जेष्ठ १५ \ सरिता राई -
सदरमुकाम सल्लेरीमा स्टेशनरी पसल गर्दै आउनुभएकी छोकीमाया तामाङ्ग परिवारले दिन त जसोतसो बिताएपनि रात बिताउन निकै कठिन भएको बताएका छन् ।
गत वैशाख १२ गतेकोे भूकम्प र त्यसपछि आईरहने पटक–पटकको पराकम्पनको कारण त्रिपाल हालेर बसेका तामाङ्ग परिवारलाई भुकम्पको पिडासंगै रातभर जसो आउने हावाहुरीले थप सास्ती दिएको छ ।
सदरमुकाम सल्लेरीमै होटल गर्दै आएकी याङजी शेर्पाको व्यथा पनि उस्तै छ । उनीहरु पनि रातभर सुत्न पाउँदैनन् । हावाहुरीले पाल लैजाला भनेर रातभर समातेर बस्छन् । एता नेचा बेतघारी गा.वि.सका सुनसरी राईको घर भत्केर बस्न नहुने भएपछि खुल्ला स्थानमा बाँसको छाप्रो बनाएर बसेका छन् तर रातभर पानी परेर चुहिएकोले सुत्न पाएनन् ।
भूकम्पले दिएको पिडा भुल्न नसकेका उनीहरुलाई प्रकृतिले थप पिडा दिँदा आजित भएका छन् । दिनभर आ–आफ्नो काम गरेर थकान मेट्न पालमा पुगेका उनीहरुलाई रातभर हावाहुरीसंगै पानीले सुत्न दिँदैन । केही दिन यता हावाहुरी चट्याङ्गसंगै पानीपर्दा भूकम्पपिडितहरु थप त्रसित बनेका छन् । खुल्ला आकाशमुनीको बसाई त कष्टकर छ नै त्यसमाथि रातभरीको हावाहुरी । लड्न लागेको घर उडाईदिने होकी भन्ने पीर थपिएको स्थानियले बताउछन् ।
“घर लड्न आँटेको छ बस्न सकिँदैन, पालमा बस्न गयो रातभर सुत्न सकिँदैन, त्यसमाथी केटाकेटी डराएर मर्न लागेका छन्” भूकम्पपिडित रेणुका (बस्नेत) राउतले भनिन् । यसैबिच भुकम्पले सोलुखुम्बुका २ हजार ८ सय घरहरुमा पुर्ण क्षति र ६ हजार घरमा आशिंक क्षति पुगेको जिल्ला दैविक प्रकोप तथा उद्धार समितीले जनाएको छ ।
Comments
Post a Comment