Skip to main content

मलाईं अमेरिका पुर्‍याउने आरके दलालका नाममा


म अमेरिका हिँडेको छोरो।   चीनको अपार्टमेन्टमा दुई महिना बिताएँ। ती दुई महिनाभर मलाई नेपालस्थित इमिग्रेसनमा ‘व्यापारका लागि चाइना जान लाग्नु भएको रहेछ। ल, गुडलक!’ भन्ने अधिकृतलाई धेरैचोटि सम्झेँ। यी दलालले मलाई चीनको बाटो हुँदै अमेरिका पुर्‍याएका थिए।

* * *
गाउँमा चिनजानकी एक दिदी थिइन्। उनी यसैगरी अमेरिका पुगेकी थिइन्। हाल उनी अमेरिकाको टेक्सासमा छिन्। उनीसँग एकदिन कुरा हुँदा मलाई अमेरिका जान सहयोग गर्नसक्ने बताइन्। काठमाडौंस्थित एक दलाललाई भेट्ने सल्लाह उनले दिइन्।
उनले भने अनुसार काठमाडौँमा ती दलाललाई भेटेँ। पासपोर्टसम्म बनाएको थिइनँ मैले। आरके नामका ती दलालले एक निमेशमै भने- पाँच लाख रुपैयाँ र पासपोर्ट ल्याएर भेट्नू।
अमेरिका पुग्ने सपना झन् जागृत भएर आयो।
ती दिदीले २२ लाख रुपैयाँसम्म खर्च लाग्नसक्ने बताएकी थिइन्। घरमा मेरा बाआमा र दुई भाइ छन्। सामान्य रेस्टुरेन्ट व्यवसाय थियो। मलाई अमेरिका पठाउने कुराले सबैका मनमा दिन दुईगुना रात चौगुना खुसी थप्दै गयो। हामीले आफूसँग भएको जम्मा पार्दै र सापट गर्दै रकम जुटाउन थाल्यौँ। करिब ६ महिनाको प्रयासपछि रेस्टुरेन्ट बेचियो र मेरो अमेरिकाको यात्राको श्रीगणेश भयो।
* * *
भारतको बाटो अलि ‘रिस्की’ भएकाले यसपालिको टोली चीन भएर जाने बताए, आरके सरले। त्यसैले मनमा द्विविधा थियो। आखिर अमेरिका नपुग्दासम्म खुसी हुने कुरो पनि भएन। घरबाट अमेरिकाका लागि हिँडेको भए पनि म गाँउघरका लागि मेरो यात्रा काठमाडौंसम्मको मात्रा थियो।
काठमाडौं आएपछि पुन: आरके सरले सम्झाए- तिम्रो पासपोर्टमा चाइनाको भिसा लागेको छ। ‘व्यापारका लागि जान लागेको’ भन्नुपर्छ।
उनले सिकाएबमोजिम नै गरेँ। एयरपोर्टमा नेपाली टोपी लगाएका अधवैंशे अधिकृतले एकछिन अनुहार र पासपोर्टमा हेरेर भने- गुडलक।
चीनको बेइजिङमा बस्ने व्यवस्था गरिएको थियो। ६ जना नेपाली थियौँ। खानेबस्ने व्यवस्था त थियो। तर, यहाँबाट कसरी अमेरिका पुग्ने भन्ने चिन्ताले सताइरहन्थ्यो। कुनै दिन त खानै रुच्दैनथ्यो। घरमा कुरा गर्दा पनि निकै चिन्ता गर्थे। त्यसले झनै गाह्रो गराउँथ्यो।
एक हप्तामै त्यहाँबाट अर्को देशमा पुग्ने योजना रहेछ। तर काम नभएर भिसा सकिने दिन आइपुग्न थाल्यो। भिसा सकिनु एकदिनअघि मात्र हामी बोलिभियाको भिसा लगाएर त्यहाँबाट हिँड्यौँ।
* * *
मसँगै ५ जना नेपाली साथी थिए। ४५ वर्षजस्तो उमेरका एक अंकल थिए, एक महिला पनि थिइन्।
