Skip to main content

भारतीय राष्ट्रपतिलाई आतंकवादीबाट भन्दा नेपालीबाट खतरा!



काठमाडौं— भारतीय राष्ट्रपति प्रणव मुखर्जीको बुधबारदेखि हुने तीनदिने नेपाल भ्रमणलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ । तीन घेरामा उनको सुरक्षा व्यवस्था मिलाइएको छ।

गृह मन्त्रालय उच्चस्रोतका अनुसार भारतीय गुप्तचर निकायको सहकार्यमा गरिएको सुरक्षा विश्लेषणमा आतंकवादी संगठन, भारतीय अतिवादी संगठनभन्दा पनि पछिल्लो भारतीय नाकाबन्दीबाट चिढिएका नेपालीले नै मुखर्जीलाई अपमान गर्न सक्ने सम्भावनालाई ध्यान दिई तीन घेरामा सुरक्षा योजना बनाइएको छ ।

भारतीय तत्कालीन राष्ट्रपति केआर नारायणले मे १९९८ मा गरेको नेपाल भ्रमणपछि पहिलोपटक भारतीय राष्ट्रप्रमुखबाट नेपाल भ्रमण हुन लागेको हो । भारतले नेपालको राजनीतिक स्थिति र त्यसबाट उत्पन्न सुरक्षा चुनौतीलाई भ्रमण नहुनुको कारक बताउँदै आएको थियो।


राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा मुखर्जी नेपाल आउन लागेका हुन् । उनको भ्रमणलाई नेपाली पक्षले ऐतिहासिक बनाउने तयारी गरेको छ। काठमाडौंमा महŒवपूर्ण भेटघाट गर्ने मुखर्जीले जनकपुर र पोखरा भ्रमण पनि गर्नेछन्।

कात्तिक पहिलो सातादेखि नै सुरक्षा अधिकारीले मुखर्जीको भ्रमणलाई लिएर सुरक्षा योजना तयारी गरिरहेका छन् । सुरक्षा अधिकारीले पटकपटक पोखरा र जनकपुर पुगेर सुरक्षा अवस्थाबारे जानकारी लिइरहेका छन्। पछिल्लोपटक उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसहितको सुरक्षासम्बद्ध टोलीले शनिबार जनकपुर र पोखराको स्थलगत अवलोकन गरेको छ।

‘हामीले सुरक्षा चुनौतीको विश्लेषणपछि आवश्यक सुरक्षा प्रबन्ध गरेका छौं, सबै तयारी पूरा भएको छ, प्रविधिको प्रयोगसमेत आवश्यकताअनुसार हुनेछ,’ गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले भने । उनका अनुसार मुखर्जीको भ्रमण तालिकाअनुसार सवार हुने सडक, भेटघाटस्थल, सार्वजनिक कार्यक्रम र उनी बस्ने ठाउँमा सुरक्षा घेरा मिलाइनेछ।

 भारतीय गुप्तचर निकायको सहकार्यमा गरिएको सुरक्षा विश्लेषणमा आतंकवादी संगठन, भारतीय अतिवादी संगठनभन्दा पनि पछिल्लो भारतीय नाकाबन्दीबाट चिढिएका नेपालीले नै मुखर्जीलाई अपमान गर्न सक्ने सम्भावनालाई ध्यान दिई तीन घेरामा सुरक्षा योजना बनाइएको छ ।
राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी मुखर्जीलाई बुधबार अपराह्न त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गर्नेछिन् । मुखर्जी विमानस्थलमा अवतरण गरेपछि उनका अंगरक्षकसँगै नेपाली सेनाले पहिलो घेराको सुरक्षा जिम्मेवारी लिनेछ । अति विशिष्ट पाहुनाको सुरक्षाका लागि निर्माण भएको कार्यविधिअनुसार मुखर्जी भ्रमणको सुरक्षा जिम्मेवारी नेपाली सेनाले लिएको छ । एकीकृत विशेष सुरक्षा योजनाअनुसार भ्रमण सुरक्षा प्रबन्ध मिलाइएको हो।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव पन्थीका अनुसार मुखर्जीको सवारी व्यवस्थापन तथा सुरक्षाका लागि बनाइएको संयुक्त संयन्त्रको निर्देशन र निगरानीअनुसार भ्रमण तालिका र कार्यक्रम हुनेछ । उनका अनुसार सेनाले पहिलो घेरामा तथा दोस्रो र तेस्रो घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिनेछन् ।

मुखर्जीको नेपाल भ्रमण तय भएयता नेपाल र भारतीय सुरक्षा अधिकारीसहित गृह मन्त्रालयका अधिकारीले सुरक्षा व्यवस्था निगरानी गरिरहेका छन् । भारतबाट असोज अन्त्यमा आएको सुरक्षा टोली काठमाडौं, जनकपुर र पोखराको  स्थलगत भ्रमण गरेर फर्किएको थियो । गृहका अनुसार भ्रमण तय भएपछि भारतीय सीमावर्तीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत विशेष निगरानी हुँदै आएको छ।

