काठमाडौं । जब चैत/बैशाख लाग्थ्यो घर भन्दा ठ्याक्कै पारि डाँडाबाट लस्करै विदेशी पर्यटक उकालो लाग्थे। तीनै विदेशी पर्यटकलाई देखेर गाउँका धेरै युवाहरु विदेशीको पछि लाग्थे । कतिले पछिलाग्दा लाग्दै भरियाको काम पाउँथे त कतिले सहयोगीको भूमिका ।
सोनाम शेर्पा चाहिँ आफू विदेशीको पछि लाग्ने हैन । कसरी विदेशीले आफूलाई खोज्दै आउन सक्छन् भनेर सोच्दै बस्थे । गाउँका शेर्पाहरु विदेशीको भारी बोक्ने, विदेश जाने र पैसा कमाउने भनेर उनीहरुकै पिछा गर्थे । कतिपयचाहिँ काम पाउने आशमा लुक्लातिर हानिन्थे ।
ट्रेकिङको सिजनमा महिनौसम्म गाउँका तन्नेरीहरु विदेशीको भारी बोक्थे र फर्केर आउँदा राम्रा जुत्ता बजार्दै न्यानो लुगा लगाएर, बलिया झोला भिरेका हुन्थे । सोनामलाई पनि कहिलेकाही तिनै गाउँलेले जस्तै जुत्ता बजार्दै झोला भिरेर सानका साथ गाउँ पस्न मन लाग्थो । तर उनी यसको लागि भरियाको काम गर्न लुक्ला हानिएनन् ।
उनको बुबा गाउँमा घर बनाउने ठेक्कापट्टा मिलाउँथे । घरको गाह्रो लगाउने काम गर्थे, घरमा खासै बास हुँदैनथ्यो । आमाले घरको काम सम्हाल्थिन् । सोनामचाहिँ आमालाई सघाएर उब्रिएको समयमा वल्लोपल्लो घरको मेलापात भ्याउँथे । उनी भन्छन्, 'सानो छँदा घरमै बसियो। त्यसपछि स्याउको ठेक्कापट्टाको काम गर्थेँ ।'
२०४९ साल, भदौमा स्याउको ठेक्का पारेर उनी काठमाडौंमा पठाउँदै थिए । त्यही बेला सोनामलाई काठमाडौं जाने अवसर मिल्यो । स्याउ बेचेर निस्केको केही रकम लिएर सोलुबाट काठमाडौं आए ।
काठमाडौं छिर्दा उनीसँग न सीप थियो न त पढाइको प्रमाणपत्र नै । उनीसँग मात्रै थियो- एकजोर चप्पल, सर्ट पाइन्ट र झोला । उनी भन्छन् 'घरबाट १५/१६ दिन घुम्न भनेर आएको थिएँ । केही जानेको पनि थिइनँ र ल्याएको पनि ।'
घुम्न काठमाडौं आएका सोनामलाई राजधानीको झिलिमिलि र यहाँको रहनसहनले लठ्यायो, गाउँ फर्कन मन लागेन । बरु जे काम पाउँछु, त्यही गर्छु भनेर आफ्नै काकाको फ्याक्ट्रीमा काम सुरु गरे ।
काकाको फ्याक्ट्रीमा ट्रेकिङका लागि चाहिने विभिन्न सामाग्रीहरु बनाइन्थ्यो। उनले त्यही काम थाले । 'गाउँबाट आएको अनुभव केही कामको थिएन। त्यसैले मलाई कारखाना सफा गर्ने, सामानहरु पुर्याउने कामको जिम्मेवारी दिइयो,' उनी २१ वर्ष अघिको कथा सुनाउँछन्, 'मैले पढेको पनि थिइनँ । लेखपढीको काम जान्दैन थिएँ । त्यसैले जे काम लगाए पनि गर्थेँ ।'
सोनामले काकाको फ्याक्ट्रीमा पाँच वर्ष काम गरे। नपढेर के भो त परेर पनि मान्छे जान्ने हुन्छ । सोनामले पनि पाँच वर्षको अनुभवमा ट्रेकिङको लागि चाहिने सामानहरुको बेसिक मात्रै हैन एड्भान्स ज्ञान नै बटुल्न सफल भए ।
