नेपाली चाडपर्व उस्तै छन् तर मनाउने शैली बदलिएको छ । चाडपर्व आफ्नै रफ्तारमा आएका छन् तर प्रविधिले मानव जीवनमा नै उथलपुथल ल्याएको छ । दशैं, तथा नयाँ बर्षमा भेटेर, पोष्टकार्ड तथा फुलको गुच्छा साँटासाँट गर्ने चलनमा पनि सूचनाप्रविधिले बदलिदिएको छ । परिर्वतन कति छिट्टै आयो ! भेट्ने, गला जोड्ने, पोष्टकार्ड र फूलको गुच्छा दिएर आत्मियता साट्नेहरु घट्दै छन् । फेसबुक ,टि्वटरका भित्ताहरुमा शुभकामना साट्ने प्रचलनले व्यापकता पाएको छ ।
अहिले भेटेर नै शुभकामना साटासाट गर्ने चलन त पुरानो भईसक्यो । त्यही चलन पछ्याउनेहरु पनि नयाँ प्रविधिलाई आत्मसात गरिसके । हातहातमा मोवाइल हुनेले एसएमएस, एमएमएस मार्फत आफ्ना मनपर्ने साथी तथा परिवार जनमा शुभकामना आदानप्रदान गर्ने चलन अहिले पुरानो भइसक्यो । इन्टरनेट पहुँच भएकाहरुले सामाजिक सञ्जाललाई नै शुभकामना आदानप्रदान गर्ने माध्यम बनाउनु नौलो रहेन अब । इन्टरनेटमा झुम्नेहरु त सामजिक सञ्जाललाई भरपुर प्रयोग गर्दै आएका छन् । नेपालीहरुको घरदैलोमा आएको बडा दशैं सुरु भएको दुई दिन भइसक्यो तर दशंैका शुभकामना रुपी स्टाट्सले फेसबुक प्रयोगकर्ताको वाल भरिसक्यो । अझै दशैँ आउन एकहप्ता अगावै भएपनि शुभकामनाको ओइरो लाईसक्यो ।
पुरानो जमानाबाट नयाँ जमानामा घचेटिएका प्राध्यापक डा. विश्वकल्याण पराजुलीदेखि युवा पुस्ताका सञ्चारकर्मी लक्ष्म्ाी पल्पसा सम्मले फेसबुककै वालमा शुभकामना टक्र्याए । महानायक राजेश हमालले शुभकामना बाढ्न फेसबुक प्रयोग गरे । नेपालीमाझ लोकप्रिय फेसबुकमा उनले-‘बडा दशैंको पावन अवसरमा समस्त नेपालीहरुमा मेरो मंगलमय शुभकामना । हृयाप्पी विजयादशमी ।’ प्राध्यापक डा. विश्वकल्याण पराजुलीले विजया दशमी २०७० को पावन उपलक्ष्यमा सुस्वास्थ्य, दीर्घायु, प्रगति, शान्ति र सम्वृद्धिृको मंगलमय शुभकामना फेसबुकमा लेखे ।
उज्यालो नेटवर्कमा कार्यरत युवा पत्रकार हिम विष्टले ‘दशैं आफैंमा पर्व हो तर त्यो भन्दा बढी मनभित्र हुनेखुसी र उमंग, रहर, चासो र मान्छेको समयले बढी यसको रंग निर्धारण गर्दो रहेछ । सवैलाई विजयादशमीको शुभकामना ।’ भित्तामा टाँसे फेसबुकको । सञ्चारकर्मी तथा हालसालै सकिएको मिस पोखराको फस्टरनरअप लक्ष्मी पल्पसाले ,दशैंको शुभकामना मेरा साथी तथा सम्मानित व्यक्तिहरुलाई भनेर फेसबुकको भित्तामा राखिन् ।
प्राध्यापक डा. विश्वकल्याण पराजुलीकै भाषामा ‘सामाजिक सञ्जालबाटै साथीभाई तथा आफन्तहरुबीच सम्बन्ध बिस्तार र आत्मिता बढाउन सजिलो भएको छ । यसो भन्दै गर्दा उनले विगतमा कार्ड छाप्ने, पत्रिका, रेडियो हुदै अहिले शुभकामना साटाँसाट गर्ने परम्परालाई भुलेनन् । फेसबुक, टि्वटरजस्ता सामाजिक सञ्जालले दिएको सुविधाबारे अथ्र्याउन उनले धेरै नै शब्द खर्च गरे । ‘समाज बग्ने खोला जस्तै हो । खोला जस्तै भएकोले स्थिर हुदैँन ।’, उनले थपे,’नेपाली समाजको पुरै रुपान्तरण होइन् ,सूचना प्रविधिसँग भिजेकाहरुले मात्रै प्रयोगमा ल्याएका हुन् ।’ नेपालमा इन्टरनेटको पहुँच भएकाले यसको राम्रैसँग फाइदा लिइरहेका उनको बुझाइ छ ।
नेपालमा सामाजिक सञ्जाल फेसबुक, ट्विट्र जस्ता सोसल वेवसाइटले गर्दा प्रयोगकर्ता मात्र ५० लाखभन्दा बढी पुगेका छन् । नेपालमा मात्रै फेसबुक प्रयोगकर्ताको संख्या २१ लाख २४ हजार पुगिसकेको छ । इन्टरनेट पहुँच बढेसँगै सामाजिक सञ्जालका प्रयोगकर्ता बढेका हुन् । वेवसाइटको रेटिङ गर्ने साइट ‘एलेक्सा डटकम’ का अनुसार नेपालबाट सबैभन्दा बढी खोलिने वेवसाइट फेसबुक नै हो । जनता माझ इन्टरनेट पुर्याउने सुचिमा नेपाल १ सय ४८ स्थानमा छ । संयुक्त राष्ट्र संघको स्टेट अफ इन्स्टिच्युटको प्रतिवेदन अनुसार नेपालमा ११ दशमलव १ प्रतिशत जनता इन्टरनेट प्रयोगकर्ता रहेको देखाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कमा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या ६६ लाख ८५ हजार ४ सय २७ पुगेको छ । सन् २०१२ को अन्त्य सम्ममा इन्टरनेट प्रयोगकर्ताको संख्या ५६ लाख ९३ हजार ९ सय १३ थियो ।
Comments
Post a Comment