Skip to main content

सामाजिक सञ्जालले टुटाउँदै दाम्पत्य सम्बन्ध

काठमाडौं, असार १९ - महानगरको मध्य सहरी इलाकामा घर, श्रीमान सरकारी स्वामित्वको कम्पनीमा जागिरे त, श्रीमती नाम चलेको स्कुलमा शिक्षिका । दसवर्षे छोरा र माया गर्ने सासूससुरा भएको नैना श्रेष्ठ (नाम परिवर्तन) को जीवन हाँसीखुशी थियो । ससाना व्यक्तिगत कुरा पनि सामाजिक सञ्जालमा साथीसँग सेयर गर्ने बानीका कारण सम्बन्ध विच्छेद गर्ने अवस्था बन्यो ।

उनको विवाद थाहा पाएका वकिलका अनुसार नैनाको ससाना  व्यक्तिगत कुरा पनि अमेरिका बस्ने सहपाठी साथीलाई फेसबुकको इन्बक्समा भन्थिन् । फेरी साथीलाई भनें भनेर श्रीमानलाई सुनाउँथिन । यस्तो क्रम चल्दै जाँदा श्रीमानको मनमा श्रीमतीका लागि आफूभन्दा साथी नजिक भएको महसुस हुन थाल्यो । उनको असन्तुष्टी प्रकट हुन थाल्यो । श्रीमान(श्रीमतीबीच विवाद बढ्न थालेपछि नैनाले पासपोर्ट बनाउन खोजिन्, श्रीमान थप संशकित भए । सम्बन्ध विच्छेद भए थोरै सम्पत्ति दिएर काम चलाउने उद्देश्यले श्रीमानले बावुआमासँग अंश लिइसकेको भर्पाईको कागज बनाए । यसपछि नैनाले पनि विश्वास गर्न सक्ने अवस्था नरहेको भन्दै सम्बन्ध विच्छेदको मुद्दा हालिन । पाँच महिनाअघि दुवै अलग भए ।           

‘फेसबुकमा साथीलाई कुरा सेयर गरेको इस्यु नभएको भए जोडी जिन्दगीभर नटुटने पर्याप्त आधार थिए,’ उक्त मुद्दा हेरेकी वकिल  विन्दु खडाले भनिन । खडाका अनुसार काठमाडौं जिल्ला अदालतका न्यायाधीश सीताराम खनालले यस्तो परिवारलाई त छुट्टिन दिनुहुदैन भन्दै आफ्नै पहलमा मिलापत्रमा गराउने प्रयास गरेका थिए । सामान्यतया सम्बन्ध विच्छेद गर्न लागेका दुई पक्षबीच अदालतमै झगडा, बाजाबाज हुन्छ, सहजरुपमा लिएर कुराकानी भएको देख्न पाइन्न । तर यो मुद्दामा नैनाले अदालतमा पनि  सासुससुरालाई ढोग्ने अदब छाडेकी थिइनन । अहिले पनि छोराको खुशीका लागि दुवै एकसाथ सिनेमा हेर्न जान्छन् ।   

मनमैंजुकी रिना (नाम परिवर्तन) लाई आठ र साढे ४ बर्षीया छोरीलाई छाडेर फेसबुकमार्फत प्रेमसम्बन्ध भएको युवकसँग विवाह गरिन् । उनका एक नातेदारका अनुसार निजी संस्थामा श्रीमानको जागिर थियो, फार्मेसी पढेकी श्रीमतीका लागि औषधि पसल खोलिदिएका थिए । फेसबुक अकाउण्ट नखोलुञ्जेल सब ठिकठाक थियो । रिनाले फेसबुकमा सक्रिय भएपछि अफगानिस्तानमा कार्यरत अविवाहित युवकसँग प्रेम भयो । कुरा सेयर गरेकी बहिनीले बुवाआमालाई कुरा लगाइदिएको थाहा पाएपछि ६ महिनाअघि गायब भइन् । ‘दुवैजना काठमाडौंमै बसिरहेको हालै उनले बहिनीलाई खबर गरेपछि थाहा भयो’ ति नातेदारले सुनाए ।             

