विश्व पर्यटन मानचित्रमा नेपालले फेरि आफ्नो सशक्त उपस्थिति जनाउन थालेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालको पर्यटनका बारेमा प्रकाशन प्रसारण गरेपछि नेपालको पर्यटन क्षेत्रले व्यापकता पाएको हो। विश्वका प्रसिद्ध पर्यटकीयस्थानको प्रवर्द्धन गर्ने सञ्चार समूहले नेपालका पर्वतीय पर्यटन, पदयात्रा, गन्तव्य, होटेल र पर्यटकीय गाउँका बारेमा प्रचार गरी पर्यटन प्रवद्र्धनमा सहयोग गरिरहेका छन्। अन्तर्राष्ट्रिय ट्राभल पोर्टल लोनली प्लानेटले दुई साताअघि मात्र नेपालको खुम्बु क्षेत्रलाई उत्कृष्ट १० औं गन्तव्यको सूचीमा राखेको छ। लोनलीले गत अक्टोबरको अन्तिम साता नेपालको सगरमाथा क्षेत्र (खुम्बु) लाई सन् २०१५ मा घुम्नैपर्ने गन्तव्यको छैटौं नम्बरमा राखेको हो। विश्वका घुम्नैपर्ने चारवटा पदयात्रा गन्तव्यको सूचीमा नेपालको ग्रेट हिमालय ट्रेल पनि परेको छ। ट्राभल आइडियाले गतसाता सार्वजनिक गरेको चार उत्कृष्ट गन्तव्य सूचीको तेस्रो नम्बरमा ग्रेट हिमालय ट्रेललाई राखेको छ। विश्वकै लामो र साहसिक पदयात्रा ग्रेट हिमालयन टे्रल पूरा गर्न एक सय २० देखि एक सय ५० दिनसम्म लाग्छ। ...