Skip to main content

खुम्बुका व्यवसायी भन्छन् – कर तिर्न मधेस झरिँदैन २५ करोड बढी राजस्व गुमाउँदै छ सरकार


बिक्रम श्रेष्ठ
२१ असार, सोलु । बिश्वको सर्बाेच्च शिखर सगरमाथा रहेको जिल्ला सोलुखुम्बु भ्रमण गर्न बार्षिक ३५ हजार भन्दा बढी बिदेशी पर्यटकहरु आउँछन् । बिशेष गरी चौरीखर्क, नाम्चे र खुम्जुङ उनीहरुको ट्रेकिङ रुट पर्दछ ।

सामान्यतया एक जना बिदेशीले १३ दिनदेखि एक महिनासम्म घुमफिर गर्दै खुम्बुमा समय बिताउँछ । खुम्बुमा ‘अटम’ र ‘स्प्रीङ’ सिजनमा गरी करिब ६ महिना पर्यटकहरुको भिड नै लाग्ने गर्दछ ।

ती पर्यटकहरुको सेवा सुबिधाका लागि खुम्बुमा २ सय ३० भन्दा बढी सुबिधा सम्पन्न होटल तथा लजहरु संचालनमा छन् । त्यस ६ महिनामा होटलको क्षमता र सुबिधा अनुसार त्यहाका होटल ब्यवसायीहरुले एउटा होटलबाट ३० लाखदेखि २ करोड रुपैयाँसम्म कारोबार गर्दछन् । तर ती होटल तथा लजहरु राज्यको करको दायरामा नल्याईंदा बार्षिक २५ करोड भन्दाबढी राजस्व गुम्ने गरेको छ ।

खुम्बुमा रहेका २ सय ३० भन्दा बढी होटलहरुमध्य ९० प्रतिशत होटल तथा लज संचालकहरुले राज्यलाई कर नतिर्ने गरेको पाइएको छ । ती होटलहरु जस्ले बार्षिक ३० लाखदेखि २ करोडसम्म कारोबार गर्ने गर्दछ भने ५० प्रतिशत भन्दा बढी नाफा राख्ने नाम नबताउने सर्तमा सो क्षेत्रबारे जानकार एकजना अनुभबी होटल ब्यवसायीले जानकारी दिए ।

पर्यटन ब्यसायीहरुका अनुसार एक जना बिदेशी पर्यटकले खुम्बु क्षेत्रमा होटलमा मात्रै सामान्यतया १ लाख रुपैयाँसम्म खर्च गर्दछ । अनिबार्य सुबिधा बाहेक उमालेको पानीदेखि अन्य बिलासी सुबिधाहरुमा अत्यधिक महंगो शुल्क लिने गर्दछन् । तर उनीहरु नै राज्यलाई कर तिरिरहेका छैनन् ।

आन्तरिक राजस्व कार्यालय लाहानका अनुसार ती मध्य केही होटल तथा लजहरु दर्ता भएपनि पानमा मात्रै सिमित छन् । राजस्व बिभागका अनुसार बार्षिक २० लाख भन्दा बढी आर्थिक कारोबार गर्ने पसल, होटलहरुलाई मूल्य अभिबृद्धी कर (भ्याट) लाग्दछ । तर यहाँका ५ प्रतिशत पनि होटल तथा पसलहरु भ्याट बीलमा कारोबार गर्दैनन् । २ सय वटा होटलहरुलाई मूल्य अभिबृद्धी करको दायरामा ल्याउन सके बार्षिक २५ करोड भन्दा बढी राजस्व सरकारको ढुकुटिमा दाखिला हुन सक्छ ।

तर अहिलेसम्म दशकौं बर्षदेखि ती होटल मालिकहरुले कर छलिरहेका छन् । खुम्बु क्षेत्रका लुक्ला, मन्जु, फाक्दीङ, जोरसल्ले, नाम्चे, थामे, खुन्दे, खुम्जुङ, फोर्चे, पाङबोचे, दिङबोचे, लबुचे, फेरुचे, छुकुङ, गोरक्षेप, जोङला, गोक्यो, ठाङला, लुङडा, स्याङबोचे, क्याम्जोङ, मोङला, दोले, मर्छेमा लगायतका पर्यटकीय गाउँहरुमा पर्यटकहरुकै लागि सुबिधा सम्पन्न ब्यवसायीक होटलहरु बर्षौंदेखि संचालनमा छन् ।

