टर्कीको इस्तानबुलबाट काठमाडौं आइरहेको टर्किस एयरलायन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न कोटेश्वरमाथि आइपुगिसकेको थियो।
यात्रुहरू सिटबेल्ट बाँधेर तम्तयार थिए।
जमिनबाट करिब ५० मिटर उचाइमा आइपुगेको जहाजले एक्कासि ‘ओभरसुट’ गरेपछि यात्रुहरूको हंसले ठाउँ छाड्यो। छुनै लागेको धावनमार्ग छाडेर उडान नम्बर ‘टिके७२६’ को जहाज फेरि आकाशमाथि नै चक्कर काट्न थाल्यो। सुरुमा उत्तर हान्नियो, त्यहाँबाट पश्चिम हुँदै दक्षिणतिर गएर काठमाडौं उपत्यका फन्को मार्यो। चालकदलले यात्रुहरूलाई ‘मौसमका कारण जहाज अवतरण गर्न नसकेको’ जानकारी गरायो।
२ सय ८९ सिट क्षमताको ‘वाइड बडी’ जहाज एक नाबालकसहित २ सय २४ यात्रु र चालकदलका ११ सदस्यसहित २५ मिनेट आकाशमै फन्को (होल्ड) मारिरह्यो।
बिहान ७ः४५ बजे।
पहिलो प्रयास असफल भएपछि चालकदलले अवतरणको दोस्रो प्रयास गर्न जहाजलाई फेरि विमानस्थलतिरै मोड्यो। जहाज कोटेश्वरबाट धावनमार्गतर्फ सोझियो।
दोस्रोचोटि पनि बाक्लो हुस्सुका कारण पाइलटले सही ठाउँमा अवतरण गराउन सकेनन्। धावनमार्गको जुन ठाउँमा पांग्राले पहिलोपटक छुनुपर्छ, त्यो ठाउँ बिराएर अलि अगाडि ‘ल्यान्ड’ गर्न पुग्यो। जतिबेला पाइलटले जहाजको पांग्रा गलत ठाउँमा परेको थाहा पाए, त्यतिबेलासम्म ढिला भइसकेको थियो। उनले फेरि ‘ओभरसुट’ गर्ने मौकै पाएनन्।
सुरुमा त चालकदलले जहाज धावनमार्गको सही ठाउँमा कुदिरहेको छ भन्ने नै सोच्यो। जहाज कमान्ड गरिरहेका क्याप्टेनले एक–दुई सेकेन्डपछि मात्र थाहा पाए, बायाँपट्टिको पांग्रा चौरमा र दायाँपट्टिको धावनमार्गमा कुदिरहेको रहेछ। यही कारणले पनि उनले फेरि ‘ओभरसुट’ गराउन सकेनन्।
त्यसको एक निमेषमै क्याप्टेन र को–पाइलटले एकैचोटि ब्रेक लगाए। जहाज धावनमार्गबाट चिप्लिएर बायाँपट्टिको चौरमा पुग्यो। यसबीच जहाजले धावनमार्ग र ट्याक्सीवेका आधा दर्जन बत्ती फुटाइसकेको थियो। बलपूर्वक रोक्न खोजेकाले जहाज चिप्लिँदै बायाँपट्टिको चौरमा अगाडिको भाग धस्सिन पुग्यो।
धावनमार्गमा ‘टचडाउन’ गरेको बिन्दुबाट जहाज धस्सिन पुगेको दुरी एक किलोमिटर उत्तर–पश्चिम पर्छ। बेस्कन ब्रेक लगाएकाले अगाडिको पांग्रा जमिनमा करिब चार फिट तल धस्सिएर पन्चर भएको छ।
पहिलो असफल अवतरणबाटै अत्तालिएका २ सय २४ यात्रुबीच एक्कासि लागेको चर्को ब्रेकले कोलाहलै मच्चियो। जहाज रोकिन त रोकियो, यात्रुहरू भने रुन–कराउन थाले। दस मिनेटपछि बल्ल दुवै भागमा रहेका ६ वटा आकस्मिक ढोका (इमर्जेन्सी स्केप स्लाइड) खुल्यो। सबै यात्रु त्यसैबाट चिप्लेटी खेल्दै सकुशल बाहिरिए। एक बेलायती यात्रु त आत्तिएर बेहोसै भए। उनलाई तुरन्त उद्धार गरी अस्पताल लगियो।
विमानस्थल व्यवस्थापनले त्यसपछि जहाजमा आगलागी हुन नदिन ‘फोम एक्सटिनगुइसर’ छ्यापेको थियो।
के कारण भयो दुर्घटना ?