यसअघि नेपालबाट भेनेजुयलाको भिसा लगाएर अमेरिका छिर्ने दलालहरूको जालो थाहा भइसकेको थियो। त्यसैले यसपालि हाम्रो टोलीलाई भेनेजुयला नभएर बोलिभियाको भिसा लगाइएको थियो। बोलिभिया नपुग्दै ब्राजिलको ट्रान्जिटमै हाम्रो पासपोर्ट च्यातिइसकिएको थियो। दलालले भन्ने गरेका थिए- शरणार्थीका रूपमा छिर्न सजिलो हुन्छ।
ब्राजिलको टान्जिटमा १ महिना बस्यौँ। घरबाट ल्याएको ५ हजार डलर खल्तीमा भएकाले खानेकुराको समस्या थिएन। शरणार्थीको परिचय पाउनुअघि त्यहाँ कहाँबाट, किन र कहिले आएको? जस्ता सोधपुछ हुन थाल्यो। हामीले आफू आएको एयरलाइन्सको नामभन्दा फिर्ता पठाइदिने हुन सक्थ्यो। हामीले ‘भियतनामबाट आएको’ भन्यौं, जहाँबाट ब्राजिलमा उडानै हुँदैन। धन्न हामी जोगियौं।
शरणार्थी भएपछि त्यहाँ खाना र बस्ने ठाउँको व्यवस्था गरिने रहेछ। शरणार्थीको परिचय पत्र दिलाएर खाना बस्न होटेलमा लगियो। होटलमा पुगेपछि दलाललाई हामीलाई फोन गर्‍यो। र, स्थानीय दलालले अर्को ठाउँको दलालसम्म सम्पर्क गराउँदै हामीलाई अगाडि बढाउँथ्यो। यो क्रम निरन्तर रह्यो।
फरक-फरक दलालमार्फत् अमेरिकाको यात्रामा निस्केका हामी बोलिभियामा आइपुग्दा १९ जना नेपाली जम्मा भइसकेका थियौं। हरेक देशको बोर्डरमा दलाल हुन्थे। एक ठाउँबाट अर्को ठाउँमा हामीलाई भेडाबाख्रा ओसारे जसरी ओसारियो।
ब्राजिलबाट पेरुको राजधानी लिमा हुँदै इक्वेडर र पेरुको बोर्डरमा पुर्‍याइयो। त्यहाँबाट इक्वेडर सानो ठाउँ भएकाले एकैदिनमा कोलम्बिया पुगियो। कोलम्बियाको मानामा, जहाँ सडक सुविधा छैन, खाली नहर भएकाले डुंगा चलाएर आउजाउ गर्नुपर्छ। हामीलाई डुंगामा बसाइयो। रातिको समय सुनसान, जताततै कालो थियो। डुंगामै पानामाको सिटी नभएर जंगलको बाटो आर्मी क्याम्प पुर्‍याइएको थियो। त्यहाँ पनि चार दिनसम्मको सोधपुछपछि देशनिकालाको कागज थमाएर होटेलमा लगियो। पुन: दलालसँगको सम्पर्कले हामी त्यहाँबाट पनि छुटन सफल भयौं।
* * *
थोरै पैसामा यस्तो जोखिम उठाएको देख्दा म चकित पर्दथेँ। २०-५० डलरमा उनीहरूले हामीलाई एउटा देशको बोर्डरबाट अर्को देशको बोर्डरको दलालसम्म पुर्‍याउँदा रहेछन्। देख्दै डरलाग्दा देखिने उनीहरूले पैसा दिन नसक्नेहरूलाई बाटोमै मारेर छोडिदिने गरेको सुनिन्थ्यो।
त्यसपछि पानाबाट कोस्टारिका आइयो। प्यासले सुकेको घाँटी, थुक पनि सकिएर सास रोकिन्थ्यो पटकपटक। कोस्टारिकाबाट निकारागुवा, निकारागुवाबाट होन्डुरस र साल्भाडोर हुँदै हामी ग्वाटेमाला आइपुग्यौं।
