प्रधानमन्त्री सुशील कोइरालाले बौद्धगुरु श्यामर रिम्पोचेको अन्त्येष्टि नेपालमै गर्ने वातावरण बनाउन मुख्यसचिव लीलामणि पौडेललाई निर्देशन दिएका छन्। मुख्यसचिव पौडेल, गृहसचिव र संस्कृतिसचिवलाई संयुक्त रूपमा प्रधानमन्त्री कोइरालाले शुक्रबार त्यस्तो निर्देशन दिएका हुन्।
सांसद र हिन्दू तथा बौद्धधर्मसँग सम्बन्धित संस्थाले श्यामररिम्पोचेको अन्त्येष्टि नेपालमा गर्न नदिने सरकारी निर्णयले बौद्ध धर्मावलम्बीको आस्थामा ठेस पु:याएको भन्दै त्यसमा पुनर्विचार गर्न आग्रह गरेका थिए। प्रधानमन्त्री कोइरालाको सकारात्मक निर्देशनपछि भारतको कालिम्पोङमा राखिएको रिम्पोचेको शव भुटान लगी आइतबार काठमाडौं ल्याइने अन्त्येष्टिका आयोजकले अन्नपूर्णलाई बताए।
तिब्बती बुद्धधर्म र अभ्यासमा दलाई लामापछि हाराहारीमा आउने १४ औं समरपा (समर रिम्पोचे) को चाहना आफ्नो मृत्युपछि अन्त्येष्टि नेपालमा होस् भन्ने थियो। श्यामर रिम्पोचेको गत जेठ २८ गते जर्मनीमा हृदयाघातका कारण निधन भएको थियो। बुद्धमार्गीहरू श्यामपालाई अमिताभ बुद्धका रूपमा श्रद्धा गर्छन्। ६१ वर्षअघि हेलम्बुमा जन्मिएका श्यामरपाले भारत, नेपाल र भुटानलाई आफ्नो कर्म र धर्मथलो बनाउँदै आएका थिए।
Comments
Post a Comment