आध्यात्मिक गुरु दलाई लामाले आफ्ना दिवंगत गुरु ट्रल्सिक रिम्पोछेको अवतारको रुपमा अनुमोदन गरेका नेपालमा जन्मिएका बालक ङवाङ तेन्जिन चोकीलाई तिब्बेतियन निङमा बौद्ध परम्पराअनुसार दीक्षित गरेका छन् ।
भगवान गौतमबुद्धले पहिलो पटक धर्मदेशना गरेको दिन धर्मचक्र प्रवर्तन दिवसको अवसरमा बालक तेन्जिनलाई गुरु दलाई लामाले भारतको धर्मशालामा दीक्षित गरेका हुन् ।
दलाई लामाले बालकको कपाल खौरेर गोप्य कालचक्रतन्त्र विधिबाट दीक्षित गराइएको स्रोतले जनाएको छ । धर्मशालामा लामागुरुहरुबाट त्रिरत्नलगायतका बौद्ध पाठ गरेका थिए ।
सन् २०१३ जुलाई २५ मा नेपालमा जन्मिएका बालक ङवाङ अब तिब्बतको सबैभन्दा पुरानो निङमा बौद्ध परम्पराको प्रमुख बनेका छन् । निग्मा बौद्ध परम्पराका प्रमुख गुरु टुलसिक रिम्पोछेको ४ वर्षअघि नेपालको सोलुखुम्बुमा दिवंगत भएकोमा उनको पुनर्जन्मको रुपमा बालक ङवाङलाई मान्यता दिइएको हो ।
काठमाडौंका बाबु छोइलिङ टुल्कु ङवाल र आमा पाइलुङ छेवाङ डोल्माको कोखबाट जन्मिएका बालक ङवाङ दलाई लामाका धर्मगुरु र निग्मा बौद्ध परम्पराका प्रमुख गुरुको रुपमा रहनेछन् ।
बालक ङवाङ पछि सोलुखुम्बुको सबैभन्दा ठूलो थुप्तेन छोइलिङ गुम्बामा बस्ने जनाइएको छ ।
Comments
Post a Comment