सोलुबासीले भने- 'राष्ट्रिय जनावर रेडपान्डा'
बिहीबार ७ श्रावण, २०७२
नागरिक
सोलुखुम्बु- हिमाली जिल्ला सोलुखुम्बुका अधिकांश नागरिकले राष्ट्रिय जनावर रेडपान्डा राखिनुपर्ने माग गरेका छन्। जिल्लाका ३० वटै गाविस र एउटा नगरपालिकामा लिइएको सुझावमा बहुसंख्यक नागरिकले राष्ट्रिय जनावर रेडपान्डा राख्न सुझाव दिएका हुन्।
लिखित वा मौखिक रुपमा सुझाव दिने सोलुवासीले गम्भीर अपराधमा संलग्नलाई अनिवार्य मृत्युदण्डको सजाय संविधानमै राख्न सुझाव दिएका छन्। यस्तै राष्ट्रिय झन्डामा चन्द्रसूर्यको साटो नेपाललाई विश्वमा चिनाउने सगरमाथा राख्न पनि सुझाएका छन्। 'रेडपान्डा विश्वमै दुर्लभ जनावर हो, यसको संरक्षण गर्नु सबैका दायित्व हो, त्यसैले पनि रेडपान्डालाई नै राष्ट्रिय जनवार राखिनुपर्छ,' सामाजिक अभियन्ता गोम्बु शेर्पाले सल्लेरीमा मंगलबार आयोजित सुझाव संकलन कार्यक्रममा आफ्नो धारणा राखे।
'बलात्कारी, ज्यानमार्ने उद्योग जस्ता अपराधमा संलग्नलाई अनिवार्य मृत्युदण्ड दिइनु पर्छ,' अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष सुनिता किराँतीले भनिन्। 'अपराधीलाई मृत्युदण्ड नदिइने हो भने समाजमा अपराधीहरुको संख्या बढ्दै जान्छ,' देउसाकी दुर्गालक्ष्मी राईले चिन्ता व्यक्त गरिन्। 'नयाँ संविधानमा जुनसुकै हालतमा अपराधीलाई मृत्युदण्ड दिने व्यवस्था हुनुपर्छ,' अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष एकाकुमारी कार्कीले सुझाव राख्दै भनिन्।
Comments
Post a Comment