१ वैशाख, सल्लेरी । बजार अनुगमनको विरोधमा सोलुखुम्बुका उद्योगी व्यवसायीहरुले मंगलबार सल्लेरी बजार बन्द गराएका छन् ।
नयाँ बर्षको दिन पसलहरु बन्द हुदा सर्बसाधारण उपभोक्ताहरुले किनमेल गर्ने पाएका छैनन् । सल्लेरीका झण्डै दुई सय होटल पसलहरु खुलेका छैनन् ।
गत चैत २७ गते जिल्ला अनुगमन समितिले बजार अनुगमन गर्दा ब्यापारीहरुलाई अभद्र व्यवहार गरेको आरोप लगाउँदै बन्द आह्वान गरिएको हो ।
सोमबार जिल्ला प्रशासन कार्यालयमा ब्यापारीहरु पुगेर यसबारे प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको ध्यानाकर्षण गराएका थिए । तर, आफूहरुको गुनासो सुन्नुको सट्टा उल्टै अपमानित गरेको भन्दै ब्यवसायीहरुले मंगलबारदेखि अनिश्चितकालीन बजार बन्द गराएका हुन् ।
उद्योग वाणिज्य संघ सोलुखुम्बुका सचिव तार्देन शेर्पाले प्रमुख जिल्ला अधिकारीले गल्ती महसुस गरी सार्बजनिक माफी माग्नुपर्ने बताए । साथै बजार अनुगमनका क्रममा महिला ब्यापारीहरुलाई दुर्व्यवहार गर्ने कर्मचारीहरुलाई कार्वाही गर्नुपर्ने उनको माग छ । माग पूरा नभएसम्म बन्द जारी रहने शेर्पाले चेतावनी दिए ।
‘दुर्व्यवहार भएको छैन’
प्रमुख जिल्ला अधिकारी ढकालले भने आफूले दुर्व्यवहार हुने कुनै किसिमको तुच्छ बोली नबोलेको स्पष्ट पारेका छन् । ‘ब्यापारीहरुले डेलीगेशनको नाममा सहायक प्रमुख जिल्ला अधिकारी विष्णुकुमारी भट्टराईलाई महिला हिंसाजन्य शब्दहरु प्रयोग गरी गाली बेइज्जती गरेकोले सम्झाइ बुझाइ मात्र गरेको हुँ,’ उनले भने ।
सोमबार अपरान्ह प्रमुख जिल्ला अधिकारीसँग चर्काचर्की परेपछि व्यापारीहरुले सदरमुकाममा बिरोध र्याली निकालेका थिए ।
यसअघि जिल्ला अनुगमन समितिले बजार अनुगमन गरी मिति गुजि्रएका सामान बरामद गरी नष्ट गरेको थियो । तर, व्यापारीहरुले उपभोग गर्न योग्य सामान समेत जफत गरिएको भन्दै त्यसको क्षतिपूर्ति माग गरेका छन् ।
बाबुकाजी कार्कीबाट
Comments
Post a Comment