काम गर्दै जाँदा कुन सामान कहाँ लगेर बेच्न सकिन्छ र कति मूल्यमा बेच्न सकिँदो रहेछ उनलाई कण्ठै भइसकेको थियो । त्यसैले उनले पाँच वर्षको अनुभवलाई आफ्नै कामको लागि उपयोग गर्ने सोच बनाए र काकाको फ्याक्ट्रीबाट बिदा भए ।
उनको गाउँका मात्रै हैनन्, प्राय शेर्पाहरु ट्रेकिङ तिर लागेका हुन्थे । कति साथीभाइले उनलाई ट्रेकिङ जान नभनेका पनि होइनन् । तर उनको मन ट्रेकिङमा खिँचिदै खिचिएन । भन्छन्, 'सबै शेर्पा दाजुभाइ ट्रेकिङ व्यवसायतिर लाग्ने, टुरिष्टको भारी बोक्ने गर्थे । तर मलाई सबै एउटै वे मा लाग्नुपर्छ भन्ने छैन भनेर यतातिर लागेँ ।'
भारी बोकेर हिँडेका शेर्पाले विदेशीकै काम गर्न थाले पैसा पनि कमाए । तर सोनामलाई भने लाग्यो, 'भारी बोकेर हिँड्नु भन्दा विदेशीहरुलाई हाम्रो देशमा बनेको सामान नै बेच्नु राम्रो ।'
अरुले राम्रो व्याग बोकेको देख्दा आफूलाई पनि बोक्न मनलागेको तर महँगो भएकोले बोक्न नसकेको पीडा राम्ररी बुझेका थिए उनले । सोनामले त्यही भएर सस्तो र गुणस्तरीय सामान बनाउन कस्सिए । भन्छन् 'मान्छेले आकाशमा उडेको चरा हेरेर जहाज त बनाएका छन् । मैले एउटा साधारण कपडाको व्याग बनाएर बेच्न किन नसक्ने भन्ने कन्सेप्ट आयो । अनि व्याग बनाउन थालें।'
२०५४ सालतिर ट्रेकिङमा चाहिने कपडा सहित आवश्यक सामाग्री र एउटा लुगा सिउने मेसिन पनि किने । उनले एउटा मेसिनबाट व्याग बनाउन थाले । काकाको पसलमा काम गर्दा उनले ठमेलकापसल चिनेका थिए । साथीभाइको दायारा फराकिलो बनाएका थिए । अनि तिनै ठाउँमा आफूले बनाएको व्याग लगेर बेच्न थाले ।
'मैले नै व्यापार सुरु गरेँ भनेर सबैले थाहा पाए। सबैले सामान किन्दिए । अनि ट्राभल र ट्रेकिङको लागि ह्यान्डव्याग पनि बनाएर बच्न थालेँ । त्यसले पनि राम्रो बजार लियो,' उनी भन्छन्, ' चिनेको पसलेहरुले सस्तो र क्वालिटी देउ भनेपछि बेचिदिन थालेपछि विस्तारै व्यापार बढ्न थाल्यो ।'
सुरुमा उनले विदेशी ब्रान्डेड कम्पनीको नाम राखेर 'नक्कली' सामान बेचेका थिए । उनले नर्थ फेस, लोए अल्पाइन, म्यामोट, केल्भिन लगायत विदेशी ब्रान्डका नाम राखेर आफ्नो सामानको व्यापार गरे ।
विदेशी ब्रान्डका सामानहरु महँगा थिए । एउटै स्लिपिङ व्याग नै ५०/६० हजार पर्थ्यो । एउटा राम्रो डाउन ज्याकेटको २० हजार रुपैयाँसम्म पर्थ्यो। जुन नेपालीले किनेर लगाउन सक्दैन थिए । जब सोनामले तिनै विदेशी ब्रान्डको नाम राखेर सस्तोमा बेच्न थाले माग धेरै आउन थाल्यो।
यसरी विदेशी ब्रान्डको नाम राखेर पनि आफ्नो सामानको व्यापार बढेपछि सोनामलाई लाग्यो, अरुकै नाम राख्दा त चलेको छ भने नेपाली नाम राखेर आफैँले ब्रान्ड बनाउँदा कसो नचल्ला र!