यहाँसम्म आइपुगेपछि अमेरिका छिर्न गाह्रो हुँदैन भन्ने सुनेको थिएँ। ग्वाटेमालाबाट मेक्सिको हुँदै हामीलाई अमेरिका छिर्ने बाटोमा अगाडि बढाइयो। चेकपोस्टमा आइपुग्दा सुरक्षा अधिकारीहरूले थाहा पाउछन् कि भनेर हामी लम्पसार पसेर सास रोकेर बस्थ्यौँ। दलालको त्यस्तै उर्दी हुन्थ्यो। उसले भनेअनुसारै हामी हरेक देशको नाका पार गर्थ्यौँ। वाटोभरि डर लागिरहन्थ्यो। घरको यादले निकै सताउँथ्यो। बाँचेर अमेरिका छिर्न सकिन्छ कि सकिँदैन भन्ने कुराले यात्राभरि मन भारी बनाउँथ्यो।
* * *
टेक्सासमा आइपुगेपछि इमिग्रेसनमा कानुनी उपचार सुरु भयो। चार्ज तिरेर वकिलको व्यवस्था गरियो। विभिन्न कारण विशेषगरी द्वन्द्वको कारण देखाउँदै शरणार्थी भएर अमेरिका छिरेको बताउँदै टेक्सासस्थित इमिग्रेसनमा केस लड्ने ठाउँमा आइपुगियो।
चरणबद्ध अन्तर्वार्ता र क्याम्पहरुको स्थानान्तरण। केही समयको कानुनी प्रक्रियापछि अमेरिका आइपुगेँ, जहाँ अहिले म छु। यसरी आएका सतप्रतिशत अमेरिका छिर्न पाउँदैनन्। अन्तर्वार्तामा कुरा बिगारे, नेपाल फर्किनु वा लामो समय यहाँकै जेलमा बस्नुपर्ने हुन्छ।
केही समयपछि हामीसँगै आएकी एक महिलालाई नेपाल डिपोट गरेको सुनेँ। निकै नरमाइलो लाग्यो। जेलबाट छुट्दा पनि अमेरिमामा आफ्नो मान्छे को छ? भनेर सोधपुछ गरिन्छ। आफूले चिनेको मान्छेले ठेगाना पठाइदिए र सम्पर्क गरिदिए, अमेरिका प्रवेश पाइन्छ। म पनि न्युयोर्कमा बसेका एक चिनजानका व्यक्तिको सहयोगमा अमेरिका आइपुगेँ। जेलबाट छुटे पनि आफ्नो मान्छे अमेरिकामा नभए जेलमै राखिन्छ। सुनेको छु- मभन्दा अगाडि आउनेहरू धेरैजना अहिलेसम्म जेलबाट छुट्न सकेका छैनन्।
* * *
नेपालबाट हिँडेको ६ महिनामा अमेरिका आइपुग्न सफल भएँ। चिनजानको दिदीले भन्नुहुन्थ्यो- २२ लाख जति खर्च हुन्छ। मेरो सबै खर्च जोड्दा ४५ लाख पुगेको छ। त्योभन्दा ठूलो उपलब्धि बाँचेर अमेरिका आइपुगिएको छ।
आरके सरले त ‘२० लाखमा पुग्न सक्छौँ’ भनेका थिए। समयसीमा दुई महिना बताएका थिए। आरके सर दलाल न परे।
नेपालबाट देखिने अमेरिका र यहाँ भेटिने अमेरिका फरक रहेछ। स्नातक अध्ययन पूरा गरेको म आजकल नेल्स ब्युटिपार्लरमा काम गरिरहेको छु। लागेको खर्च जुटाउन मुस्किल छ। गाउँलेसँग उठाएको ऋण प्रतिमहिना एकहजार डलरका दरले तिरिरहेको छु। कहिलेकाहीँ डिप्रेसन हुन्छ। तर, आत्महत्या गर्नेसम्मको कमजोर भएको छैन।
मेरो यो सबै दु:ख साथीभाइ र गाउँलेलाई सुनाउँदा उनीहरू पत्याउँदैनन्। भन्छन्- आफू अमेरिका पुग्यो, हामीलाई नआइज भन्छ।
फुटबल खेलाडी बन्ने अथवा ब्रिटिस आर्मीमा जागिर खाने सपना थियो । त्यो पनि नभए व्यवसाय गरेर बस्ने योजना थियो। ती सबै सपना थाँती राखेर म आरके दलालमार्फत् अमेरिका आएँ। मेरा ती सारा सपना यो जुनीमा थाँतीनै रहने भए !
स्रोतः न्युयोर्कबाट सेतोपाटीका लागि भोला आचार्यले गरेको कुराकानी 
प्रकाशित मिति: बिहीबार, फाल्गुण १४, २०७१ १०:२४:३८

