Skip to main content

नेपालका नाममा जो पनि माग्दै

असार २० - अमेरिकामा सन् २०१२ अक्टोबरमा स्यान्डी समुद्री आँधी नआउँदै त्यसका पीडितका सहयोगार्थ भन्दै हजारभन्दा बढी वेबसाइट दर्ता गरिए। आँधीको सम्भावनासँगै सरकारले सावधानी अपनाउन सूचित मात्र के गरेको थियो, राहत संकलकको बाढी आयो।

नक्कली राहत संकलकबारे सीएनएनले नोभेम्बर ११, २०१२ मा लेखेअनुसार इन्डिएगोगो नामक क्राउड फन्डिङ साइटका ३२ पृष्ठ त्यस्तै कथित दाताका लिंकले भरिएका थिए। तीमध्ये धेरै नक्कली पाइए।

इन्डिएगोगोमै ‘नेपाल अर्थक्वेक’ सर्च गर्ने हो भने अहिले त्यही अवस्था छ। नेपालका नाममा सहयोग माग्नेहरू पनि ३२ पृष्ठभन्दा बढी पुगिसकेका छन्।

क्राउड फन्डिङ यस्ता साइट हुन्, जसले कुनै प्रयोजनमा रकम जुटाउन चाहनेलाई सामाजिक सञ्जालमा जस्तै छुट्टै पृष्ठ प्रदान गर्छन्। त्यसमार्फत उठेको रकमको निश्चित प्रतिशत कमिसनस्वरूप असुल्छन्। संसारमै अति नाफा हुने व्यापार यो पनि हो।

त्यस्ता साइट दर्जनौं छन्। तीमध्ये बढी प्रचलित इन्डिएगोगो, गोफन्डमी, ग्लोबलगिभिङ, किकस्टार्टर, टिस्प्रिङ, प्याट्रोन, युकेयरिङ, क्राउडराइज, डोनर्सचुज, किभा, गिभफर्वाडलगायत हुन्। ती सबैमा भूकम्पपीडित नेपालीको सहयोगार्थ भन्दै हजारौं व्यक्ति/संस्थाका छुट्टाछुट्टै पृष्ठ छन्। तिनमा उठिसकेको रकम मात्र जोडदा १० खर्ब रुपैयाँभन्दा बढी पुग्छ। इन्डिएगोगोमार्फत नै खर्बभन्दा माथि छ।

गुगलमा ‘नेपाल अर्थक्वेक फन्डराइजर’ सर्च गर्दा १२ लाख २० हजार परिणाम आउँछन्। ती सबैले कुनै न कुनै रूपमा नेपालका नाममा पैसा उठाइरहेका छन्। तिनैमा क्राउड फन्डिङ साइट पनि पर्छन्। तीअन्तर्गत थप लाखौं साइट छन्। कुनै व्यक्तिका नाममा छन् भने कुनै चिन्दै नचिनेका संस्थाका नाममा। त्यसरी उठेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष वा अन्य माध्यमबाट नेपालमा आएका घटना अति कम छन्।

मौका छोप्दै

अन्य प्रयोजनका लागि बनाएका साइटले पनि एउटा कुनामा नेपालका लागि पैसा संकलन गर्ने स्तम्भ छुट्याएका हुन्छन्। त्यहाँ क्लिक गरेपछि विभिन्न इ–माध्यमबाट जम्मा गर्ने व्यवस्था राखेका हुन्छन्। तीमार्फत विचारै नपुर्‍याई हौसिएर दिने दाता उत्तिकै छन्।

गोफन्डमीले ‘नेपाल अर्थक्वेक रिलिफ’ नाममा बनाएको एकाउन्टमा ८१ हजार ४ सय २४ जनाले ६७ लाख ४ हजार ६ सय ९२ अमेरिकी डलर (६८ करोड रुपैयाँ) दिएको देखिन्छ। ग्लोबलगिभिङले ‘लेट्स हेल्प नेपाल’ मार्फत ४७ लाख ६५ हजार ८ सय १२ अमेरिकी डलर (४८ करोड ३३ लाख रुपैयाँ) जुटाएको छ। त्यसका लागि ३८ हजार १ सय ६४ जनाले सहयोग गरेका छन्। ती साइटमा पृष्ठ बनाएर उठाउने संकलकका समेत जोड्दा करोडौं रुपैयाँ पुग्छ।

उदाहरणका लागि गोफन्डमी डट कमको ‘होमस् फर अर्थक्वेक भिक्टिम्स’ पेजमा मात्र १ लाख ११ हजार ९ सय ६७ डलर (करिब एक करोड १४ लाख रुपैयाँ) जुटेको देखाइएको छ। यो व्यक्तिले बनाएको पेज हो। त्यसमा धेरैले यो पैसा पीडितसम्म जान्छ भन्ने कसरी पत्याउने भनी जिज्ञासा राखेका छन्।