सुरुमा उनी आफैँ कल चलाउँथे । कपडा ल्याउने, सामान बोकेर ठमेलका पसलपसल चाहर्ने, पैसा संकलन गर्ने लगायतका सबै काम उनी आफैँ गर्थे । जब बजार बढ्न थाल्यो उनले स्टाफ थप्न थाले ।
सुरुमा चाहिने कच्चा पदार्थ सबै उधारोमा ल्याउँथे सोनाम । उनको इमान्दारिता देखेर कच्चा पदार्थ दिनेले पनि यसको भोल्युम बढाए । उनी भन्छन्, 'क्रेडिट ल्याउने, चलाउने र नाफा राखेर सावा तिर्न थालेपछि सजिलो भयो । माडवारीहरुले सामान ल्याउन पत्याउन थाले। '
त्यसपछि उनलाई एउटा बुद्धि फुर्यो । माउन्टेन हार्डवेयर भन्ने क्यानडामा दर्ता भएको रहेछ । यसले २०५८ सालतिर विश्वबजार तताइरहेको थियो । यस्तै नाम राखेर आफूले पनि आफ्नै देशको नाम झल्केने कुनै नाम राखेर ब्राण्ड सुरु गर्ने ।
२०५९ सालमा उनले 'एभरेष्ट हार्डवेयर' नामको आफ्नै ट्रेडमार्क घरेलु र कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरे । 'राष्ट्रलाई चिनाउन हुन्छ । कुनै विदेशीलाई चिनोको रुपमा लैजान पनि हुन्छ भनेर एभरेष्ट हार्डवेयर नाम राखेँ,' उनी भन्छन् 'नाम्चेतिर रहेका साथीहरुले यो ब्राण्ड त खैरेले धेरै लगेका छन् । राम्रो फाइदा भयो भनेर भन्दा म निकै खुशी भएँ ।'
चार सय ७० देखि करोडपतिसम्म
घरबाट आउँदा सोनामले स्याउ ठेक्का लिएर नाफा खाएको ४ सय ७० रुपैयाँ मात्रै ल्याएका थिए । १४ वर्षको उमेरमा काठमाडौं छिरेका सोनामले ठिहटीमा एउटा कोठा लिएर आफ्नो व्यवसाय सुरु गरेका थिए । उनले दिनभरी तीन सय रुपैयाँ ज्यालामा चौरमा बसेर ट्रेकिङ कम्पनीहरुको पाल रिपेयरिङ गर्न जान्थे । भन्छन्, 'मेसिनको एक सय र ज्याला तीनसय दिन्थे । कतिसमय त म २४ सै घण्टा पनि काम गरिराखेको हुन्थेँ। यसरी लगभग ५/६ वर्ष संघर्ष गर्नु पर्यो । त्यपछि आजको दिनसम्म पछाडि फर्केर हेर्नु परेको छैन ।'
उनको सामान अहिले नेपाल मात्रै होइन स्पेन, इङ्ल्याण्ड, अमेरिका, क्यानडा, सिंगापुर, चीनलगायतका मुलुकमा उनका प्रडक्ट जान्छन् । यसबाहेक तिव्बत, लद्दाक, कस्मीर र भुटान पनि उनका उत्पादनका बजार हुन् । उनी भन्छन्, 'ट्रेकिङ र हिमाली क्षेत्रमा मेरा सामानहरु जाने गरेका छन् ।'
चार सय ७० रुपैयाँ बाट सुरु गरिएको व्यापार अहिले करोडमा पुगिसकेको छ । उनी भन्छन्, 'आफ्नो प्रोपर्टीसहित सबै हिसाव गर्दा करोडौं भइसकेको छ।'
मेहनत गरेपछि सफल होइन्छ भन्ने उनको मूल मन्त्र हो। उनी भन्छन्, 'लगनशीलता, परिश्रम, मेहनत र इमान्दारिताले यहाँसम्म आइपुगेको हुँ।' उनी युवा छन्, बल्ल ३६ वर्षका भए ।