Comments

Popular posts from this blog

नेपालको नापतौल

 १ किलोग्राम काठमाण्डौमा =५ पाऊ तराईमा =४ पाऊ । =१ सेर ६ तोला ।  १ धार्नी =२ किलो ३९२ ग्राम ।  १ पाऊ =१९९ ग्राम । . १ तोला =११.६६३८ ग्राम ।  १ किलोमिटर =१०९३ गज १ फूट १० इन्च । १००० मिटर ।  १ मिटर =१ गज ० फूट ३.३७ इन्च ।  १ इन्च =२.५४ सेन्टिमिटर ।  १ गज =९१.४ सेन्टिमिटर ।  १ किलोलिटर =१०००लिटर । १० मुरी १९ पाथी ७ माना ३ चौथाई ।  १ लिटर =१ माना ३ चौथाई । १००० मिलिलिटर ।  १ पाथी =४ लिटर ५४६ मिलिलिटर ।  १ माना =५६८ मिलिलिटर  १ रोपनी =१६ आना ०.०२२५९ हेक्टर ।  १ आना =३४२.२५ वर्गफूट ।  १ हेक्टर =१९ रोपनी २ आना २.६५ दाम । १.४७ विघा ।  १ विघा =०.६८०२७ हेक्टर । २० कठ्ठा ।  १ एकड =७.९५ रोपनी ।  १ कठ्ठा =२० धुर ।  १ माइल =१.६१ किलोमिटर ।  १ क्यूफिट =६.२३ पाथी  १ ब्यारेल =१४२ लिटर ।  १ ग्यालेन =४.५४३५९ लिटर । कति नाप बराबर कति जग्गा १ दाम =२१.३९ (वर्गफूट) ४.६२*४.६२ (फूट) ।   ४ दाम =८५.५६ (वर्गफूट) १ (पैसा) ९.२५*९.२५ (फूट)। ४ पैसा =३४२.२५ (वर्गफूट) १ (आना...

एक महान गुरू जसले संसारका आकर्षक अफर त्यागेर नेपाली नै बने

छेवांग शेर्पालामा  सबै धर्महरुमा कुनै न कुनै परिभाषामा “अवतार” धारणामा आस्था रहेको पाइन्छ । जस्तै, हिन्दु धर्ममा सिद्धार्थ गौतम बुद्द समेत गरेर विष्णुका १० अवतारहरु थिए भन्ने हिन्दु धार्मिक धारणा रहेको छ I त्यस्तै, सदियौंदेखि बौद्द धर्मवालम्बीहरुले पनि अवतार धार्मिक धारणामा आस्था गरेको भेटाइन्छ । जब बौद्ध धर्म तिब्बतको औपचारिक राजकीय धर्म स्थापना गरियो, अवतार “टुल्कु” धारणालाई धार्मिक र राजनैतिक दुवै मान्यताहरुमा अझ महत्व दिंदै आएको भेटिन्छ । अवतारलाई तिब्बती र अन्य हिमाली बौद्द धर्म संस्कारमा “टुल्कु” अर्थात पुनर्जन्म भनिन्छ I तिब्बतमा सिद्दार्थ गौतम बुद्द सन्देश-पथ बौद्ध धर्म शिक्षा प्रशिक्षण, प्रचारप्रसार र बिकास भारतबाट गुरु पद्मसम्भव र पण्डित शान्तराक्शिता पुगेरै भएको इतिहासले भन्दछ । यो मेरो लेखको सन्दर्भ रहेको छ, एक जना औपचारिक नेपाली नागरिक ग्रहण गर्नु भएका बिश्व प्रख्यात सर्ब-पवित्र बौद्ध धर्म गुरु, परमेश्वर ठुशिक रिम्पोछे १९२४-२०११ र उहाँको नयाँ पुनर्जन्म “टुल्कु” को बारेमा । परमेश्वर ठुशिक रिम्पोछे र उहाँको बिगत जीवन प्रतिकहरु सम्पूर्ण प्राणी जगतको हित...

सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना, २ जनाको ज्यान गयो।

सुबास दर्नाल,सोलु एफ,जेठ २४— काठमाण्डौँबाट सोलुखुम्बु आउदै गरेको जिप दुर्घटना हुदा २ जनाको ज्यान गएको छ । विहान काठमाण्डौबाट सोलुखुम्बुका लागी छुटेको ना १ ज ४९५० नम्बरको जिप दिउसो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ६ को भण्डारे खोलामा दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २ जना घाईतेको जिल्ला प्रहरी कार्यलय ओखलढुगांले जनाएको छ ।  ज्यान जानेमा ओखलढुंगाको सुनकोसी गाउँपालिका–५, मूलखर्कका सिंगे तामाङ र उनकी श्रीमती कैलीमाया तामाङ रहेका छन् । मूलखर्ककै लोकेन्द्र तामाङ र लालबहादुर तामाङ घाईते भएका छन् । जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतहरुको उदयपुरको घुर्मीस्थित एक अस्पतालमो उपचार भइरहेको प्रहरीले जनाएको छ ।