जालपा गुफा र सुके पोखरी
सदरमुकाम सल्लेरीबाट करीब ११ कोष टाढा रहेको नेचा वेतघारी गाविसको वार्ड नं. २ नेचा डाँडा (१९०० मि. उचाइ) को रमणीय जङ्गलमा जालपा गुफा रहेको छ । गुफाको पूर्वतर्फ जालपा देवीको मन्दिर तथा यज्ञकुण्ड, पश्चिमतर्फ सिद्धेश्वर महादेव स्थान, उत्तर तर्फ सुकेपोखरी तथा दक्षिण तर्फको डाँडामा सूर्योदय पार्क रहेकाले विविधताको नमूना यहाँ हेर्न सकिन्छ । मकालु, केरेलुङ्ग, नुम्बुर, थामसेर्कु, मेरापिक आदि हिमश्रृंखला देखिने सूर्योदय पार्कबाट दूधकोशीको अविरल प्रवाहका साथै हलेसी महादेवस्थान, रुम्जाटार, ट्याम्के डाँडा, ऐंसेलुखर्क लगायत सोलु, खोटाङ्ग र ओखलढुङ्गाका धेरै भागहरू देख्न सकिन्छ । १९७० को दशकमा एकजना पण्डितले कोटीहोम लगाएको प्रसङ्ग स्कन्ध पुराणमा उल्लेख गरिएको पाइन्छ भने सोही स्थानमा एउटा ठूलो गुराँस (३ फुट गोलाइ) को रुख रहेको छ । सुकेपोखरीको पानी महिलाले झिक्न नहुने, उक्त स्थानमा फोहोर मैला भएमा गाउँमा अनिष्ट हुने, पोखरीमा झरेका पात घामको झुल्कोमा अनौठो चराले हटाउने र पोखरीमा जुठविटुल गरिएमा सेतो मृग, हाँस देखिने तथा सिंह गर्जने गर्दछ भनिन्छ । ऐतिहासिक, धार्मिक र पर्यटकीय यस स्थानको दर्शन गरेमा मनोकाङ्क्षा पूर्ण हुने हुनाले मेलामा धर्मभिरु मानिसहरूको भीड लाग्दछ । ऋषितर्पणी, धान्य पूर्णिमा र चण्डी पूर्णिमामा यहाँ ठूलो मेला लाग्दछ
Comments
Post a Comment