टवटरमा सक्रिय विनम्रता क्षेत्री (नाम परिवर्तन) लाई टवटरमा एक युवकले वर्ष दिनभन्दा बढी अघिदेखि फलो त गरिरहेकै थिए, उनका सबैजसो पोष्टलाई फेवरेट र रिट्विट गर्थे । श्रीमानको विवाहेत्तर सम्बन्धबारे जानकार विनम्रतालाई अनवरत प्रशंसा गरिरहेका युवकप्रति कौतुहलता जगाउन स्वभाविक थियो । केहीअघि दुवैले भेटघाट गरे । भेटघाटपछि विनम्रता युवकको मायामा परिन । तर आफ्नो पारिवारिक जीवन तोड्न तयार नभएकी उनी अहिले परामर्श केन्द्रमा धाइरहेकी छिन् ।

काठमाडौंमा उच्च वर्गका केहीमा विवाहेत्तर सम्बन्ध स्वीकार्य भएको धेरै भयो । श्रीमान र श्रीमतीको विवाहेत्तर सम्बन्ध हुने, दुवैलाई थाहा हुने तैपनि सम्बन्ध विच्छेद नगरी एउटै छतमा बस्ने पनि नौलो कुरा थिएन, खास वर्गको कतिपय परिवारमा । तर सामाजिक सञ्जालका कारण मध्यमवर्गमा पनि यस्तो प्रवृत्ति स्वीकार्य नहुने देखिदै छ ।    

‘सामाजिक सञ्जालले दाम्पत्य जीवनमा ठूलै भूकम्प ल्याउन थालिसक्यो,’ मनोविद करुणा कुँवर भन्छिन्, ‘यस्ता कुरा सुन्दा सुन्दा कहिलेकाही त यसको फाइदा बढी हो कि बेफाइदा भनेर सोच्छु ।’ सामाजिक सञ्जालमार्फत नजिकिएकासँग प्रेम भएपनि वैवाहिक जीवन तोड्न नचाहने थुप्रैलाई उनले परामर्श दिइरहेकी छन् ।

उनका अनुसार सामाजिक सञ्जालका कारण श्रीमान वा श्रीमतीको  अरुसँग प्रेम भई वैवाहिक सम्बन्ध टुट्ने कुरा त छँदैछ, परिवारलाई समय नदिएका कारण पनि परिवारमा कलह जन्माएको छ । दिनभरि परिवारबाट अलग भई घर फर्किएपछिको समय परिवारका लागि बहुमूल्य हुन्छ । तर घर पुग्नासाथ मोबाइलमा फेसबुक आदि चलाउन थाले स्वत: परिवारसँग दूरी बढ्छ, विपरीत लिङ्गीसँग च्याट नगरे पनि । यस्तै फेसबुकमा अरुका श्रीमानले परिवारसहित बाहिर घुम्न गएको तस्वीर देख्दा पनि त्यसरी घुम्न नपाएकी श्रीमतीको श्रीमानसँग असन्तुष्टी बढेको उनले पाएकी छन् । सामाजिक सञ्जालमा सामान्यत: हाँसेकै फोटो पोष्ट गरिन्छ । तर त्यो हेर्ने कसैलाई अरु सबै खुशी छन मचाहि छैन भन्ने लाग्न सक्छ । ‘त्यो हाँसो एउटा क्लिकका लागि हो भन्ने देख्नेले बुझदैनन,’ उनले भनिन ।

