नेपालको पर्यटन विकासबारे प्रसिद्ध परामर्शदाता डेभिड फ्रान्केलले भनेका छन्– नेपालको विकासको साँचो भनेकै पर्यटन विकास हो। वास्तवमा नेपालका अधिकांश उच्च हिमशृंखला, नदीनाला, झरना, तालतलैया, हरियाली पहाड, समथर तराई जस्ता प्राकृतिक, सांस्कृतिक, धार्मिक, जैविक एवं मानव निर्मित सम्पदाको उपस्थितिले कुनै पनि पर्यटकलाई रोमाञ्चित गर्ने क्षमता राख्छ। विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मथलो लुम्विनीलगायत असंख्य गुम्बा, मठ, मन्दिर, स्थानीय भाषा, जातजाति, धर्म, संस्कृति, परम्परा, स्वच्छ र शीतल हावापानी, प्राकृतिक छटा र मुख्यतः नेपाली नागरिकमा रहेको पाहुनालाई प्रदान गरिने विशिष्ट शैलीको आतिथ्यता आदिलाई व्यवस्थित गर्न सके सिङ्गो नेपाललाई पर्यटकीय आकर्षण केन्द्र बनाइ राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउन सकिन्छ। नेपालले विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोत भनेको पर्यटन क्षेत्र नै हो। यहाँका प्राकृतिक, सांस्कृतिक, धार्मिक, जैविक एवं मानव निर्मित सम्पदाहरुलाई ज्ञानको भण्डारका रूपमा विकास गरी नेपाललाई विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलका रूपमा विकास गर्ने सोचसहित नेप...