उनले व्यापार मात्रै गर्दैनन् । सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । कहिले गरिव/गुरुवालाई सहयोग गर्छन् त कहिले गुम्बामा दान चढाउँछन् भने कति संघसंस्था र स्कुलमा पनि सहयोग गरेका छन् उनले । सोनाम भन्छन्, 'पैसा मात्रै होइन, सहयोग गर्न पनि मेरो ठूलो इच्छा छ। सकभर तातोको लागि म सहयोग गर्छु ।'
सरकारसँग गुनासो
शुन्यबाट सुरु गरेका सोनामले अहिले एभरेष्ट हार्ववेयर नेपालमा मात्रै होइन विदेशमा समेत राम्रो ब्रान्ड बनाइसकेका छन् । आफ्नो ट्रेडमार्कको चिनारी नै आफ्नो सफलता भएको ठान्ने उनी सरकारसँग भने बेखुश छन् ।
काम गर्दा व्यहोर्नुपर्ने अनेकौ झण्झटले उनलाई कहिलेकाहीँ व्यवसायप्रति नै दिक्क लाग्छ । 'नेपालमा नै केही गरौँ भनेर बसेका म जस्ता व्यवसायीलाई सरकारले वेवास्ता गरेको छ,' उनी भन्छन्, ' न विजुली छ । न लगानी थप्ने वातावरण नै छ। काम गर्ने कामदार अनुशासित छैनन् । हामी मर्कामा छौँ ।'
उनी अमेरिकाले आफ्नो प्रडक्ट मन पराएर एकैचोटी १५ लाख टिसर्ट मात्रै अर्डर दियो भने पनि बनाउन नसक्ने अवस्थामा रहेको बताउँछन् । उनले भने, 'अमेरिकाले नेपाली सामान अर्डर गर्छ । नेपाली ब्रान्ड पनि मन पराउँछन् तर सरकारको नीति र नियम छैन । औद्योगिक क्षेत्र छैन । लगानी मैत्री वातावरण बनाउन पनि सकेको छैन ।'
अहिले उनले २५ जना भन्दा बढीलाई रोजगार दिएका छन् । आफ्नो व्यापार विस्तार गर्ने सोच छ उनको । सोनामले आफ्नो ट्रेडमार्कबाट २५/३० किसिमका सामान बनाउँछन् । डाउन ज्याकेट, डाउन स्लिपिङ व्याग, पञ्जा, जुत्ता, सुट, विन्ड प्रुफ ज्याकेट, सुरुवाल लगायतका उत्पादन किन्न सकिने उनी बताउँछन् ।
सस्तो र स्तरीय सामान बनाएर बेच्न सफल भएकोले आफू सफल भएको बताए । उनी भन्छन्, 'विदेशी ब्रान्डका आठदेखि एक हजार डलरसम्म पर्ने लुगालाई हामीले तीन सय पचासमा डलरमा नै सो बराबरको क्वालिटी भएको कपडा दिन्छौँ ।' उनले २५ देखि ३५ प्रतिशतसम्म नाफा खाएर बेच्ने भएकोले पनि ग्राहकको मन जित्न सफल भएको सुनाए । उनी भन्छन्,'क्वालिटी र क्वान्टिटी पुर्याएर मात्रै बेच्ने गरेका छन् ।'
विदेशी ब्रान्ड बराबरकै सामान
उनका अनुसार नेपाली ब्रान्डहरु पनि विदेशी नाम चलेका ब्रान्डसँग प्रतिस्पर्धा गर्न नसक्ने होइन तर यहाँको राजनीतिक वातावरणदेखि सबैकुरा डामाडोल हुँदा यो असम्भव देखिएको हो।
उनी भन्छन्, ''मैले पाँच वर्ष अझै बढी मेहनत गरेँ भने नर्थफेस जत्तिकै ब्राण्ड बनाउन सकिन्छ । तर सरकारले विजुली देखि भन्सारसम्मको सुविधा र औद्योगिक क्षेत्र बनाएर काम गर्ने वातावरण बनाउन आवश्यक छ । यसले विदेशीने पैसा नेपालमा नै बस्छ ।' उनले चाइना, जापान, कोरिया, ताइवान र भारतबाट कच्चा पदार्थ ल्याउँछन् ।
News C/p From : बिजमाण्डू
Comments
Post a Comment