सामाजिक सञ्जालबाट विकसित सम्बन्धका कारण दाम्पत्य जिवन  टुटेका घटना सात समुद्रपारका नेपालीमा पनि छ । बेल्जियममा स्थापित व्यवसायीको तीन दिनअघि मात्र उतै सम्बन्ध विच्छेद भयो । दुई छोराका ४३ बर्षे पिता उनी पोखराकी २३ बर्षे युवतीसँग फेसबुकमार्फत नजिकिएका थिए । महिनैपिच्छे नेपाल आउन थालेपछि श्रीमतीले सोधीखोजी गर्दा उनको गोप्यता खुलेको थियो ।

पढाताका एकअर्काप्रति आकर्षित भएपनि विवाह नभएकाले फेसबुकमार्फत सम्पर्क भई पुरानो सम्बन्धलाई ब्युँताएका पनि छन् । रसियामा बस्दा काठमाडौंमा रहेकी नर्स विवाह गरेका रोशन (नाम परिवर्तन) ले श्रीमतीलाई रसियामा डाक्टर पढाए । फेसबुकमार्फत सम्बन्ध विच्छेद भई एकल रहेका पुराना प्रेमीसग उनको सम्बन्ध भयो । एक छोरा एक छोरीकी आमा विवाह गरेर बेलायत लागे । धेरै पहिला एकअर्काप्रति आकर्षित भएकाहरु सामाजिक सञ्जालमार्फत नजिक हुदा नोष्टाल्जिक भएर नजिक आउने गरेको कुवर बताउँछिन ।     

विवाहलाई एकदम ठोस र अभेद्य मानिने समाजमा सामाजिक  सञ्जालले भेद्य बनाइदिएको विश्लेषक सञ्जिव पोखरेल टिप्पणी गर्छन । कुनै समयमा बुहारी एक्लै बाहिर निस्किन पाउथेनन् । विस्तारै निस्किन पाए, सञ्चार माध्यमको विकासले केही भेद्य बनाइदियो । परिचित युवतीसँग कुरा गर्न परे पनि अरुले फोन रिसिव गरे यत्तिकै राख्नपथ्र्यो । मोबाइल सुलभ भएपछि यस्तो अवस्था सहज भए पनि परिचितमाझ मात्र सम्पर्क भलाकुसारीको सम्भावना हुन्थ्यो । तर सामाजिक सञ्जाल यस्तो माध्यम भयो, जहा संसारको जुनसुकै दुई कुनामा भएका अपरिचितबीच पनि सम्पर्क सहज हुन्छ । च्याटमार्फत कुराकानी हुन्छ । सबै सुविधा मोबाइलमा आएपछि झन सजिलो भएको छ ।  

तर दाम्पत्य जिवन टुटेर अर्को सुरु हुनुमा दोष सामाजिक सञ्जालको नभई वैवाहिक जीवनमा खोज्नुपर्ने उनको धारणा छ । ‘कुनै युवक र युवतीसँग सम्पर्क भएपछि तोडिने दाम्पत्य जीवनमै कमजोरी थियो किन नभन्ने,’ उनी भन्छन् । उनका अनुसार पश्चिमाले वैवाहिक सम्बन्ध जोडिनु र तोडिनुलाई सामान्य रुपमा लिन्छन् । पूर्वीयाले असामान्य  रुपमा लिदा सम्बन्ध कमजोर भएपनि सहन सिकायो । यसका कारण खासगरी महिला बढी उत्पीडित भए । पुरुषसँग आर्थिक निर्भरताका कारण पनि महिलाले साहसी निर्णय लिन नसक्ने भए । ‘ति सबै अवस्था नरहेपछि पहिलाकै जस्तो असामान्य रहिरहन सक्तैन,’ उनी थप्छन् ।                                       

