Skip to main content

दाताको सहयोग ‘बाँदरका हातमा नरिवल’ हुने डर सोचेभन्दा बढी पुँजी जुट्यो, तर खर्च गर्ने क्षमता खै ?

११ असार, काठमाडौं । ‘दाता सम्मेलनबाट कति रकम उठ्ने सरकारको अपेक्षा छ ?’ भनेर चार दिनअघि संसदको अर्थ समितिमा सभासदहरुले प्रश्न गर्दा अर्थसचिव सुमनप्रसाद शर्माले भनेका थिए,’दाताहरुले सम्मेलनमै पीडीएनएको एकतिहाइ जति सहायताको घोषणा गर्ने अपेक्षा छ, यो प्रस्थानबिन्दुमात्रै हो, सम्मेलनपछि पनि थप सहयोग आउने आशा छ ।’
पीडीएनए तयार पार्ने निकाय योजना आयोगका सदस्यहरु प्रतिवेदनमा उल्लेख भएकोमध्ये एकतिहाइ रकम मात्रै सहयोग आउने बताउँदै थिए ।
सम्मेलनमार्फत नेपालको पुननिर्माणका लागि २ देखि अढाई खर्ब रुपैयाँ उठ्ने सरकारी अधिकारीहरुको अपेक्षा थियो । तर, झण्डै अनुमान गरिएभन्दा दोब्बर सहयोगको प्रतिवद्धता आएको छ ।
राष्ट्रिय योजना आयोगले पुनर्निर्माण र नवनिर्माणका लागि ६ खर्ब ७० अर्ब रुपैयाँ लाग्ने प्रतिवेदन तयार पारेको थियो । अर्थमन्त्री डा. रामशरण महतले दाता सम्मेलनमा त्यही प्रतिवेदन प्रस्तुत गरेका थिए । तर, बिहीबार राजधानीको सोल्टी होटलमा भएको दाता सम्मेलनमा सरकारी अधिकारीहरुको अपेक्षाभन्दा निकै बढी आर्थिक सहायताको घोषणा भयो ।


भारत, चीन, विश्व बैंक, एसियाली विकास बैंक, जापानलगायतका दाताहरुले ४ खर्ब ४० अर्ब रुपैयाँ अनुदान तथा ऋण सहयोग दिने घोषणा गरे ।
सरकारले ७० देश तथा दातृ संस्थाहरुलाई बोलाएकोमा सम्मेलनमा ५८ देश तथा दातृ संस्थाका ३ सय प्रतिनिधि उपस्थित भए । ‘अन्तराष्ट्रिय सम्मेलनको परिणामले हामीलाई निकै उत्साहित बनाएको छ ।’ सम्मेलनपछि अर्थमन्त्री डा. रामशरण महतले अनलाइनखबरसँग भने ।

सरकारको सफलता
आफूले सोचेभन्दा बढी अरुले दिन्छ भने त्यो अवस्थामा जो कोही पनि खुसीले गदगद हुन्छन नै । सम्मेलनको परिणामले अर्थमन्त्री महतमात्रै होइन, सरकारका अन्य अधिकारीहरु पनि निकै खुसी छन् । परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले पनि दाता सम्मेलन सफल भएको भन्दै निकै उत्साहपूर्णरुपमा खुसी प्रकट गरे । मुख्यसचिव लीलामणि पौडेलले पनि सरकार उत्साहित भएको प्रतिक्रिया दिए ।
दाता सम्मेलनको सफलताले अर्थमन्त्री डा. महतलाई सबैभन्दा बढी फाइदा भएको छ । दातालाई अर्थमन्त्रीले कन्भिन्स गर्न सकेकाले यति ठूलो सहायता जुटेको भन्ने जस महतलाई गएको छ । महतलाई पुँजी जुटाउन सक्ने अर्थमन्त्रीकोरुपमा यसअघि पनि लिइन्थ्यो ।
दोस्रो, यो आर्थिक वर्षका लागि बजेटमा उल्लेख गरिएका आर्थिक सूचकांकहरुको लक्ष्य पूरा हुने छाँटकाँट थिएन । जसले महालाई असफल अर्थमन्त्री बनाउने लगभग पक्का थियो । लक्ष्य पूरा गर्ने विकल्प पनि अर्थमन्त्रीसँग केही थिएनन । तर, विनासकारी भूकम्पले महतलाई असफल अर्थमन्त्री बन्नबाट जोगाएर सफल बनाइदिएको छ ।