त्रिभुवन विमानस्थल स्रोतका अनुसार टर्किस जहाज दुर्घटना पर्नुको कारण ‘प्रतिकूल मौसम’ हो। अवतरण गर्ने बेला धावनमार्गको ‘भिजिबिलिटी’ (जहाजको ककपिटबाट पाइलटले सिधा देख्नसक्ने दुरी) पर्याप्त भए पनि पांग्राले धावनमार्ग छुने समयमै हुस्सु आउँदा यो दुर्घटना भएको स्रोत बताउँछ।
‘टर्किसको जहाज पहिलोपटक ल्यान्ड गर्न आउने बेला र दोस्रोपटक फर्केर आउँदा धावनमार्गको भिजिबिलिटी एक हजार मिटर थियो,’ स्रोतले बुधबार नागरिकसँग भन्यो,‘नौ सय मिटर भिजिबिलिटी हुँदासम्म अव
तरण गर्न सक्ने टर्किस एयरलायन्सको नियम छ।’
स्रोतका अनुसार पहिलोचोटि कोटेश्वरमाथि आइपुग्दा एक्कासि हुस्सुले ककपिट अगाडिको भाग छेकिन पुगेको थियो। त्यसपछि ओभरसुट गरेको जहाज २५ मिनेट आकाशमै फन्को मार्दै दोस्रोपटक आएर टचडाउन गर्ने बेला दुर्भाग्यवश फेरि हुस्सुले अगाडिको भाग छेक्न पुग्यो।
‘धावनमार्गबाट दुई–चार मिटर माथि त्यस्तो भएपछि चालकदलको अगाडि कुनै विकल्प हुँदैन,’ लामो समय जहाज उडाएका एक वरिष्ठ क्याप्टेनले भने, ‘त्यस्तो अवस्थामा जहाज कमान्ड गरिरहेका क्याप्टेनले अवतरण गराउनैपर्छ। टर्किसका ती क्याप्टेनले पनि त्यही गरे। उनले के भेउ पाएनन् भने जहाज धावनमार्गको बीचमा नकुदेर बायाँ पांग्रा चौर र दायाँ पांग्रा धावनमार्गमा पर्यो।’
लामो समय नेपाल वायुसेवा निगमको बोइङ ७५७ जहाज उडाएका एक वरिष्ठ क्याप्टेनका अनुसार टर्कीको इस्तानबुलबाट काठमाडौंसम्मको हवाई दुरी झन्डै साढे सात घन्टाको छ। त्यसमाथि उताबाट मध्यराति उड्ने र यहाँ आइपुग्दा बिहान झिसमिसे हुने गर्छ।
‘क्याप्टेन र को,पाइलटलाई केही थकान महसुस हुनु स्वाभाविक हो,’ उनले भने, ‘लामो दुरी पार गरेर आइपुग्नु र अवतरण गर्न धावनमार्ग नजिक पुगेर ओभरसुट गर्नुपरेपछि चालकदललाई थप दबाब परेको हुनसक्छ।’
झन्डै २ लाख किलो तौलको उक्त जहाजलाई धावनमार्गमै पुगेर ओभरसुट गर्दा उडान गरेभन्दा बढी बल लगाउनुपर्ने उनले बताए। आजको नागरिक दैनिकमा खबर छ ।
Comments
Post a Comment