विवाहअघिे प्रेम सम्बन्ध राख्दा सामाजिक सञ्जालको प्रयोगमा होस नपुर्‍याएका कारण पनि कतिपयको पारिवारिक जीवन धरापमा पर्ने गरेको छ । महानगरीय अपराध महाशाखामा साइबर अपराध हेर्ने प्रहरी निरीक्षक पशुपती  रायका अनुसार प्रेम सम्बन्ध भएका बेला निजी खालका तस्वीर पनि आदानप्रदान गर्ने प्रवृत्ति १८(२५ वर्ष उमेरका युवायुवतीमा छ । ‘सम्बन्ध सुमधुर हुन्जेल त कुनै समस्या हुदैन’, उनले थपे, ‘जब बिग्रिन्छ अर्कोले सार्वजनिक गर्ने वा ब्ल्याकमेल गर्न थाल्छन् ।’ यसमा पीडित हुने युवती बढी छन् ।

वैदेशिक रोजगारीमा जानेका परिवारिक समस्या आउने कुरालाई सामाजिक सञ्जालले थप मलजल गरिदिएको छ । केही दिनअघि वैदेशिक रोजगारमा गएका रुपन्देहीका युवकका पत्नी अविवाहित युवकसँग  फेसबुकमार्फत नजिकिइन ।  शारीरिक सम्बन्धसम्म पुग्यो । युवकले विवाह गर्न खोज्दा महिलाले वैवाहिक सम्बन्ध तोड्न अस्वीकार  गरेपछि युवकले श्रीमानलाई उसकी श्रीमतीसग शारीरिक सम्बन्ध भएको कुरा पठाएर यातना दिन थालेपछि प्रहरीमा उजुरी परेको  थियो ।

बक्स

फेसबुकको सम्बन्ध छिपछिपे

चैतण्य  मिश्र, समाजशास्त्री  

हामीले जहिले पनि प्रविधीले समाजमा के परिवर्तन गर्‍यो भनेर खोज्छौं, प्रविधिले समाजमा यस्तो परिवर्तन/प्रभाव पार्‍यो भनेर भन्छौ/लेख्छौं । अब यसलाई उल्टाएर सोचौं । प्रविधि त समाजले  विकास गरेको हो, आवश्यकता  ठानेर गरेको हो । समाजको कारण  प्रविधि आएको हो । फेसबुक पनि समाजले आवश्यक ठानेरै विकास गरेको हो र त लोकप्रिय भयो ।

पूँजीवादी पूर्वको समाज र पूँजीवादी पछिको समाजमा सम्बन्धमा पाइने आधारभूत फरक हुन्छन् । समाज पूँजीवादी चरणमा पुग्नुअघि मानिसबीचका सम्बन्ध प्रगाढ हुन्छन् । जस्तो गाउँघरमा आजपनि सात पुस्ते थाहा हुने सम्बन्ध हुन्छन् । त्यो पूँजीवादी चरणमा पुगिनसकेको उदाहरण हो । तर सहरमा सम्बन्ध छिपछिपे हुन्छ, चिनजान त धेरैसँग हुन्छ तर प्रगाढ सम्बन्ध हुदैन । प्रगाढ सम्बन्धको आवश्यकता पनि देखिदैन । सामाजिक सञ्जालले यस्तै छिपछिपे सम्बन्ध बनाउछ ।  

युवा युवती प्रेम त पहिलेपनि गर्थे । डर थियो, स्कुल/कलेजमा  किताबमा चिठी राख्दिन्थे । अहिले पूँजीवादी चरणमा प्रवेश गरिसकेको समाजमा प्रेम स्वीकार्य भयो । घेरा नाघ्ने क्रम बढैछ । सम्बन्ध विच्छेद गरी अर्को सम्बन्ध जोडिने क्रम पनि बढेको छ । सम्बन्ध विच्छेद हुदा बिग्रियो मात्र किन भन्ने, जबकी एउटा सम्बन्ध  टुटेर अर्को जोडिनेवाला छ । यसैले सामाजिक सञ्जालमा उन्मुक्ती पाइने हुदा कतिपय सम्बन्ध तोडिएलान तर जोडिन्छन् पनि ।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।