Skip to main content

खाना र पानीमा सावधानी अपनाऔं

गत शनिबार गएको महाभूकम्पको प्रभाव कहालिलाग्दो बन्दैछ। मध्य नेपालका विभिन्न स्थानमा पुर्‍याएको जनधनको क्षति सुन्दा सम्झिँदा जो कोहीको मन भक्कानिएर आउँछ। तर यो रुने, कराउने वा शोक लिनेभन्दा पनि शोकलाई शक्तिमा बदलेर अब हुन सक्ने जोखिमलाई कम गर्न तथा अति प्रभावितहरूको उद्धारमा सहयोग गर्ने बदल्ने बेला हो।

कम प्रभावितले बढी प्रभावितलाई राहत दिने बेला हो। त्यसैले अब डराएर, तर्सिएर, होस गुमाएर, सरकारलाई गाली गरेर होइन आआफ्नो ठाउँबाट सक्ने मानवीय सहयोग गरेर यो महाविपत्तिबाट अब हुने खतरा टार्नुपर्छ।

यो प्राकृतिक विपतिवबाट ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि दिँदै प्रभावितहरूले अब अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउन आवश्यक ठानेर नै खुलाचौरमै बसेर यो जानकारी सम्प्रेषण गर्दैछु।

संसारका धेरै मुलुकहरूमा यस्ता किसिमका विपत्ति पछाडि सामान्यभन्दा सामान्य सावधानी नअपनाउँदा धेरै ठूला महामारी फैलिएका उदाहरण हामीसामु छन्। नेपालमै पनि ललितपुरका केही क्षेत्रहरूमा यही शनिबारको महाभूकम्पपछि खानेपानी तथा सरसफाइमा ध्यान पुग्न नसक्दा झाडाबान्ताजस्ता स्वास्थ्य समस्या देखिन थालिसकेका छन्। 

यतिबेला जुन हदसम्म प्रभाव फैलिएको छ, यसमा अब सावधानीपूर्वक उद्धार तथा पुनस्र्थापनाको काम नगर्ने हो भने अर्को किसिमको महामारीले झन् ठूलो समस्या निम्तिने देखिन्छ। त्यसैले हामी बस्ने खुल्ला चौर वा अन्य ठाउँहरूको सरसफाइ गर्नुपर्छ। 

हामीले खाने खानेकुरा तथा पिउने पानीमा अब होश नगुमाई विशेष ध्यान पु:याउनु पर्छ। हुन त यो आपत्को बेला धेरैलाई उपदेशभन्दा पनि बढी राहत तथा उद्धार चाहिएको छ। तर पनि हामीले अब अपनाउनुपर्ने सावधानीले सम्भावित अन्य खतराबाट बच्न सहयोग पुग्ने भएकाले नै यो सन्देश दिन मन लागेको हो।

यतिबेला हामीले पिउने पानी, खाने खानेकुरा तथा हामी बसेको वातावरणमा विशेष ध्यान दिन आवश्यक देखिन्छ। हामी बसेको वरिपरिको वातावरण फोहोरमुक्त बनाउनका लागि आआफूले फोहोर व्यवस्थापनमा योगदान दिनुपर्छ। 

यति बेला सरकार वा अरू कोही आएर गरिदिन्छ भन्ने भन्दा पनि आफ्नो सुरक्षा तथा आफूलाई आवश्यक पर्ने सावधानी आफैंले अपनाउन सके र सक्ने सहयोग गर्न सके नै कल्याण हुनेछ। 

सेल्टर राखेको आसपासमा आफैं मिलेर अस्थायी चर्पी बनाउने, नाकमुख माक्स वा सफा कपडाले छोप्ने, जथाभावी फोहोर नफाल्ने, सकेसम्म भीडभाड कम भएको ठाउँमा बस्ने, घाइते बिरामी, वृद्धवृद्धा, सुत्केरी तथा बालबच्चाको विशेष ध्यान दिने, दीर्घकालीन रोगको औषधि सेवन गरिरहेकाहरूको औषधिको निरन्तरताको लागि एकले अर्कालाई सहयोग गर्नुपर्छ।

हुन त यति बेला पिउने पानी तथा खानेकुराको अभाव सुरु भइसकेको छ। जब उपलब्ध नै छैन भने स्वच्छताको कुरा त दोस्रो हो, जेपायो खाइहाल्नुपर्छ भन्ने तर्क पनि सुनिन्छ। तर हामीले जहाँ जे पायो त्यही खाइदिँदा त्यसको अर्को समस्या निम्तिन सक्छ। 