लिसा बेनाभिजले सोधेकी छन्, ‘यहाँ र यसरी जान्छ भन्ने केही प्रमाण छ?’ यस्ता व्यक्तिगत पृष्ठ अनगन्ती छन्। संकलित रकम नेपालमा आउँछ वा आउँदैन, आए पनि सबै आउँछ वा आउँदैन, पीडितले पाउँछन् वा पाउँदैनन् भन्ने जाँच्ने केही आधार हुँदैन। अमेरिकाभित्रै हुने ठूलो धन्दा पनि यही हो।

सचेत गराउँदै ठूला देश

अमेरिकी सरकारको अनुसन्धान ब्युरो (एफबीआई) र नेसनल सेन्टर फर डिजास्टर फ्रड (एनसीडीएफ) ले महाभूकम्पको पर्सिपल्टै सहयोगीहरूलाई सचेत गराउँदै संयुक्त सूचना जारी गरेका थिए। विपत्तिपछि त्यसैका नाममा हुने ठगी धन्दाको नेपालमा ठूलो सम्भावना रहेकोतर्फ त्यसमा सावधान गराइएको थियो। त्यसका लागि ती निकायले टोलफ्रि (पैसा नलाग्ने) नम्बर व्यवस्था गरेर चौबीसै घण्टा खुला राख्दै आएका छन् ।

अमेरिकाका विपत्तिहरूपछि ठगी धन्दा बढेकाले तिनको अनुसन्धान र नियन्त्रण गर्ने उद्देश्यले सन् २००५ मा एनसीडीएफ स्थापना गरिएको हो। यसमा अमेरिकी अपराध अनुसन्धान सरोकारका २० वटा संघीय एजेन्सीले सहकार्य गर्छन्।

‘ठूलो प्राकृतिक विपत्पछि पीडितका सहयोगी कार्यक्रम र संस्थालाई सहयोग गर्न धेरै व्यक्ति आतुर हुन्छन्। कसैमार्फत विपत्ति पीडितलाई सहयोग दिनुभन्दा

पहिला सावधानीपूर्वक हेर्न एफबीआई अनुरोध गर्छ,’ सूचनामा भनिएको थियो, ‘संकलकले इमेल, इन्टरनेट, घरदैलो, चिठीपत्र, टेलिफोनजस्ता माध्यम प्रयोग गरी फकाउन सक्छन्। दिनुभन्दा पहिला धेरै कुरा परीक्षण गर्नुहोला।’

बेलायत सरकारअन्तर्गतको च्यारिटी कमिसनले पनि सूचना जारी गरेर नेपालका भूकम्पपीडितलाई सहयोग गर्दा दर्ता भएका र आधिकारिक संस्थामार्फत मात्र गर्न आफ्ना नागरिकलाई आह्वान गरेको छ। ‘विपत्तिपछिको जटिल अवस्थामा सहयोग प्रवाह गर्न अनुभवी आधिकारिक च्यारिटीलाई मात्र रकम दिन हाम्रो सल्लाह छ,’ सूचनामा भनिएको छ, ‘च्यारिटी दर्ता भएको छ/छैन भन्ने जाँच्न केही मिनेट मात्र लाग्छ। केही शंका लागेमा पैसा कसरी प्रयोग गर्नुहुन्छ भनेर सोध्नुहोस्। राम्रा च्यारिटीहरू यस्ता जिज्ञासाको जवाफ दिन पाउँदा खुसी हुनेछन्।’

दर्तावालकै पनि धन्दा

सीएनएनको रिपोर्टअनुसार अमेरिकाका नाम चेलेका भनिएका ६ सयभन्दा बढी सहयोगी संस्था ठगीमा संलग्न छन्। त्यो सूचीमा भएका संस्थाहरू पनि नेपालका लागि पैसा उठाइरहेका छन्। ‘किड्स विस नेटवर्क नामक संस्था मृत्यु भएका बालबालिका र तिनका परिवारका नाममा बर्सेनि १० औं लाख डलर उठाउँछ। तर, तिनका लागि ३ सेन्ट पनि खर्च गर्दैन,’ सीएनएनले जून १३, २०१३ मा खोज समाचार दिएको थियो, ‘बाँकी सबै रकम त्यसका सञ्चालक र तिनका नाफामूलक कम्पनीमा पुर्‍याइन्छ। एक दशकमा यसले ११ करोड डलर उठायो। तर, ४८ लाख मात्र दियो।’

यो त उदाहरण मात्र हो। संघीय र राज्यस्तरका ६ सयभन्दा बढी संस्थाले सञ्चालकका कम्पनीतिर पैसा स्थानान्तरण गराएको अुसन्धानबाट खुलेको थियो। तीमध्ये अधिकांश बालबालिका क्षेत्रमा कार्यरत छन्। तीमध्ये सीएनएनले सूचीकृत गरेका सबैभन्दा बदमास ५० च्यारिटीले संकलित रकमको ४ प्रतिशतभन्दा कम मात्र लक्षित क्षेत्रमा खर्चिएका छन्।

प्रकाशित मिति: २०७२ असार २० ०७:३७
प्रतिलिपि स्रोत: इ कान्तिपुर

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।