नेपालकै भलाईका लागि सोच्ने म अनि मजस्तै सम्पूर्ण युवाले देशको बिविधता र संस्कृतिलाई त्यत्तिकै महत्व दिएर माया गरेका छन्। तर यि सब कुरा राष्टियताभन्दा ठूला हुन् भन्नेहरुसित भने मरो बिचार पटक्कै मिल्दैन। फरक मत राख्नेहरु प्रति मेरो सहानुभुति छ।
हाम्रो नाम, थर, रुपरङ्ग, धर्म, संस्कृति एक छैनन्, तसर्थ हामी एक होइनौं भन्नु कहाँको समझदारी हो ? राष्ट्रियता भन्ने चिज मनमा हुन्छ रुप रङ र जातभातमा होइन्। नेपाल आमाको एउटै काखमा मिलेर बस्नु, नेपाली भनेर पहिचान बोक्नुले के हामीलाई एक बनाएको छैन र ? आपसी मेलमिलाप र समझदारीमा रहेर सिङ्गो परिचयमा गर्व गरौँ भन्ने कुरामा प्रश्न उठाइनु एउटा सर्वसाधारण नेपालीका हैसियतले मलाई रत्तिभर चित्त बुझेन। महाकवि देवकोटाको वाणी याद आयो, ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।’
प्रसंगै नबुझी ‘तिमीमात्र नेपाली ? हामीचाहीँ होईन?’ भनेर सोध्नेले खै गीत ध्यान दिएर सुनेको? एक सज्जनले लेखेछन्, ‘तिमी को हौ थाहा छैन् भनेर कसलाई सोधेको होला ?’ गीतको १ मिनेटमै भनेको छ त– ‘जातभात छुट्याउनेलाई तिमी आई भन्ने गर, तिमी को हौ थाहा छैन, म चाहीँ नेपाली।’ १ मिनेट गीत सुन्ने धैर्यता र सुनेर बुझ्ने प्रयासै नगरी कलम चलाउने सज्जनलाई म के भनौँ खै ?
जातीय सद्भाव, धार्मिक मुल्य अनि मान्यताजस्ता विषय निकै संवेदनशील हुन्। यिनको आडमा लुकेर अनावश्यक होहल्ला मच्चाउनु कतिसम्म सही हो ? लेख्नकै लागि लेखेर, अनि स्वर मच्चाउनकै लागि बोल्नु ठीक होला र ? राष्ट्रियतामा शंका ‘म नेपाली हुँ’ भनेर भन्नेहरुमा होईन बरु अरुले हो भन्दै गर्दा ‘ईन्फेरिटी कम्प्लेक्स’ दर्शाउनेहरुमा देख्छु म।
जातीय पहिचान बोक्नु गलत हुँदै होईन। तर, जातीय पहिचानलाई नै सबैकुरा मान्नु सही हो र ? के राष्ट्रिय पहिचानको कुनै मुल्य छैन ?
समय, सन्दर्भ अनि सोचमा बिविधता आउँदा गीतले भनेजस्दै गरेर समता अनि समानताका बारेमा बिश्लषण नगरेको नबुझिएला। तर, फरक दृष्टिकोण र सकारात्मक भावनावाट नियाल्दा गीतको स्वरुप कस्तो छ भनेर सबैले एकपल्ट फेरी सुन्नुपर्ला। सरोज कार्की लेख्छन्, ‘गीत अनि कविता भावनाले बन्ने हो। लेखकको भावनासँग पाठक श्रोताको भावना मेल खान्छ नै भन्ने हुदैन तर शब्द र भावनालाई अतिरन्जित पारेर विश्लेषण गरिदिँदा त्यसले अर्कै प्रभाव पारिदिन्छ, एउटा अनावश्यक अनि नकारात्मक प्रभाव।’
जातभात, संस्कृति सबै मानिसले बनाएका कुरा हुन्। तर भावना भन्ने कुरा कुनै ‘कन्स्ट्रक्सन’ भएको चिज होइन। यो हृदयमा आफैं पलाउँछ। र, सबैभन्दा महत्वपूर्ण त्यही भावना जोड्नु हो जसले बल्ल राष्ट्रियता बलियो बनाउँछ। अनि बल्ल स्वभाविक रुपमा आपसी प्रेम, सम्मान र मर्म बुझ्न सकिन्छ। विविधतापूर्ण भूमिका हामीबीच आपसी भावना बलियोसँग जोड्ने त्यही कडी हो, हामी नेपाली हुनुको गौरव पनि। मैले बुझेको समृद्धि राईको गीत त्यही हो।
Comments
Post a Comment