केही मानवीय नभएका व्यापारीहरूले कालोबजारीसमेत गरिरहेको सुनिएको छ। यसलाई अन्त्य गर्न सरकार अति सक्रिय हुन जरुरी छ भने आमजनताले समेत सरकारसम्म सूचना दिन सहयोग गर्नुपर्छ। 

१९९० को भूकम्पपछि भएको विपत्तिका बेला कोही व्यापारीले कालोबजारी गरे पाँचजना साक्षी राखी काट्ने आदेश तत्कालीन प्रधानमन्त्रीले दिएको इतिहास हामीसामु छ। 

यतिबेला पनि सरकार त्यसैगरी सक्रिय र चनाखो बन्न जरुरी देखिन्छ। तपाईं हामीले पनि सरकारको मुख नताकी आफ्नो ठाउँबाट सक्ने सहयोग गर्नुपर्छ।

यति बेला खाद्य विषका कारण अर्को समस्या निम्तिन सक्ने हुँदा यो सम्भावित खतराको निदान सावधानी नै हो। सन् २०१० मा हाइटीमा गएको भूकम्पपछि खानेपानी तथा वातावरण प्रदूषित हुँदा धेरै ठूलो महाप्रकोप फैलिई धेरैले ज्यान गुमाएका थिए। 

हामीकहाँ उक्त इतिहास दोहोरिन नदिन खानपानमा विशेष सावधानी आवश्यक देखिन्छ। यतिबेला सकेसम्म पानी उमालेर वा पीयूष आदि प्रयोग गरेर मात्र पिउनुपर्छ। अरूले काटेर राखेका काक्रो, गाजर आदि खानु हुँदैन। 

आफैंले बोक्रा तासेर खान मिल्ने फलफूलहरू भने खान सकिन्छ। प्याकेटमा आउने चाउचाउ, बिस्कुट, क्यानमा राखिएका खानेकुरा तथा पेय पदार्थहरू, क्यानिङ गरिएको माछामासुजस्ता प्रशोधित खानेकुराहरू यतिबेलाको खाद्य संकट टार्ने राम्रो उपाय हुन्। 

हुन त यस्ता खानेकुराको दीर्घकालीन असरको पाटो त छ, तर यस्ता किसिमका विपत्मा केही समयका लागि यी खानेकुराले हामीलाई बाँच्न सहयोग गर्न सक्छन्। 

सडेगलेका बासी र झिंगा भन्किएका खानेकुराहरू नखाने, खानुअघि राम्ररी साबुनपानीले हात धुने, झाडापखाला लागिहालेका कोही छन् भने उनीहरूलाई भीडभन्दा टाढा राखी विशेष सावधानीका साथ रेखदेख गर्ने, खानेकुराहरू राम्ररी पकाएरमात्र खाने, सकेसम्म काचै खानुपर्ने खालका खानेकुराहरू यो अवधिमा नखाने आदि सावधानी अपनाउनुपर्छ। 

आफूलाई केही दिनका लागि आवश्यक पर्ने तयारी खानेकुरा आफूसँग राख्नुपर्छ। यतिबेला सम्भावित खाद्य संकटको डरमा धेरैले आवश्यकताभन्दा बढी खानेकुरा किनेर राख्न सक्छन्, त्यसो गर्दा तपाईंजस्तै अरू पीडितलाई खाना अभाव हुन सक्छ। त्यसैले आवश्यक मात्रामा मात्र खानेकुरा किन्ने र स्वच्छतामा विशेष ध्यान दिने गर्नुपर्छ।

यस महाविपत्तिबाट आफू सुरक्षित रहौं र अरूलाई पनि सुरक्षित रहनका लागि सहयोग गरौं। विपत्को बेलाको सहयोग नै मानवीयताको उत्तम नमुना हो। व्यापारीहरूले पनि अप्ठ्यारो परेको बेला कालोबजारी गरी पीडामा अझै पीडा थप्ने काम गरी अमानवीयता नदेखाऔं। 

सरकारका सबै संयत्रलाई सक्रिय बनाऔं। पीडितको पीडालाई आफ्नै पीडा सम्झी हातमा हात मिलाई सहयोग गरौं। अब यस्तो विपत्ति कसलाई कहिल्यै नपरोस्।

-लेखक नेपाल पोषणविद् तथा डाइटिसियन संघका महासचिव हुन्।

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।