हिमाली क्षेत्र भएका कारण तारे होटलहरुको जस्तो सेवा सुबिधा यस क्षेत्रमा नभएपनि पर्यटकका लागि चाहिने उच्चतम सुबिधाहरुको कमी छैन । त्यसो त बिदेशीहरु पनि आकर्षक खर्च गर्न हिच्किचाउँदैनन् ।

आन्तरिक राजस्व कार्यालय लहानमा जेष्ठ महिनासम्मको रेकर्ड अनुसार सोलुखुम्बुको खुम्बु क्षेत्रको चौरीखर्कका १ सय ७५, नाम्चेका १ सय १० र खुम्जुङका ७४ होटल, लज तथा अन्य पसलहरु समेत गरी करदाताहरु छन् । तीमध्ये ५ प्रतिशत पनि होटल तथा लजहरु भ्याटमा दर्ता भएका छैनन् ।

सोलुखुम्बुको सदरमुकाम सहित तल्लो क्षेत्रका अन्य ब्यापारिक क्षेत्रमा रहेका स्टोर तथा पसलहरु समेत गरेर करदाताहरु १२ सय ६५ रहेका छन् । उक्त राजस्व कार्यलयका अनुसार जिल्लामा हालसम्म ९७ वटा मात्रै करदाताहरु मूल्य अभिबृद्धी कर अर्थात भ्याट बील प्रयोग गरेर ब्यवसाय संचालन गर्दै आएका छन् । जबकी खुम्बु क्षेत्रमा मात्रै २ सय भन्दा बढी होटल तथा लज मालिकहरु बार्षिक करोडौंको कारोबार गर्छन् । पर्यटन ब्यवसायीहरुका अनुसार १ जना बिदेशी पर्यटकले एक पटक आउँदा १ लाख रुपैयाँसम्म खर्च गर्छ ।

रेकर्ड समेत छैन सरकारसँग

मुख्य पर्यटकीय स्थलहरुमा होटल संचालन गर्न पर्यटन मन्त्रालयले पर्यटन बिभाग मार्फत अनुमति पत्र दिने तथा बार्षिक नविकरण समेत गर्ने ब्यबस्था भए पनि उनीहरुलाई करको दायरामा ल्याउन नसकिएको पर्यटन मन्त्रालयका सहसचिव एवम् सूचना अधिकारी साधुराम साप्कोटाले जानकारी दिए ।

उनीहरुबाट मन्त्रालयले नबिकरण दस्तुरबाट गैर कर राजस्व समेत संकलन गर्न सक्छ । तर मन्त्रालयमा खुम्बु क्षेत्रमा कति होटलहरु कुन अबस्थामा संचालन भईरहेको छ भन्ने समेत रेकर्ड छैन ।

पर्यटन बिभागले सो क्षेत्रका लागि भनि नाम्चेमा पर्यटन कार्यालय खडा गरे पनि हालसम्म पर्यटन कार्यालयले समेत यसतर्फ कुनै प्रभावकारी काम गर्न सकेको छैन ।

पर्यटन कार्यलय नाम्चेका प्रमुख बिन्दा आचार्यले होटल, लज तथा करको दायरामा आउनु पर्ने अन्य पसल तथा संस्थाहरुको तथ्याङ्क संकलन गर्ने योजना बनाइरहेको बताइन् । नाम्चेमा रहेको पर्यटन कार्यालय तथा सिमा प्रशासन कार्यलयले यसबारे पहलकदमी लिनु पर्ने भए पनि हालसम्म निष्कृय रहेको एक पर्यटन ब्यबसायीले गुनासो गरे ।

नाम्चेमा पर्यटन कार्यलयले दुई बर्षदेखि काम गर्दै आएको छ ।

उद्योग वाणिज्य महासंघले दियो आश्वासन मात्रै

उद्योगी ब्यबसायीहरुको छाता संगठन उद्योग वाणिज्य संघले समेत खुम्बु क्षेत्रका होटल ब्यवसायीहरुलाई संघमा आबद्ध गराउन सकेको छैन । उद्योग वाणिज्य संघ सोलुखुम्बुका सचिव तार्देन शेर्पाले खुम्बु क्षेत्रका १ जना पनि संघमा आबद्ध नभएको बताए । ‘संघमा आबद्ध गराउदा करको दायरामा ल्याउन सकिने भएपनि खुम्बु क्षेत्र सदरमुकामबाट टाढा रहेकाले आफुहरुको पहुंच त्यहाँसम्म पुगेको छैन,’ उनले भने ।