बाँदरका हातमा नरिवल हुने डर
हामीलाई पुननिर्माणका लागि आवश्यक भनिएको ६ खर्ब ७० अर्ब रुपैयाँ हो । यसअघि नै सरकारले पुननिर्माणका लागि २ खर्बको कोष खडा गरिसकेको छ । उक्त स्रोत जुटाउने फिस्कल स्पेस -वित्तीय ठाउँ) छ । सरकारले राजस्व, आन्तरिक ऋण वा अन्य स्रोतबाट २ खर्ब त के ४ खर्ब पनि उठाउन सक्छ । किनभने पुननिर्माणको अवधि पाँच वर्षको हो ।
दाताहरुले नेपालको पुननिर्माणका लागि दिल खोलेरै सहयोग गरे, सम्मेलनमा घोषणा गरेको सबै प्रतिवद्धता आयो र त्यसको प्रभावकारी कार्यान्वयन भयो भने नेपालको पुननिर्माण गर्न कठिन छैन । तर, यही सोच, काम गर्ने पुरानो शैली र यही सरकारी संयन्त्रबाट भने सहायताको प्रभावकारी हुन्छ भनेर विश्वास गर्न सकिँदैन ।
साढे ४ खर्ब दिने दाताहरुले प्रतिवद्धता जनाइसकेका छन् । यसमा भारतले आगामी पाँच वर्षमा दिने भनी घोषणा गरेको १ खर्ब सहुलियत दरको ऋण र अन्य देशले गरेको प्रस्ताव समावेस गरिएको छैन । जसअनुसार करिब ६ खर्ब रुपैयाँ दाताहरुबाट आउने लगभग निश्चित छ ।
चालू आर्थिक वर्षको ११ महिना वितिसक्दा पनि सरकारले बिनियोजित बजेटको ४० प्रतिशत मात्रै पुँजीगत खर्च गरेको छ । जुन रकममा ६०/६५ अर्ब रुपैयाँ मात्रै हुन आउँछ ।
विकासका लागि एक वर्षमा एक खर्ब रुपैयाँ खर्च गर्ने हैसियत नराख्ने सरकारले पुननिर्माण र विकासका लागि एकै वर्ष दुई/तीन खर्ब रुपैयाँ खर्च गर्ने क्षमता राख्न सरकारले के-के गर्‍यो ? विश्वास गर्ने बलियो आधार अहिलेसम्म देखिँदैन । सरकारको नेतृत्व गर्नेहरुको यही सोच, यही कर्मचारीतन्त्र र यही सिस्टममार्फत दाताले दिएको रकम खर्च गर्न संभव छैन ।
नवनिर्माणका लागि दाताहरुले दिल खोलेर दिएको सहयोग बाँदरका हातमा नरिवल जस्तै हुने खतरा छ । बाँदरले जटासहितको नरिवल पायो भने फुटाएर खान नसक्ने भएकाले ‘बाँदरका हातमा नरिवल’ भन्ने चर्चित उखान नै छ । खर्च गर्ने क्षमता नभएको सरकारलाई दाताहरुको सहयोग बाँदरका जटासहितको नरिवल जस्तै हुनसक्छ । त्यसैले सहायता आउँदैमा जनताहरुले दिपावली मनाइहाल्नुपर्ने कारण छैन ।

यसकारण आउँदैन घोषणा भएजति रकम
केही दाताहरु आफूले गरेको सहयोग घोषणाको रकम कुनै न कुनैरुपमा आफ्नै देश फर्काउने दाउ लिएर बसेका छन् ।
यूरोपियन यूनियनले घोषणा गरेकोमध्ये आधा सहयोग त यसअघि नै भएको खर्च उल्लेख गरेको छ । र, बाँकी रकममध्येको अधिकांश हिस्सा पनि आफ्नै आइएनजीओमार्फत खर्च गर्ने संकेत गरेको छ । जुन पुननिर्माणका नाममा नेपालमा क्रिस्चियन धर्मको प्रचार गर्ने गतिलो माध्यम बन्न सक्छ । बेलायतले पनि घोषणा गरेको सहायताको आधा रकम पहिल्यै खर्च भइसकेको जनाएको छ ।
त्यस्तै, एसियाली विकास बैंक, विश्व बैंकलगायतका दातृ संस्ताहरुले र्तेस्याउने कडा सर्तहरु पनि राष्ट्रको भन्दा उनीहरुको हितमा केन्दि्रत हुन सक्छन् ।
अनुदानको रकम सीधै सरकारको बास्केटमा आउने र सरकारले आफूले चाहे अनुसार खर्च गर्न सकेपनि सहुलियत दरको ऋणलगायतका अन्य सहायतामा भने दाताको पनि इन्ट्रेस्ट हुन्छ ।
नेपालले आफूखुसी विकास परियोजनामा खर्च गर्न सक्नेगरी भनी ११ महिनाअघि भारतीय प्रधानमन्त्रीले घोषण गरेको सहुलियत दरको १ खर्ब रुपैयाँ ऋण सरकारले अहिलेसम्म प्रयोग गर्न सकेको छैन ।
सम्मेलनमा २ खर्ब २० अर्ब अनुदान र २ खर्ब २० अबं सहुलियत दरको ऋण सहयोग गर्ने दाताहरुले घोषणा गरेका छन् । सहुलियत दरको ऋणलाई छोडेर दाताले दिएको अनुदान मात्रै पनि सदुपयोग गर्ने हो भने नेपालको नवनिर्माणमा ठूलो राहत मिल्नेछ । तर, भूकम्प पीडितका नाममा त्रिपाल, जस्ता, कम्बल, चाउचाउ, विस्कुटकै त दुरुपयोग गर्ने मन्त्री र कर्मचारीतन्त्रबाट सहायताको पूर्ण सदुपयोग हुन्छ भन्ने आश गर्नु निरर्थक हुन्छ ।
दाताहरुले दिएको रकम साँच्चै खर्च गर्ने हैसियत बनाउने हो भने सरकारले गठन गर्न लागेको पुननिर्माण प्राधिकरणलाई स्वायत्त, व्यवसायिक र अधिकारसम्पन्न बनाइनुपथ्र्यो ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।