‘गृहमन्त्रीको नेतृत्वमा शनिबार सुरक्षा निकायका प्रमुखसहितको टोलीबाट जनकपुर र पोखराको निरीक्षण भ्रमण भएको छ, सुरक्षा योजनाअनुसार सबै कार्यक्रम हुनेछ,’ प्रवक्ता पन्थीले भने।

धुलिखेल भ्रमण रद्द
काठमाडौं विश्वविद्यालयले धुलिखेलमा विशेष कार्यक्रम गरी राष्ट्रपति मुखर्जीलाई मानार्थ विद्यावारिधि उपाधि प्रदान गर्ने कार्यक्रम रहे पनि अन्तिममा आएर रद्द भएको छ । धुलिखेलसम्म पुग्ने बाटो र कार्यक्रम स्थलको अवस्थाका कारण त्यहाँको भ्रमण रद्द गरिएको प्रवक्ता पन्थीले बताए । उनका अनुसार भौतिक अवस्था सुरक्षाअनुकूल नभएका कारण धुलिखेल भ्रमण रद्द भएको हो । ‘धुलिखेलसम्मको बाटो र कार्यक्रम स्थलका कारण भ्रमण रद्द भएको हो,’ पन्थीले भने।

जामरसहितको कारगेट
सुरक्षा योजनाअनुसार नेपाल प्रहरीसँग रहेका दुईसहित थप एक जामर (वेब फ्रिक्वेन्सी रोक्ने यन्त्रसहितको गाडी) तयारी अवस्थामा राखिएको छ । मुखर्जीको कारगेट ( सवारीमा रहने अगुवा, पछुवा गाडीको लस्कर) को बीचमा जामर रहनेछ । अत्याधुनिक जामरले सय मिटरवरपरको क्षेत्रमा मोबाइल, डिजिटल डिभाइसलगायत विद्युतीय उपकरण निष्क्रिय पारी सञ्चार सम्पर्क विच्छेद गरिदिन्छ । मुखर्जीको भ्रमणका बेला काठमाडौंसहित पोखरा र जनकपुरमा समेत जामरसहितको कारगेट व्यवस्था गरिएको छ ।  सुरक्षाकै कारण राष्ट्रपति मुखर्जीको आवागमन हुँदा सडक खाली गरिनेछ  ।

कमान्ड सेन्टरको नियन्त्रणमा सुरक्षा प्रबन्ध
मुखर्जीको भ्रमण अवधिभर आवश्यकताअनुसार विमानस्थल, उनी बस्ने होटल हायात र गृह मन्त्रालयमा कमान्ड सेन्टर स्थापना गरिनेछ । यसबाहेक सेनाको आफ्नै र महानगरीय प्रहरी कार्यालयमा रहने कन्ट्रोलबाट उनको भ्रमणको निगरानी गरिनेछ।

कमान्ड सेन्टरबाट मुखर्जी भ्रमणको निरन्तर अपडेट र आवश्यकताअनुसार निर्देशन दिइनेछ । नेपाल प्रहरीका एक अधिकारीका अनुसार सबै निकायको संलग्नता रहने समन्वय केन्द्र स्थापनाको तयारीसमेत भइरहेको छ । नेपाल प्रहरीबाट अनुमानित दुई हजार पाँच सय, सशस्त्र प्रहरीबाट आठ सय र नेपाली सेनाबाट एक हजारभन्दा बढी अधिकारी सुरक्षामा प्रत्यक्ष खटिनेछन् । नेपाल प्रहरीको विशेष कार्यदल र सेनाको रेन्जर गणबाट सुरक्षाकर्मी खटाउने तयारी छ ।

मुखर्जीले भ्रमणको पहिलो दिन बुधबार राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेटवार्ता गर्नेछन् । दोस्रो दिन बिहान उनले पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन् । राजधानीमा हुने काठमाडौं विश्वविद्यालयको विशेष दीक्षान्त समारोह र नीति प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा पनि सोही दिन मुखर्जीले सम्बोधन गर्ने तय भएको छ । सोही दिन काठमाडौं महानगरपालिकाले मुखर्जीलाई नागरिक अभिनन्दन गर्नेछ । भ्रमणको अन्तिम दिन शुक्रबार बिहान जनकपुर पुगेर उनले जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नेछन् । उनलाई जनकपुरवासीले नागरिक अभिनन्दन गर्नेछन् । जनकपुर भ्रमणपछि उनी सीधै पोखरा जानेछन् । उनी शुक्रबार बेलुका स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।