व्यवसायीहरुले बैंकहरुबाट कर्जा लिनका लागि भने आफ्नो होटल दर्ता गरेको देखाउन, कर तिरेको रसिद देखाउन पानमा दर्ता गर्ने गरेको श्रोतको दाबी छ । सोबारे अनुगमन गर्न अहिलेसम्म सरकारका कुनै पनि संयन्त्र खुम्बु पुगेको छैन ।

हिमाली क्षेत्र भएकाले खुम्बुमा १ बर्षमा दुई मौसम गरी ६ महिना मात्रै पर्यटकहरु आउने गर्दछन् । स्पि्रङ सिजन अन्तर्गत अंग्रेजी बर्षको मार्च, अपि्रल र मे महिना तथा अटम सिजनको सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिना गरी ६ महिना खुम्बुमा पर्यटकहरुको भीड नै लाग्ने गर्दछ ।

सगरमाथा राष्ट्रिय निकुन्ज नाम्चेका वाडेन लक्ष्मण पौड्यालले ०७१ सालमा ३५ हजार पर्यटकहरु खुम्बु प्रबेश गरेको जानकारी दिए ।

के होला त समाधानको उपाय ?

सगरमाथा अंचलको सबैभन्दा शीरमा रहेको जिल्ला नै सोलुखुम्बु हो । तर सगरमाथा अंचलको कर कार्यालय सिराहाको लाहानमा हुदा यहाँका ब्यवसायीहरुलाई कर बुझाउन जान हिमालदेखि तराईसम्म पुग्नु भौगोलिक रुपमा कठिन र टाढा छ ।

ब्यवसायीहरुले टाढा भएकै कारण कर तिर्न जान नसकेको बताउँछन् । नाम्चे होटल ब्यबसायी एशोसियशनका अध्यक्ष ङासाङ शेर्पाले आफूहरुलाई कर कार्यालय पायक नपरेकाले इच्छा हुँदा हुँदै पनि कर तिर्न जान नसकेको दाबी गरे ।

‘कर तिर्नका लागि हिमालबाट तराईसम्मको यात्रा गर्दा कर भन्दा धेरै आउँदा जाँदामा खर्च हुन्छ,’ उनले भने, ‘हामीले जिल्लामै कर कार्यालय खोलिदिए सहज हुन्थ्यो ।’

काठमाडौं या सोलुखुम्बुमै कर कार्यालयको ब्यवस्था गरिदिन सोलुखुम्बुका उद्योगी ब्यबसायीहरुले पटक पटक माग गर्दै आएका छन् । गत बर्ष उद्योग वाणिज्य महासंघका तात्कालीन अध्यक्ष सुरज बैद्य तथा उपाध्यक्ष भाष्करराज राजकणिर्कार सदरमुकाम आएका बेला कर कार्यालय जिल्लाका उद्योगीहरुको अनुकुलमा राख्ने आश्वासन दिएका थिए । तर पनि हालसम्म कार्यान्वयन नभएको तथा राज्यले समेत आफूहरुको समस्याबारे वास्ता नगरेको ब्यवसायीहरुको गुनासो छ ।

आफूहरुलाई प्लेन चढेर काठमाडौं गइ कर तिरेर फर्कन सजिलो हुने तर लाहान पुग्न झन्झट हुने उद्योग वाणिज्य संघ सोलुखुम्बुका सचिव तार्देन शेर्पाले बताए ।

आन्तरिक राजस्व कार्यलय लाहानका कार्यलय प्रमुख सन्तबहादुर ढकालले हालसम्म खुम्बु क्षेत्रमा अनुगमनका लागि आफूहरु नपुगेकाले कर छलीबारे थाहा नभएको दाबी गरे । जिल्लाको बास्तविक अबस्थाबारे अध्ययन तथा अनुगमन गर्न नयाँ आर्थिक बर्ष लागेलगत्तै सोलुखुम्बु आउने उनले बताए ।
प्रतिलिपि स्रोत: अन्लाईनखबर

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।